पाप- ईसाई विश्वासको आधारभूत सिद्धान्त भाग - 7 || Essential Christian Doctrines 7 -Sin

पाप- हामीलाई अनन्त सम्म परमेश्वरबाट अगल गर्ने समस्या

भजनसंग्रह 51:1-5

'हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌।
मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌।
किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ।
तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा जे खराबी छ, त्‍यही गरेको छु। यसैकारण बोल्‍नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्‍छ, र न्‍याय गर्दा तपाईं न्‍यायी ठहरिनुहुन्‍छ।
साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। '


परमेश्वरले सृष्टि गर्नुभएको संसार सुन्दर र कुनै दोष विनाको थियो र त्यस्तै परमेश्वरले बनाउनुभएको पहिलो मानव पनि पाप रहित थिए र उनिहरू परमेश्वरसँगको राम्रो सङ्गति  तथा सम्बन्धमा थिए। तर मानिसको अनाज्ञाकारीता द्वारा संसारमा पापको प्रवेश भयो र त्यसै पापको कारण परमेश्वरको यस सुन्दर सृष्टि विशेष गरी परमेश्वर र मानिसको सुमधुर सम्बन्ध विग्रियो।

यसरी परमेश्वरको उद्देश्यमा रोकावट ल्याउने प्रयास शैतान अर्थात् परमेश्वरको शत्रुबाट आएको हो। उसैले उक्साएर आदम र हब्बलाई परमेश्वरको आज्ञा नमान्न र परमेश्वरसँग झूट बोल्न लगायो। यस प्रकारको कृयाकलापले मानिस र परमेश्वरको सङ्गति टुट्यो। मानिसले गरेको सबै भन्दा ठूलो गल्ती नै उ आँफै परमेश्वर जस्तै इच्छा गर्यो। यस चाहनाले मानिसले परमेश्वरलाई दिनुपर्ने आदर, नदिइ उहाँको अधिकारलाई आफूमा खोस्ने प्रयत्न गर्यो।

मानिसले पाप गरे पछि मानिसको हैसियत र जीवनमा ठूलो परिवर्तन आयो र मानिस सधैँको लागि परमेश्वरबाट टाढियो। मानिसलाई परमेश्वरले आफ्नो सङ्गति  र सम्बन्धमा रहन दिनु भएको अधिकार कटौति भयो। यसरी आदमबाट सुरु भएको पाप सबै मानिसका पुस्ताहरूमा सञ्चार भएको छ र सबै मानिसको हृदयमा पाप छ।

त्यसैले बाइबलले सबै मानिस पापी छ भनेर घोषणा गर्दा हामीले गरेको काम र व्यवहारमा यो वा त्यो गल्ती भयो मात्र भनेको होइन कि हामी पापी अवस्थामा छौं अर्थात् परमेश्वर सो सत्य, धर्मी ईश्वर हुनुहुन्छ उहाँबाट टाढा छौं। उहाँसँग उचित सङ्गति  तथा सम्बन्धमा छैनौं भनेको हो। अर्को शब्दमा पापको कारण हामी मानिस परमेश्वरबाट यति टाढा भएका छौं कि हाम्रो आफ्नै प्रयासले परमेश्वर कहाँ जान नसक्ने भएका छौं। मानिसले धर्मको नाउँमा वा परमेश्वरको खोजी र चाहना जति नै धर्म र असल गर्ने प्रयास गरे पनि परमेश्वरसँगको भत्किएको सम्बन्ध पुनर्स्थापना गर्न नसक्ने भएका छौं।

वास्तवमा हामी मानिस पापको कारणले परमेश्वरबाट टाढा भएका मात्र छैनौं कि हामी पापको दास समेत भएका छौं। त्यसैले त्यहि पापको कारणले मानिसले परमेश्वरको इच्छा विपरितका कुराहरूमा रमाउने र त्यसैको खोजी तथा चाहना गरेको पाउँछौं। मानिसमा कहिले कहीँ असल गर्ने तथा असल बन्ने इच्छा तथा चाहनाहरू भए पनि हाम्रो हृदयलाई पापले वशमा पारेको कारण हामीले सो पुरागर्न असफल हुन्छौं।

यसरी पापले मानिसलाई अधीनमा पारेको कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा बनाउँदा खेरी नै राख्नुभएको सुन्दर र महान योजना पुर हुन सकेको छैन। मानिसको व्यक्तिगत जीवन तथा समाज दुवैले परमेश्वरको सुन्दर स्वरूपलाई देखाउन असफल भएको छ। मानिसको पापको कारण मानिस आफू मात्र होइन तर सारा पृथ्वी नै यसको सिकार भएको छ। मानिसको गल्ती, लोभ तथा दुष्टताले सारा सृष्टिले दुःख पाइरहेको अवस्था छ।

सबै भन्दा दुःख लाग्दो कुरा पापको कारणले मृत्यु जुन मानिसलाई सृष्टि गर्दा परमेश्वरको योजनामा नै थिएन त्यो मानिसमा आएको छ। मृत्युले मानिसको जीवनको अन्त्य निर्धारण गरेको छ। तर परमेश्वरले आफ्नो अनन्त स्वरूपमा अनन्त सम्मको सङ्गति  र सम्बन्धमा रहन मानिसलाई बनाउनुभएको हो जुन पापको कारण मृत्युले अधिकार गरेर मानिसले सो प्राप्त गर्न नसक्ने भएको छ।

परमेश्वरले आफ्नो स्वरूपमा सृष्टि गरिएको मानिसलाई अति नै प्रेम गर्नुहुन्छ। र यस मृत्युको अन्त्यबाट अनन्तको मार्गमा ल्याउन चाहनु हुन्छ। यसरी एक मानिसको अनाज्ञाबाट सुरु भएको सबै मानिस जातिको पापको समस्यालाई आफ्नो पुत्र येशू ख्रीष्टको आज्ञाकारीताबाट पुरा गरी मानिसको निम्ति मुक्तिको ढोका खोल्नु भयो। अब मानिस आफ्नै प्रयासमा स्थापना गर्न नसकेको परमेश्वर सँगको अनन्तको सम्बन्ध येशू ख्रीष्टमा विश्वास द्वारा प्राप्त गर्ने भएको छ।

बाइबलमा मानिसको पापको विषयमा दिइएको मुख्य शिक्षाहरू

पाप मानिसको गल्तीबाट सुरु भएको हो। यसको प्रभाव संसारका सबै मानिसहरूमा छ।

 'एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो।' रोमी 5:12

'परमप्रभुले स्‍वर्गबाट मानिसका सन्‍तानलाई हेर्नुहुन्‍छ, यो जान्‍नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्‍ने कोही छ? तिनीहरू सबै कुबाटोतिर लागेका छन्‌। तिनीहरू सबै एकसाथ भ्रष्‍ट भएका छन्‌। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।' भजनसंग्रह 14:2-3

मानिस पापको दास भएको छ र पापमय कामहरूमा लिप्त छ। यसबाट परमेश्वरको सहायता विना मानिसको आफ्नै प्रयास द्वारा मुक्त हुन असम्भव छ।

'के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?' रोमी 6:16

'म के गर्दछु, त्‍यो बुझ्‍दिनँ। किनकि म जे चाहन्‍छु, त्‍यो गर्दिनँ। तर त्‍यही गर्दछु, जो म घृणा गर्दछु। गर्न नचाहेको म गर्दछु भने, व्‍यवस्‍था असल छ भनी म सहमत हुन्‍छु। यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।' रोमी 7:15-17

'येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पाप गर्ने प्रत्‍येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्‍छ। यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ।' यूहन्‍ना 8:34-36

पापको कारण मानिस र परमेश्वर बीचको सम्बन्ध बिग्रेको अवस्थामा छ। मानिस आफैले परमेश्वरसँग पुग्न सक्ने अवस्थामा छैन। परमेश्वर मानिसको यस अवस्था प्रति प्रसन्न हुनुहुन्न।

'निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन।' यशैया 59:1-2

'यसैले न्‍याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्‍दैन। हामीहरू उज्‍यालोको बाटो हेर्छौं, तर सबै अन्‍धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्‍यारोमा हिँड्‌दछौं!' यशैया 59:9

मानिस पापको कारण मृत्यु भोग्नु पर्ने अवस्थामा छ तर उसलाई परमेश्वरले मृत्युमय जीवनबाट मुक्त हुन र अनन्त जीवनको अधिकार गर्ने बाटो येशू ख्रीष्टमा उपलब्ध छ।

'किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।' रोमी 6:23

'अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो। पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू धन्‍य र पवित्र हुन्‌। यिनीहरूलाई दोस्रो मृत्‍युको शक्तिले केही गर्न सक्‍दैन, तर तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्‍म राज्‍य गर्नेछन्‌।' प्रकाश 20:5-6

ख्रीष्ट क्रुसमा गर्नुभएको कार्य द्वारा हामीले मृत्युबाट मुक्ति पाएका छौं। अर्थात् हाम्रो पाप सधैँको निम्ति मेटिएको छ।

'हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ।' रोमी 6:6-7

'तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्‍यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।' कलस्सी 2:13-15

Read More