हिलो बाटो
एउटा गुम्बामा तेन्जीङ र छिरिङ नामका दुई लामाहरू बस्थे। लामा हुनुको नाताले उनीहरूका लागि कठोर नियम र अनुशासनहरू थिए, जसमध्ये स्त्रीहरूलाई स्पर्श नगर्नु र उनीहरूबाट टाढै रहनु एक मुख्य नियम थियो। तेन्जीङ र छिरिङले पनि यी सबै अनुशासनको पालना गर्ने दृढ संकल्पका साथ लामा दीक्षा लिएका थिए।
एक बर्खाको दिन, उनीहरू गाउँको बाटो हुँदै कतै जाँदै थिए। झरीका कारण बाटो निकै हिलो र चिप्लो भएको थियो। हिँड्दै जाँदा उनीहरूले बाटोमा एक युवतीलाई भेटे। ती युवतीले निकै राम्रो रेशमी फरिया लगाएकी थिइन्। बाटोको हिलोले आफ्नो महँगो वस्त्र मैलिने डरले उनी अगाडि बढ्न नसकी अल्मलिएकी थिइन्।
त्यो अवस्था देखेर तेन्जीङ ती युवतीको नजिक गए र भने, "म तिमीलाई बाटो पार गराइदिन्छु।" उनले ती युवतीलाई काँधमा बोकेर हिलो भएको ठाउँ पार गराई सुरक्षित स्थानमा ओरालिदिए।
छिरिङले यो सबै देखिरहेका थिए, तर उनले केही बोलेनन्। दुवै लामाहरू चुपचाप आफ्नो गुम्बातिर लागे। गुम्बा पुगेर बेलुकाको भोजन गरिसकेपछि पनि छिरिङको मनमा त्यही कुरा खेलिरह्यो। अन्त्यमा धैर्य गर्न नसकी उनले सोधे, "तेन्जीङ, तिमीले आज किन त्यस्तो काम गरेको?"
तेन्जीङले केही नबुझेझैँ गरी सोधे, "मैले के गरेँ र?"
छिरिङले आक्रोशित हुँदै भने, "हामी लामाले स्त्रीलाई छुनु हुँदैन भन्ने जान्दाजान्दै पनि तिमीले उनलाई किन काँधमा बोकेको?"
तेन्जीङले मुस्कुराउँदै शान्त जवाफ दिए, "मित्र, मैले त ती स्त्रीलाई त्यही बाटोमै छाडेर आएँ, तर तिमीले भने अहिलेसम्म उनलाई आफ्नो मन र दिमागमा बोकेर हिँडिरहेका रहेछौ।"
मुख्य सन्देश
हाम्रो गल्ती धेरैजसो सोचाइमा निर्भर हुन्छ। शारीरिक रूपमा केही नगर्नु मात्र अनुशासन होइन, मनलाई ती विचारबाट मुक्त राख्नु वास्तविक पवित्रता हो। हामी आफैँलाई सोधौँ— हाम्रो सोच कत्तिको सफा छ?
मत्ती 5:27-28
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
