ईसाई आधारभूत सिद्धान्त -9 येशूको दोस्रो आगमन र पुनरुत्थान || Essential Christian Doctrines-9 Second Coming of Christ and Resurrection

 ईसाई आधारभूत सिद्धान्त -9 येशूको आगमन र पुनरुत्थान



परमेश्वरले संसारलाई कुनै उद्देश्य विना फुर्सदको समय बिताउनको लागि बसि बियाँलो गर्न बनाउनु भएन। उहाँले यस संसारलाई बनाउनका धेरै उद्देश्य र योजनाहरू समावेश छन्। पहिलो त उहाँले संसारद्वारा आफ्नो महिमा चाहनुहुन्छ र यसैको लागि बनाउनुभयो। जस्तो यशैया 43:7ले भन्दछ 'हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचेँ र बनाएँ।' परमेश्वरले विशेष गरी पुत्रको अधिकारमा सारा सृष्टिलाई राखि उहाँको प्रभुत्व प्रदर्शन गर्न सृष्टि बनाउनुभयो भन्ने पनि बाइबलमा उल्लेख छ।'किनकी उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्‌' (कलस्सी 1:16)। त्यस भन्दा बढि परमेश्वरले आफ्नो स्वरूपमा बनाएको मानिससँग सङ्गति गर्न तथा घनिष्ठता बनाउन चाहनुहुन्छ। तर परमेश्वरले संसारकोलागि बनाउनुभएको योजना अहिलेको समयमा नै पुरा गर्नुहुन्छ भनेर बुझ्नु गलत हुन्छ किनभने आज हामीले भोगेको र देखेको भन्दा फरक तथा महान योजना परमेश्वरले संसार तथा मानिसको लागि बनाउनुभएको छ। पावलले कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा उल्लेख गरेका छन् कि

'किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ। हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌। यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ' (२ कोरिन्थी 4:16-18)

त्यसैले हामीले यो जानी राख्नु पर्दछ कि आज र अहिले जे छ हामी जो हौं त्यो नै सर्व थोक होइन तर अझ महान् कुरा परमेश्वरले हाम्रो निम्ति तयार गरि रहनुभएको छ । हामी सबै त्यसै तर्फ लम्किरहेका छौं। यसबाट हामीले यो पनि जान्नु जरुरी हुन्छ कि यस संसारको शारीरिक मृत्यु नै जीवनको अन्त्य होइन। विशेष गरी परमेश्वरमा विश्वास गरेकाहरूको निम्ति मृत्यु पछि पनि परमेश्वरले जीवन तयार गर्नुभएको छ। प्रेरित पावलले जीवित तथा प्रभुमा सुतेका विश्वासीहरूको निम्ति परमेश्वरले राख्नुभएको योजनाको बारेमा यसरी उल्लेख गरेका छन्।

'प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचि रहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्ने छैनौं। किनकी प्रभु स्वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌ने छन्‌। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनिहरूका साथसाथै बादलमा उठाइ लगिने छौं, र यसरी हामी सधैँ प्रभुसँग रहने छौं' (१ थेसलोनिकी 4:15-17)।

त्यसैले हामीले यस संसारमा भोगेको जीवनलाई हेरेर निराश हुनु जरुरी छैन किन भने यो नै जीवनको अन्त्य होइन। हामीले यो जानी राख्नु जरुरी छ कि परमेश्वरले सबै कुरा हेरी रहनुभएको र चलाइ रहनुभएको छ। त्यस्तै हाम्रो जीवनको मृत्यु पछिको पनि अर्को आयाम छ भन्ने जानेर हामीले जिउनु आवश्यक छ। मृत्यु पछिको जीवन जुन परमेश्वरले हाम्रो निम्ति तयार गर्नुभएको छ, त्यसको तयारीको निम्ति हामीले अहिलेको जीवन बिताउनु आवश्यक हुन्छ।

बाइबल धर्मशास्त्रमा परमेश्वरले आफ्नो भविष्यको योजनाको बारेमा केही झलकहरू दिनुभएको छ भने धेरै कुराहरू रहस्यमा नै राख्नुभएको पनि देखिन्छ। कति भविष्यको बारेमा दिइएको जानकारीहरू साङ्केतिक रूपमा देखाइएका छन्। त्यसैले यस्ता सङ्केतमा दिइएका कुराहरूद्वारा बाइबलको शिक्षाको आधारमा हामीले केही अनुमान लगाउन सके पनि निश्चितताका साथ यी सङ्केतहरूको अर्थ यो नै हो भनि दाबि गर्न कठिन हुन्छ। तर पनि बाइबललाई हेर्दा हाम्रो व्यक्तिगत भविष्यको बारेमा यी तिन कुराहरूमा निश्चित हुन सक्छौं: १) येशूको दोस्रो आगमन, २) सबै मानिसको शारीरिक पुनरुत्थान तथा ३) अन्तिम न्याय।

येशूको दोस्रो आगमन:

येशूले मानिसको लागि तय गर्नुभएको मुक्तिको कार्य क्रुसमा भएको मृत्यु र त्यस मृत्यु पछिको पुनरूत्थानबाट पुरा गर्नुभएको भए पनि मानिसले मुक्तिको पुर्ण अनुभव गर्ने समय भने भविष्यमा आफ्नो  दोस्रो आगमनमा राख्नुभएको छ। येशूको दोस्रो आगमनको बारेमा हामीले यी तिन दाबीहरू गर्न सक्छौं।

येशूको दोस्रो आगमन निश्चित छ र येशू यस संसारमा फेरी आफ्ना चेलाहरूकै लागि आउनुहुन्छ।

' “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर। मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।” ' यूहन्‍ना 14:1-4

'तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌। उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌। ' मत्ती 24:30-31

येशू आउने कुरा निश्चित भए पनि उहाँ कहिले आउनुहुन्छ भनेर हामीले अनुमान लगाउन सक्दैनौं। मानिसले अपेक्षा नगरेको अवस्थामा येशू यस संसारमा आउनुहुन्छ। त्यसैले कसैले यो दिन आउनुहुन्छ भनेर घोषणा गर्यो भने त्यसमा भर पर्ने होइन तर येशू कुनै पनि दिन आउन सक्नु हुन्छ भनि जानेर विश्वासीहरू तयारी रहनु पर्दछ।

' “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले। मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ। त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। ...दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ। “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ। तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहने थियो, र आफ्नो घर फोर्न दिने थिएन।' मत्ती 24:36-37,40-43

'किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ। जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌।' १ थेसलोनिकी 5:2-3

येशूको आगमन सबै मानिसहरूले देख्ने गरेर उहाँ स्वयम् नै आउनुहुन्छ र उहाँको आगमन सबै मानिसहरूले देख्ने गरेर आउनुहुन्छ। त्यसैले कसैले उहाँ आत्मिकरूपमा आइसक्नु भयो वा यो वा त्यो रूपमा आउनुभयो वा आउनुहुन्छ भनेर दाबी गर्यो भने पनि त्यसमा विश्वास गर्नु हुँदैन। येशूको दोस्रो आगमन उहाँको विश्वासीहरूको निम्ति उनीहरूलाई माथि संसारबाट उठाइ लान आउनुहुनेछ। येशूको दोस्रो आगमन पहिलेको जस्तो नम्रतामा नभइ उहाँ आफ्नो महिमा र शक्तिमा आउनुहुनेछ।  

'किनकी प्रभु स्वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।' १ थेसलोनिकी 4:16

'अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।' यूहन्ना 14:3

'तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।”' प्रेरित 1:11

'तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।' मत्ती 24:30

मानिसको पुनरुत्थान

येशूको दोस्रो आगमन त्यसै देखाउन तथा प्रदर्शन गर्नको निम्ति मात्र नभइ आजसम्मका सबै विश्वासीहरूको लगि हुनेछ। येशूको दोस्रो आगमनमा मरेका सबै विश्वासीहरूको पुनरुत्थान हुनेछ भने अन्य सबै मानिसहरू पनि न्यायको निम्ति उठाइने छन्। येशूको दोस्रो आगमनमा जिवित भएका विश्वासीहरू सबैको रूप परिवर्तन हुनेछ र हाम्रो विनाशी शरीर अविनाशी शरीरमा परिणत हुन्छ।

' “यसमा अचम्म नमान, किनभने समय आइ रहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्, र बाहिर निस्‍किआउनेछन्‌: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्‍डाज्ञाको पुनरुत्थानको निम्ति।' यूहन्ना 5:28-29

'धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ भन्‍ने यिनीहरू आफैले स्वीकार गरेजस्‍तै म परमेश्वरमा आशा राख्‍दछु।' प्रेरित 24:15

'हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।' १ कोरिन्थी 15:51-52

अन्तिम न्याय

हामी विश्वासीहरू जसले प्रभु येशूमा विश्वास गरेका छौं उहाँले हामीलाई अनन्तको मृत्युबाट बचाउनुहुनेछ। विश्वासी र अविश्वासी छुट्याइने छ विश्वासीहरू अनन्त जीवनमा प्रवेश गर्नेछन् भने अविश्वासीहरू अनन्तको मृत्यु तथा सजायमा पठाइने छौं।

 ' “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ। र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ। “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।... “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।' मत्ती 25:31-34,41