"आमेन" को अर्थ - (Word Study- Amen)

आमेन(Amen)

 हामी इसाई विश्वासीले प्रार्थना अन्त्य गर्दा भन्नै पर्ने मन्त्र जस्तो "आमेन " भन्ने गछौं । त्यसो त यस शब्द को अर्थ र बाइबलमा यसको प्रयोग बारे हामी मध्य कतिलाई थाहा होला? आजको यस अध्ययनमा छोटकरीमा यसलाई बुझने छौं।

हाम्रो प्रयोगमा आमेन भनेर हामीले गरिएको प्रार्थना मा सहमति जनाएका हुन्छौं भने सो प्रार्थनामा घोषणा गरिएको आशिषलाई विश्वास द्वारा सत्य हो भनि स्विकार गरेका हुन्छौं । बाइबलमा सयौं पटक आमेन शब्द हिब्रू र ग्रीक भाषामा प्रयोग गरिएको छ । हामीले प्रयोग गरेकै जस्तो गरेर पनि बाइबलमा धेरै पटक प्रयोग गरिएको छ । जस्तो : 

व्यवस्था 27:15‭-‬16

“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।” “आफ्‍ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

यि पदहरूमा आमेन भनेर घोषणा गरीएको कुरामा स्विकार गरेका छन्। तर बाइबलमा आमेनको प्रयोग त्यस्तै होस वा स्विकार गर्छु भन्ने अर्थमा मात्र प्रयोग भएको छैन । बाइबलमा हामीले येशूले "साँचै म तिमीहरूलाई भन्दछु" भन्नु भएको पाउँछौं । तर प्रभुकै बोलीमा हो भने आमेन म तिमीहरुलाई भन्दछु भन्ने हुन आउँछ (मत्ती 5:17) । र यस्तै रूपमा सुसमाचार का पुस्तकमा मात्रै ७० पटक प्रयोग गरिएको छ । आमेन भनेर येशूले आफ्नो भनाई सुरुगरेर आफ्नो अधिकार र आफ्नो वचनको अटल सत्यताको घोषणा गर्नुहुन्छ । अर्को तरिकाले आफ्नो इश्वरत्व प्रदेर्शन गर्नुहुन्छ। अगमवक्ताहरूको वचनमा आफ्नै अधिकार हुँदैन तर येशू आफैमा सो अधिकार छ ।

यूहन्‍ना 3:3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”

उक्त पदमा वास्तवमा दुइवटा आमेन बाट येशूले भनाई सुरु गर्नुभएको छ । येशूले आफ्नो अधिकार सहित बोल्नु भएको वचन हो।


पावलले भने परमेश्वरको महिमा हुने वाक्यहरू पछि आमेन भन्ने गर्छन् । जस्तो रोमी 9:5 मा पावलले लेखेका छन्, पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्‍ट पनि शरीर अनुसार तिनीहरूकै वंशका हुनुहुन्‍छ, सर्वोच्‍च परमेश्‍वर, जसको युगानयुग स्‍तुति होस्‌। आमेन। अन्य पत्रहरूमा पावलले आफूले आशिस दिएको अवस्थामा आमेन भन्ने गरेका छन् । गलाती 6:18 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌। आमेन। पावल बाहेक नयाँ करारका अन्य लेखकहरुले पनि आमेनलाई परमेश्वरको नाउँमा आशिस दिंदा नै प्रयोग गरेको पाउँछौं (1 पत्रुस 3:18र प्रकाश 22 : 21) ।


त्यसैले हामीले आमेन शब्दलाई परमेश्वरको महिमा भएको वा गरेको अवस्थामा र परमेश्वरको आशिस स्विकार वा विश्वास गरेको अवस्थामा प्रयोग गर्नु हुन्छ । हल्का रुपमा यसलाई आफ्नो थेगो बनाएर प्रयोग नगरौं।