भजनसंग्रह 91:15 - Inspiration || Nepali Christian Devotion



 

त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।

भजनसंग्रह 91:15 

संसारमा स्थापित विभिन्न सम्बन्धहरु मध्ये मित्रको सम्बन्ध बढो अलौकिक हुन्छ । पारिवारिक सम्बन्धहरू रगतले जोडिएको कारण प्राकृतिक रूपमा स्थापित भएका हुन्छन । तर मित्रसँगको सम्बन्ध हाम्रो छानौट हो, यो कुनै व्यक्ति सँगको घनिस्टता, विश्वास र भरोसा हो जुन सबै पारिवारीक सम्बन्धहरूमा स्थापित नहुन सक्छ । परिवारकै सम्बन्ध भित्र पनि यदि त्यहा घनिष्टता, विश्वास र भरोसा छ भनें हामीले एक अर्कालाई मित्र मान्न सकिन्छ । जस्तो कसैले मेरो आमा नै मेरो बेष्ट फ्रेन्ड हो भन्यो भनें आमा संगको सम्बन्ध आदर र प्रेमभन्दा पनि त्यहाँ भएको  विश्वास र घनिष्टतालाई जनाउँछ। असल मित्रले हामीलाई खाँचो पर्दा हाम्रो साथमा हुन्छ, हाम्रो हृदयको दु:ख खुशी सबै कुरा झर्को नमानि सुन्छ, हामी संग समय विताउन रुचाउँछ र परेको बेला दिलो ज्यानले सहयोग गर्छ। हाम्रा कति मित्रहरू यस्तै पनि होलान तर संसारका मित्रहरूको पनि सिमिता छ, चाहेरै पनि सब समय हाम्रो साथ नहुन सक्छन् र हाम्रो दुखमा सहभागि हुन असमर्थ्य हुन सक्छन्। मित्रता खराब नभएपनि समय र परिस्थितिले यो मित्रता प्रभावकारी नहुन पनि सक्छ। तर परमेश्वर हाम्रो सर्वश्रेष्ठ मित्र हुनुहुन्छ उहाँको साथ, सहयोग र मित्रता कहिल्यै पनि कमि हुँदैन र कमजोर हुँदैन । त्यसैले हामी सब परमेश्वरसँग को मित्रता लाई अझ गहिरो बनाउँदै आफ्नो जीवनलाई सुमधुर बनाउँदै अघि बढौं ।