बाइबल भित्र "म र मेरो समय" - Understandin My Time in Bible

 बाइबल भित्र "म र मेरो समय" - Understandin My Time in Bible



परमेश्वरको वचनले हामीलाई आफ्नो समय सहि तरिकाले प्रयोग गर्न र सदुपयोग गर्न सिकाउँछ किनभने परमेश्वरलाई थाहा छ कि मानिस सजिलै जीवनका महत्वपूर्ण विषयबाट टाढिएर अनावश्यक कुरामा बहकिन सक्छ । भोलि को कुरा हामी जान्दैनौं तर सर्व ज्ञानी परमेश्वरले सवै कुरा जान्नु हुन्छ । त्यसैले अनन्तको ज्ञान राख्ने परमेश्वरले हामीलाई समयको बारेमा दिनुभएको शिक्षालाई जानेर जीवनलाई अघि बढाउनु सवै भन्दा उत्कृष्ठ हुन्छ । त्यसैले तल उल्लेख पदहरुलाई हेरी परमेश्वरले हामीलाई के सिकाउन खोज्दै हुनुहुन्छ हामी जान्ने प्रयास गर्ने छौं। 

1. परमेश्वरलाई चिन्ने सवै भन्दा महत्वपूर्ण समय आज र अहिल्यै हो। । त्यसैले परमेश्वरलाई चिन्ने , विश्वास गर्ने र पछ्‌याउने विषयमा हामीले कुनै अरु साइत जुराउनु आवश्यक छैन । तर आजको समय वित्यो भने फेरी यो मौका नआउन र धेरै ढिलो हुन सक्छ ।

२ कोरिन्थी 6:2 

किनभने उहाँ भन्‍नुहुन्‍छ, “ग्रहणयोग्‍य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्‍य समय अहिले हो, मुक्तिको दिन अहिले हो।

2. समयले संसार र संसारमा भएका सवै थोकलाई जित्दछ मात्र त्यो मानिस जो परमेश्वर को इच्छानुसार चल्दछ त्यसले समय माथि विजय पाएको हुन्छ ।

१ यूहन्‍ना 2:17

संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।

3. परमेश्वरले समयलाई अनन्त बनाउनु भएको छ मानिसले पूणरूपमा यसलाई बुझ्नै सक्दैन तर परमेश्वरले जे गर्नुभएको छ र गर्नुहुन्छ त्यो उहाँको समयमा सुन्दर र उत्कृष्ठ छ भनेर मानिसले स्विकार गर्नु आवश्यक छ।

उपदेशक 3:11 

उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌।

4. हामीलाई समय दिने परमेश्वर नै हुनुहुन्छ । विशेष गरी उहाँमा विश्वास गर्ने हरु लाई अनन्त समय मिल्दछ ।

यर्मिया 29:11 

किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

यूहन्‍ना 3:16

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

5. समय रहस्यमय छ. त्यसैले आफ्नो समयको घमण्ड गर्नु मुर्खता हुनेछ । मानिसको समयको बारेमा परमेशवरलाई मात्र थाहा छ । तर यहि रहस्यलाई चेतना बनाएर जीउनु नै वुद्धीमान काम हुनेछ ।

हितोपदेश 27:1 

भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्‍ने तँलाई थाहा हुँदैन।

मर्कूस 13:32‭-‬33

“तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले। होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।

१ थेसलोनिकी 5:1‭-‬3

 तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्‍ने आवश्‍यकता छैन। किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ। जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।

याकूब 4:13‭-‬15 

“आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्‍यहाँ एक वर्ष बिताऔंला र व्‍यापार गरेर नाफा गरौंला” भन्‍नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्‍दैनौ। तिम्रो जिन्‍दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्‍ति देखा पर्छ, अनि हराइहाल्‍छ। यसको सट्टामा त तिमीहरूले यसो भन्‍नुपर्ने, “यदि परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचौंला र यस्‍तो-उस्‍तो गरौंला।”

6. आफ्नो समयमा सहि तरिकाले चल्न समय दिने ( परमेश्वर) सँगै हामीले सोध्नु पर्छ । 

भजनसंग्रह 90:12

हाम्रो आयु ठीकसँग गन्‍न हामीलाई सिकाउनुहोस्‌, र हामी बुद्धिको हृदय प्राप्‍त गर्न सकौं।

7. यो बुझि राखौं कि समयको हिसाव किताब मानिसको लागी परमेश्वरको लागी एउटै हुँदैन । त्यसैले मानिसले आफ्नो हिसाबमा परमेश्वरलाई बुझ्न सक्दैन ।

२ पत्रुस 3:8‭-‬9 

तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ। आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

8. समयको पूर्ण सदुपयोग नै मानिसको लागि परमेश्वरको चाहना हो। किनभने परमेश्वरले नै सवै कुराको समय तोकि दिनु भएको छ ।

कलस्सी 4:5 

समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर।

एफिसी 5:15‭-‬16 

यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।

उपदेशक 3:1‭-‬8 

सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ: जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय। मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय। रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय। ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ, र अलग रहने एउटा समय। खोज्‍ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्‍ने एउटा समय छ, र फाल्‍ने एउटा समय। च्‍यात्‍ने एउटा समय छ, र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ, र बोल्‍ने एउटा समय। प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।