एउटा घट्टे, उसको छोरा र गधा || Nepali Christian Magazine

 एउटा घट्टे, उसको छोरा र गधा



क ठाउँमा एउटा मान्छे र उसको छोरा सँगै घट्ट चलाउने काम गर्थे । उनीहरूको एउटा भारी बोक्ने, यता उता जाँदा चढ्ने गधा पनि थियो । तर एक दिन उनीहरूको घट्टको पांग्रो बिग्रेछ । उनीहरू सँग त्यसलाई बनाउने पैसा रहेनछ । घट्टे र उनका छोराले गधालाई बेचेर घट्टको मर्मत गर्ने निधो गरे । हाट बजारको दिन, गधालाई लगेर त्यस गधा बेच्ने निधो गरे ।

हाटबजारको दिन घट्टेका बाबु छोरा गधालाई लिएर बजार तिर गएछन् । उनीहरूले आँफु चढेर जाँदा गधा थाक्छ भनेर हिँडेर गधालाइ पनि हिँडाएर लगेछन् । बाटोमा जाँदै गर्दा अरू हाटबजार हिँडाइहरूले घट्टेले गधालाई हिँडाएर लगेको देखेर खिस्सि गर्दै भनेछन्। गधालाई चढ्न भनेर पो पाल्नेहो त। यिनिहरू त कस्ता मुर्ख रहेछन् ।

यो सुनेर घट्टेले छोरालाई गधामाथि चढ्न लगाएर आफँ चाहिँ हिँड्दै गएछ । अलिक पर पुगे पछि अरू बजार जानेले उनीहरूलाइ देखेछन् र कुरा काट्न लागेछन् । बुढो बाउलाई पो गधामा चढाउनु पर्छ । त्यो जवान छोरो गधामा चढेको छ । सो सुने पछि घट्टेले  छोरालाई गधाबाट ओरालेर आँफु गधामाथि चढ्यो र छोरालाइ हिँडायो ।

केहि पर पुगे पछि, फेरी अरूले भनेछन्, कस्तो बाउ रैछ आफैमात्र गधा माथि मस्ति गरेको, विचरा छोरालाई हिँडाएको । त्यो सुनेपछि घट्टेले छोरालाइ पनि गधाको पछि चढ् भनेछ र दुवै जना त्यो एउटा गधामाथि चढेर बजार तिरको बाटो लागेछन् ।

तर बाटोमा उनीहरूलाई देख्नेहरूले भनेछन्, विचरा गधा कस्ता मान्छेको घरमा पालिन पुगेछ, दुइ जाना भुसतिग्रे चढेर कति गाह्रो भयो होला। उनीहरू त्यसगधा माथि चढ्नुभन्दा त गधालाई आँफुले बोकेर जानुनि । त्यो सुने पछि घट्टेले र उसको छोराले गधालाई एउटा बाँसको खाँवोमा झुण्डाएर दुईतिर बाट बोकेर लान थालेछन् ।

बाटोमा उनीहरूलाई देख्नेहरूले यो के हो जात्रा भने हेर्ने भिड लागेछ । गधा आफुले भारी बोक्न बानि परेको तर आफुँलाइ अरूले बोकेको मन पर्दैन थियो । मान्छे हल्लापनि भयो, यो सबै कारणले गधा आत्तिएर छट्पटाउन लाग्यो । त्यतिकैमा गधा बाँधेको डोरी पनि फुत्किएर गधा पुलमुल खोलामा खस्न पुग्यो ।

यसरी गधा बेच्न हिँडेका बाउ छोरा रित्तै घर फर्कनु पर्यो ।

दुनियाँलाई खुसी पार्ने प्रयास गर्दा उनीहरूको आफ्नो काम बिग्रेको देखिन्छ । हामी पनि हाम्रो जीवनमा अरूले के भन्छन् भन्दै उनीहरूको भनाइको पछि दौडिने होइन तर आफ्नो सत्यता, बाटो पहिचान गरेर अरूले जेसुकै भनुन् तर आफ्नो बाटो लाग्न सक्नु पर्छ ।

गलाती 1:10

के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।