शालोम - Shalom
येशूले भन्नु भयो, "शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्" (यूहन्ना 14:27) l त्यस्तै येशूले आफ्नो पुनरुत्थान पछि वारम्बार आफ्ना चेलाहरुलाई "तिमीहरूलाई शान्ति" भनेर अभिवादन गर्नु भयो । प्रभुले भन्नुभएको शान्ति हिब्रु शब्द 'शालोम' हो । हिजो आज हामीले प्रयोग 'शलाम' भन्ने शब्द जुन अरेविक भाषाबाट आएको हो त्यो पनि यशूले प्रयोग गर्नुभएको शालोम सँग सम्बन्धित छ ।
सधारणतया शालोम को अर्थ शान्ति भनेर बुझिए पनि यस भित्र गहिरो अर्थ लुकेको छ । शालोम शब्द नै शालेम भन्ने अर्को शब्दबाट आएको हो । शालेम को अर्थ पूर्ण वा पुरा भन्ने हुन आउँछ । त्यस अनुसार शालोम को ठेट अर्थ पुर्ण भएको अवस्था, पुरा भएको अवस्था अर्थात कुनै अभाव वा घटि कमि नभएको अवस्था भनेर हामी जान्न सक्छौं । त्यसैले येशूले बोल्नु भएको शालोम अर्थात शान्ति पूर्ण भएको अवस्था वा कुनै अभाव र घटिकमि नभएको अवस्थालाई बुझ्न सकिन्छ । त्यसैले प्रभुले बोल्नु भएको शान्ति झगडा नगरेको अवस्था मात्रै नभई पूर्ण रुपमा सन्तुष्ट रहेको अवस्था भनि हामी जान्दछौं ।
"तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।" माथिको पद यशैया 53:5 अनुसार हामीमा शान्ति ल्याउनको निम्ती येशूले दुःख भोग्नु भयो भन्ने कुरा जनाउँछ । अर्को अर्थमा येशूले कुसमा गनुभएको बलिदानले हाम्रो दण्ड पुर्ण रुपमा तिरिएको छ र हामीलाई शान्ति प्राप्त भएको छ भनि हामी जान्दछौं ।
त्यसैले आफ्नो पुनरूत्थान पछि येशूले बारम्बार आफ्ना चेलाहरूलाई तिमीहरूलाई शान्ति भनेर सम्बोधन गर्नुभयो (यूहन्ना २०: १९ , २१, २६ ) l येशूलाई थाहा थियो कि उहाँले चेलाहरूको पापको लेखा पूणरूपले तिरिसक्नु भयो र अब उहाँका चेलालाई शान्ति उपलब्ध छ । र खुशीको कुरा यो हो कि उक्त शान्ति आज हामीलाई पनि उपलब्ध छ । परमेश्वरलाई धन्यवाद होस ।
Follow us on