साधु सुन्दर सिंह: क्रुसको बाटोमा हिँड्ने साधुको जीवनकथा | Sadhu Sundar Singh- A Life story of a Monk who walk with the Cross

साधु सुन्दर सिंह: क्रुसको बाटोमा हिँड्ने साधुको जीवनकथा

विरोध र सतावट सबै ख्रीष्टियान विश्वासीहरूले बोक्नुपर्ने क्रुस हुन् (मत्ती 16:24)। प्रेरित थोमादेखि ग्राहम स्टेन्सेससम्म, भारतमा ख्रीष्टका अनुयायीहरूले विश्वासकै कारण सतावट र सहादत भोग्नुपरेको हो। विशेष गरी उत्तर भारतका पहिलो पुस्ताका विश्वासीहरूले प्रभु येशू ख्रीष्टमाथिको विश्वासका कारण सतावट खेप्नुपरेको देखिन्छ। साधु सुन्दर सिंहको पुस्ता र उनी आफैँ पनि यसको अपवाद थिएनन्। उनको आफ्नै शब्दमा, “ख्रीष्टका निम्ति साधु र सन्यासी भएर बिताएको मेरो लामो अनुभवबाट म विश्वासका साथ भन्न सक्छु: जसले क्रुस बोक्छ, क्रुसले उसलाई बोक्छ, र अन्त्यमा स्वर्गसम्म, महिमित मुक्तिदाताको साक्षात् उपस्थितिसम्म पुर्‍याउँछ,” भन्दछन्

यस लेखमा साधु सुन्दर सिंहको जीवनलाई हेर्ने प्रयास गरिएको छ, विशेष गरी प्रभु येशू ख्रीष्टमाथिको विश्वास र उहाँको सुसमाचार प्रचारका कारण उनले भोग्नुपरेको सतावटमाथि ध्यान दिइने छ। उनी को थिए? उनका मुख्य विरोधी को थिए? उनले कसरी परीक्षा र कष्टहरूको सामना गरे? उनको अनुभवबाट हामीले के सिक्न सक्छौँ? यी प्रश्नहरूको उत्तर यहाँ खोजिएको छ।


जसले क्रुस बोक्छ, क्रुसले उसलाई बोक्छ, र अन्त्यमा स्वर्गसम्म, महिमित मुक्तिदाताको साक्षात् उपस्थितिसम्म पुर्‍याउँछ - साधु सन्दर सिंह

साधु सुन्दर सिंहको जीवन र विरासत

साधु सुन्दर सिंह गान्धी, टैगोर र राधाकृष्णन्‌जस्ता भारतका महान् व्यक्तिहरूका समकालीन थिए। धर्म-इतिहासकार एरिक जे. शार्पका अनुसार सन् १९२० को दशकमा पश्चिमी जगत्‌सामु भारतको छवि प्रस्तुत गर्ने चार व्यक्तित्व मध्ये तीन हिन्दू र एक ख्रीष्टियान थिए। गान्धी राजनीति र नैतिकताका प्रतीक थिए, टैगोरले सन् १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार जिते, र राधाकृष्णन् प्रख्यात हिन्दू दार्शनिक थिए। चौथो व्यक्ति एक ख्रीष्टियान साधु (Holy Man) थिए। उनी सुसमाचार प्रचारक, आत्मिक साहित्य लेखक थिए, धेरै हिसाबले “भारतीय तरिकाको ख्रीष्ट” जस्ता थिए। साधु सुन्दर सिंह जसलाइ रक्ताम्मे पाउ भएका प्रेरित भनेर पनि चिनिन्थ्यो उनले पश्चिम देशका ख्रीष्टियन समाजलाई द. एसियाो स्वादको ख्रीष्टियान अनुभव देखाए।

जन्म, परिवार र हुर्काइ

सुन्दर सिंहको जन्म सन् १८८९ सेप्टेम्बर ३ मा पञ्जाबको लुधियाना नजिकैको रामपुर नामक सानो गाउँमा भएको थियो। उनी हिन्दू प्रभाव परेको सम्पन्न सिख परिवारका थिए। बुबा सरदार शेर सिंह धनी जमिनदार र गाउँका प्रभावशाली मानिस थिए, र परिवारले पटियालाका राजाको केही संरक्षण र प्रतिष्ठा पाएको थियो। बुबाले छोरो सिपाही वा कम्तीमा परिवारको नाम जोगाउने गृहस्थ बनोस् भन्ने चाहन्थे। तर धर्मी स्वभावकि आमाले छोरो साधु अर्थात् आध्यात्मिक गुरु बनोस् भन्ने इच्छा राख्थिन्। आमाको गहिरो प्रभावमा परि सुन्दर जोसिलो हिन्दू बन्दै गए, र सात वर्षको उमेरमै सम्पूर्ण भगवद्गीता कण्ठ पारिसकेका थिए। रूपरङ्गमा उनी सिख थिए, तर भक्तिमा कट्टर हिन्दू।

सुन्दरले प्रारम्भिक शिक्षा अमेरिकी प्रेस्बिटेरियन मिसनले चलाएको स्थानीय ख्रीष्टियान स्कुलमा पाए। तर त्यहाँ बाइबल पढाइने भएका कारण उनले विद्रोह गरे। उनको क्षेत्रका अधिकांश ख्रीष्टियान तल्लो जातका र गरिब थिए, त्यसैले तिरस्कृत मानिसहरूको किताब पढ्न उनी कट्टर रूपमा विरोधी थिए। रिसको झोँकमा उनले बाइबलका पानाहरू च्यातेर जलाइदिए। यस क्रियाकलापको लागि पछि ख्रीष्टको विश्वासी भएपछि उनी निकै लज्जित भए।

विश्वास, बप्तिस्मा र बोलावट

बाइबल जलाउने सुन्दर विश्वासीभए पछि जीवनभर नयाँ नियम(बाइबल) लाई अमुल्य सम्पत्तिझैँ मान्ने मानिस बने। हिन्दू र सिख शिक्षामा गहिरिएर खोजे पनि उनले आफ्ना मनमा उब्जेका प्रश्नहरूको सन्तोषजनक उत्तर पाएनन्। गुरुहरूले “उमेर बढ्दै जाँदा आफैँ बुझ्छौ” भनेर मात्र चुप लगाइदिए। चौध वर्षको उमेरमा प्यारी आमा गुमाएपछि उनले आमाबाट प्राप्त हुने सान्त्वना र हाैसला पनि गुमाए। निराशा र बेचैनीले उनलाई आत्महत्या गर्ने विचारसम्म पुर्‍यायो। तर जीवन अन्त्य गर्नुअघि उनले परमेश्वरलाई अन्तिम पटक पुकार्ने निर्णय गरे। सन् १९०४ डिसेम्बर १८ को बिहान, सूर्योदय हुनु अघि नै, उनले स्नान गरी आफूलाई परमेश्वर प्रकट होउन भनी प्रार्थना गर्न थाले। करिब ४:३० बजे ख्रीष्ट उनको दर्शनमा देखा पर्नुभयो। उनको कोठा “उज्यालो ज्योति” ले भरियो, र त्यही ज्योतिमा येशूको “तेजस्वी मुहार” र किला ठोकिएका दाग स्पष्ट देखिने “घाउ भएका हत्केला” देखे। त्यसपछि येशूले उनीसँग यसरी बोल्नुभएको उनले सुने, “तिमी मलाई किन सताउँछौ? हेर, तिम्रो खातिर मैले क्रुसमा आफ्नो प्राण दिएँ, ताकि तिमी र संसारले मुक्ति पाओस्।”

उनको कोठा “उज्यालो ज्योति” ले भरियो, र त्यही ज्योतिमा येशूको “तेजस्वी मुहार” र किला ठोकिएका दाग स्पष्ट देखिने “घाउ भएका हत्केला” देखे। 

त्यसै क्षण सुन्दरले ख्रीष्टको शान्ति पाए र उनको जीवन सदाका लागि बदलियो। प्रभुले साँचो हृदयले खोज्ने र  पुकार्ने मानिसहरूकहाँ देखा पर्नुहुन्छ साक्षी भए। क्रुसको शत्रुबाट सुन्दर अब क्रुसका गवाहिको वाहक बने। सन् १९०५ सेप्टेम्बर ३ मा, आफ्नो सोह्रौँ जन्मदिनमा, उनले शिमलामा बप्तिस्मा लिए। उनले ख्रीष्टको सुसमाचार हिमाचल प्रदेश, उत्तराखण्ड, नेपाल, भुटान र विशेष गरी तिब्बतका पहाडहरूमा लैजानुपर्छ भन्ने बोलावट महसुस गरेका थिए।

केही वर्षपछि उनले लाहोरको सेन्ट जोन्स डिभिनिटी स्कुलमा धर्मशास्त्र पढ्ने प्रयास गरे, तर सफल भएनन्। उनले विश्वासको बारेमा बाइबल कलेज (Seminary)का चार भित्ताभित्र होइन, वास्तविक चुनौती, सतावट र पीडाका बीचमा सिक्नुपर्ने थियो। उनले यसरी लेखेका छन्, “मेरा स्वर्गीय पिताले मलाई साधुको रूपमा उहाँको सेवा गर्न बोलाउनुभएको छ, र मैले यो बोलावट मान्नैपर्छ।” साधु भनेको आफ्नो सम्पत्ती केही नराख्ने धार्मिक भिखारी र सन्यासी हो। यसरी सुन्दर सिंहले केसरी वस्त्र लगाएर, रगतले भिजेका पाउ लिएर, सतावट भोग्ने सन्तको रूपमा देश विदेशमा ख्रीष्टको साक्षी भए।

“मेरा स्वर्गीय पिताले मलाई साधुको रूपमा उहाँको सेवा गर्न बोलाउनुभएको छ, र मैले यो बोलावट मान्नैपर्छ।”

साधुको जीवन यात्रा

साधु सुन्दर सिंहको मृत्यु कसरी भयो भन्ने कुरा रहस्यमय छ। उनी अन्तिम पटक सन् १९२९ अप्रिलमा देखिएका थिए, र भारत सरकारले सन् १९३२ मा उनलाई मृत घोषित गर्‍यो। उनको मृत्युको बारेमा विभिन्न अनुमान तथा विश्वासहरू गरीन्छ जस्तै: उनी हिउँ परेका पहाडमा यात्रा गर्दा मरे, वा तिब्बतमा सहिद भए, वा हनोकलाई झैँ (उत्पत्ति ५:२४, हिब्रू ११:५) परमेश्वरले उठाएर लैजानुभयो आदि अनुमानहरू गरिन्छ। जीवनभर उनी यात्रा गर्दै प्रचार गर्ने, सिकाउने, बप्तिस्मा दिने, प्रार्थना गर्ने र लेख्ने काममा लागे। उनले येशूको चेलापनको नयाँ जीवित नमुना देखाए र पश्चिमि इसाइ परम्परा भन्दा फरक पूर्वियको शैलीको ख्रीष्टियान विश्वासीको उदाहरण दिए। उनी हिमालयमा रहेको गोप्य ख्रीष्टियान भाइचारा “सन्यासी मिसन” का सदस्य थिए, जसमा हिन्दू पृष्ठभूमिबाट आएका धेरै ख्रीष्टका अनुयायीहरू थिए। विश्वव्यापी मिसनरीको रूपमा उनले भारत, नेपाल र  तिब्बतका अतिरिक्त युरोप, पश्चिम एसिया र अमेरिकासम्म ख्रीष्टको साक्षी दिए।


साधुका लेखहरू नयाँ करारका पत्रहरूजस्तै छन्। उनका प्रचार-यात्राका पत्रहरू पहिले उर्दू ख्रीष्टियान पत्रिका नूर अफशानमा छापिन्थे। उनका प्रमुख प्रकाशनहरूमा मक्तब-ए-मसीह (ख्रीष्टको पाठशाला), At the Master’s Feet, Reality and Religion, Meditations on Various Aspects of the Spiritual Life र Soul-Stirring Messages पर्छन्। उनले आफ्नै अनुभवबाट लेखे, ख्रीष्टबाट पाएका दर्शनहरू वर्णन गरे र सतावट र पीडाका बीचमा प्रभुसँग भएका रहस्यमय भेटहरू सुनाए। उनी क्रुस र सुसमाचारका निम्ति सतावट भोग्ने धर्मशास्त्री (Theologian)थिए।

साधुले भोगेका सतावटहरू र त्यसमा उनको प्रतिक्रिया

ख्रीष्टीय विश्वासको मूल्य हुन्छ। चेलापनको मूल्य सतावट हो। यस खण्डमा हामी साधु सुन्दर सिंहले आफ्नै मानिसहरू र अरूबाट भोगेका सतावटमाथि विचार गर्ने छाैं, र ख्रीष्टप्रतिको प्रेम र आज्ञाकारिताका खातिर उनले विरोधीहरूलाई कसरी जवाफ दिए भन्ने पनि हेर्नेर्छौँ।

आफ्नै मानिसबाट सतावट

सुन्दरले ख्रीष्टलाई सार्वजनिक रूपमा स्वीकार गरेको दिनदेखि नै उनले विरोध र सतावट भोग्नुपर्‍यो। पार्करका अनुसार दर्शन भएको रातदेखि नौ महिनासम्म, बुबाको घरमा बस्दा, उनले कठिन अवस्थाबाट गुज्रनु पर्यो। उनले ख्रीष्टमाथिको विश्वास छोडून् भन्ने उद्देश्य अनुसार सतावट सुरुमा गाली र श्रापको रूपमा आयो । उनका आफ्नै दाजु उनका मुख्य शत्रु बने, र बुबाले पनि उनको जिद्दीले परिवारमाथि आउने विनाशबारे निरन्तर सुनाइरहे। यी सबैमा सुन्दरले कहिल्यै रिस वा बदलाको भाव देखाएनन्।

परिवारभन्दा बाहिर पनि सारा गाउँ उनको विरोधी बन्यो। मुस्लिम पटवारी रहमत उल्लाह उनका सबैभन्दा कट्टर विरोधीमध्ये थिए, जसले एक पटक सुन्दरको नयाँ नियम नै च्यातेर फालिदिए। केही समयपछि रहमतलाई घातक हैजा लाग्यो। सुन्दर उनको मृत्युशय्यामा भेट्न गए र रहमतले उनीसँग आफ्नो गल्ती स्विकार गरे। रहमतले आफू नरकतर्फ गइरहेको देखेको र येशूलाई टाढाबाट देखेको तर उहाँलाई पुकार्ने साहस नभएको बताए। उनले येशू “पापीहरूको एक मात्र आशा” हुनुहुन्छ भन्ने जानेका थिए। रहमतप्रति सुन्दरको हृदयमा क्षमा र करुणा मात्र थियो।

सुन्दरको मन-परिवर्तनले गाउँका मुठ्ठीभर गरिब ख्रीष्टियानहरूमाथि पनि कडा विरोध ल्यायो। ख्रीष्टियानहरूका लागि पसलहरू बन्द भए, अभिभावकहरूले छोराछोरी नपठाएको कारण मिसनरीहरूले स्कुल बन्द गर्नुपर्‍यो।

रहमतको मृत्युको करिब एक हप्तापछि सुन्दरले खुला र खतरापूर्ण घोषणा गरे। उनले आफ्नो लामो केश काटे र आफू अब सिख होइन, साँचो ख्रीष्टियान भएको घोषणा गरे। उनको यो व्यवहार परिवार र धर्ममाथी ल्याएको लाजको चरमसीमा ठानियो। उनको सबै लुगा र सामान खोसेर उनलाई जङ्गलतिर धपाइयो। साथीहरू पहिल्यै टाढिएका थिए, अब उनी घरबारविहीन पनि भए।

“यो परमेश्वरको प्रेमको ठुलो प्रकाश थियो, र मैले जसको क्रुस बोक्ने वाचा गरेको थिएँ, मेरा प्रभुले मलाई आफ्नो कुसको भारी बोझमुनि कहिल्यै थिचिन दिनुहुन्न भन्ने निश्चय भएँ।”

भौँतारिँदै सुन्दर रोपरको मिसन कम्पाउन्डमा पुगे र ख्रीष्टियानहरूका बीचमा शरण पाए। तर चाँडै उनलाई पक्षाघात भयो र मृत्यु नजिकै देखियो। डाक्टरले उनलाई विष दिइएको निश्चय गरे। घरबाट धपाइनुभन्दा केही क्षणअघि उनकी भाउजूले उनको खानामा विष हालेकी थिइन्। उनको मुखबाट धेरै रगत बग्यो, उनी मृत्युको मुखमै पुगे। तर चाँडै उनलाई हिक्का आयो र उनी बिलकुल निको भएर उठे। सबै छक्क परे, तर सुन्दरले भने, “यो परमेश्वरको प्रेमको ठुलो प्रकाश थियो, र मैले जसको क्रुस बोक्ने वाचा गरेको थिएँ, मेरा प्रभुले मलाई आफ्नो कुसको भारी बोझमुनि कहिल्यै थिचिन दिनुहुन्न भन्ने निश्चय भएँ।” येशूले आफ्नो बोलावट पूरा गर्न नदिई आफूलाई मर्न दिनुहुन्न भन्ने उनमा विशेष विश्वास थियो।

अरू मानिसबाट सतावट

पहाडी ठाउँहरूमा गएर सेवा गर्ने सुन्दरको बोलावटमा सुरक्षा, आराम, सम्मान वा सांसारिक इनामको कुनै ग्यारेन्टी थिएन। उनको मिसन यात्राको खर्च कसैले जुटाएन, र जहाँ सुसमाचार लैजान खोजे त्यहाँ विरलै न्यानो स्वागत पाए। जहाँ गए पनि सतावटले उनलाई पर्खेको हुन्थ्यो।

उत्तराखण्डको ऋषिकेशमा उनले प्रचार गरिरहँदा केही मानिसले खिल्ली उडाए, तर उनले ध्यान दिएनन्। त्यही ठाउँमा सीताराम नामका विरोधीले उनको आँखामा बालुवा फाले। तर रिसाउनुको सट्टा उनी शान्तसँग उठे, नदीमा आँखा धोए र सीतारामलाई खोज्दै फर्किए। भीडले उनलाई प्रहरीको हातमा सुम्पिसकेको थाहा पाएपछि उनी प्रहरीकहाँ गए र सीतारामलाई छोडिदिन अनुरोध गरे। त्यसपछि उनले प्रचार जारी राखे। सीतारामले तुरुन्तै पश्चात्ताप गरे र उनका चेला बने। उनले आँसु बगाउँदै साधुका पाउमा लडेर भने, “धिक्कार मलाई! मैले तपाईंको आँखामा बालुवा फाल्नुअघि नै शैतानले मेरा आँखामा बालुवा हालिसकेको थियो, जसले मलाई यति अन्धो बनायो कि न तपाईंको स्नेही हृदय देख्न सकेँ, न त त्यसमा बास गर्नुहुने प्रभु येशूलाई बुझ्न सकेँ।” यस्तो हृदय परिवर्तन गर्ने प्रभाव साधुको क्षमाशील, साँचो अर्थमा ख्रीष्टजस्तो प्रतिक्रियाबाट मात्र सम्भव थियो।

उनले आँसु बगाउँदै साधुका पाउमा लडेर भने - धिक्कार मलाई! मैले तपाईंको आँखामा बालुवा फाल्नुअघि नै शैतानले मेरा आँखामा बालुवा हालिसकेको थियो, जसले मलाई यति अन्धो बनायो कि न तपाईंको स्नेही हृदय देख्न सकेँ, न त त्यसमा बास गर्नुहुने प्रभु येशूलाई बुझ्न सकेँ।

हिमाचल प्रदेशको नारकण्डा गाउँमा मकैको खेतमा गएर किसानहरूलाई प्रचार गर्न थाले। धेरैले गाली गरे, र एक जनाले त साधुलाई ढुङ्गाले नै हाने। तर तत्काल ती मानिसलाई टाउको दुख्यो र उनी काम गर्न सकेनन्। सुन्दरले उनको ठाउँ लिएर मकै काट्न थाले र भने, “हे परमेश्वर! तिनीहरूलाई क्षमा गर्नुहोस्!” यो कोमल प्रतिक्रियाका कारण उनलाई घरमा निम्तो दिइयो, जहाँ उनले प्रार्थना गरे र सुसमाचार सुनाए।

उत्तराखण्डको टेहरीमा स्थानीय मानिसहरूले उनलाई धपाउन नसकेपछि पक्राउ गराएर जेलमा हाले। तर साधुले जेलमै कैदीहरूलाई सुसमाचार सुनाए र धेरैले येशूमा विश्वास गरे। उनको आत्मिक प्रभाव देखेर अधिकारीहरूले उनलाई जेलबाट छोडी त्यस क्षेत्रबाट निकाले। प्रेरित पावलले जस्तै कैदी हुँदा पनि प्रचार गर्न ख्रीष्टको कामप्रति विशेष अभिषेक र समर्पण चाहिन्छ।

सबैभन्दा कठोर र ज्यानै जाने यातना नेपाल र तिब्बतमा दिइए। सन् १९१४ मा नेपालको इलाममा उनलाई पक्राउ गरियो, बजारमा नाङ्गो पारियो, हात र खुट्टा ठाडा तख्तामा बनाइएका प्वालहरूमा बाँधिए, र त्यही अवस्थामा एक दिन एक रात राखियो। कसैले खानेकुरा वा पानी दिएन, र उनको नाङ्गो शरीरमाथि जुका छोडिए। जुकाले रातभरि रगत चुसिरहँदा उनी निश्चय नै मर्ने थिए। तर भोलिपल्ट साधु जीवितै भेटिए, र सतावटकर्ताहरूले छक्क परेर उनलाई छोडिदिए। साधुले भने, त्यो पीडादायी रात उनले हृदयभरि आनन्दका साथ परमेश्वरको स्तुति गाउँदै बिताएका थिए। रिस, निराशा र गुनासो उब्जाउने परिस्थितिमा पनि उनले स्तुति गर्न, क्षमा दिन र सुसमाचार प्रचारको मिसनमा अघि बढ्न सके।

तिब्बतमा उनको सन्देशले विशेष गरी बौद्ध भिक्षुहरूबाट शत्रुता र घृणा पायो, । उनलाई बारम्बार प्रचार बन्द गर्न वा त्यो क्षेत्र छोड्न चेतावनी दिइन्थ्यो, तर उनले त्यसको कहिल्यै पर्वाह गरेनन्। एक दिन रासरमा उनलाई पक्राउ गरी लामाको अगाडि ल्याइयो। उनीमाथि राहदानी बिना देशमा प्रवेश गरेको र ख्रीष्टियानता विदेशी धर्म प्रचार गरेको आरोप लाग्यो। आरोप सत्य ठहरिएपछि उनलाई गहिरो, फोहोर र घातक इनारमा फालिदिने आदेश दिइयो। यो राज्यविरुद्धका सबैभन्दा जघन्य अपराध गरेको मानिसलाइ दिइने सजाय थियो। उनले आफ्नो अनुभव यसरी सुनाए, “जहाँ हात राखे पनि मैले हड्डी र खप्परबाहेक केही भेटिनँ, र त्यहाँको गन्धले मलाई पागल बनाउँथ्यो।” तीन दिनसम्म उनी त्यस मृत्युको बासमा थुनिए। तर तेस्रो दिन मध्यरातमा एक परमप्रभुका दूतले उनलाई चमत्कारीरूपमा उद्धार गर्नुभयो। यी परमेश्वरका दुत साधुका लगभग सबै परीक्षाहरूमा उनीसँगै रहे, उनलाई बल दिए र मुक्त गरे। कुनै पनि सतावटले साधुलाई प्रचारबाट रोक्न सकेन। जहाँ मानिसहरूले उनको ज्यान नै लिन खोजेका थिए, उनी निर्भय भएर फेरि त्यहीँ गए, र सतावटकर्ताहरूप्रति कहिल्यै तीतो भाव राखेनन्।


परिवार र अरूको विरोधबाहेक साधुले केही उनले राम्रो व्यवहारको आशा गरेका  ख्रीष्टियानहरूको व्यवहार बाट पनि निरास भए। महाराष्ट्रको नासिकमा, चर्को गर्मीमा, धेरै दिन खान नपाएर कमजोर र थकित हुँदा उनी एक मिसन बङ्गलामा सहायता माग्न गए। तर त्यहाँका मिसनरीले साधुको कुरा सुन्नै नचाहीकन आफूले सहायता गर्न नसक्ने बताए, जबकि उनले साधुलाई नचिनेका भने थिएनन्। साधुले भने, “जसबाट मैले सबैभन्दा बढी आशा गरेको थिएँ, उनीहरूबाटै यसरी तुच्छ व्यवहार पाउँदा म रुनै लागेँ, र ‘म आफ्नैकहाँ आएँ, तर आफ्नैले मलाई ग्रहण गरेनन्’ भन्दै गर्दाको समयमा  प्रभुले भोग्नुभएको हृदयको पीडा थाहा पाउन सकें।” यस्ता अनुभवले उनलाई तीतो बनाएनन्। बरु यी अनुभवले उनलाई स्वयं येशूको अनुभवको नजिक पुर्‍याए। येशू सतावट भोग्ने सेवक हुनुहुन्थ्यो, साधु पनि त्यस्तै थिए। अरूको मुक्तिका निम्ति क्रुस बोक्नु नै उनीहरूको मिसन थियो।

जसबाट मैले सबैभन्दा बढी आशा गरेको थिएँ, उनीहरूबाटै यसरी तुच्छ व्यवहार पाउँदा म रुनै लागेँ, र ‘म आफ्नैकहाँ आएँ, तर आफ्नैले मलाई ग्रहण गरेनन्’ भन्दै गर्दाको समयमा  प्रभुले भोग्नुभएको हृदयको पीडा थाहा पाउन सकें।

साधु सुन्दर सिंहको जीवनले हामीलाई सिकाउँछ कि क्रुस बोक्नु ख्रीष्टको चेला हुनुको अभिन्न अंश हो। परिवारको अस्वीकार, समाजको घृणा, विष, जेल, जुका र इनारको अँध्यारो, यी सबैमा पनि उनले क्षमा, स्तुति र निर्भयतासाथ सुसमाचार बोकिरहे। उनले आफ्ना शत्रुहरूलाई प्रेम गरे, र त्यही प्रेमले सीताराम जस्ता कतिपय सतावटकर्तालाई ख्रीष्टसम्म पुर्‍यायो। आज पनि सुसमाचारको खातिर सतावट भोगिरहेका विश्वासीहरूका लागि उनको साक्षी ठुलो प्रोत्साहन हो: 

“जसले क्रुस बोक्छ, क्रुसले उसलाई स्वर्ग पुगुन्जेल  बोक्छ।”

- विभिन्न श्रोतहरूको मा आधारित