मौका नगुमाउनुहोस् || Don't Miss the Moment

 मौका नगुमाउनुहोस्



२ पत्रुस 3:8-14

'तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ। आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ। तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌। यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर। '

हामीले आफूलाई चाहिएको र मनपरेको कुरा कुनै पसलमा केही समयको लागि छुटमा बिक्रीमा भएको थाहा पायौं भने त्यो मौका नगुमाइ त्यसलाई किन्न जान्छौं। किन भने त्यो हामीलाई कति आवश्यक छ भन्ने पनि थाहा छ, छुट नभएको बेला कति महँगो छ भन्ने पनि हामीलाई थाहा भएको कारण सस्तोमा पाउने मौका गुमाउनु चाहँदैनौं। बाइबलमा दिइएको योना अगम वक्ताको पालामा निनवे भन्ने सहरमा भएको एउटा घटनामा पनि त्यहाँका मानिसहरूले आफ्नो ज्यान बचाउने मौकालाई गुम्न नदिइ तुरुन्त परमेश्वरमा पश्चाताप गरेको देखिन्छ। परमेश्वरबाट निनवे नष्ट  गर्नुहुने वचन पाएको लगत्तै त्यस सहरका मानिसले भोलि पर्सि आदि भनेर समय गुम्न दिएनन् तर तुरुन्तै परमेश्वरको चरणमा गएर गएको देखिन्छ। र उनीहरूले परमेश्वरको क्रोधबाट आफ्नो सहरलाई बचाउन सफल भए।

परमेश्वरले पापलाई रुचाउनु हुन्न, तर आफ्नो खोजी र चाहना गर्ने हरेकलाई अनुग्रह गर्नुहुन्छ भन्ने जान्दा जान्दै पनि परमेश्वरकहाँ पश्चाताप सहित फर्कन हामीले आनाकानी गर्छौं भरे भोलि भन्दै आफ्नै पापमय क्रियाकलापमा रमाउँछौं। तर जब परमेश्वरले मौका दिँदा पनि हामीले उहाँमा जान ढिला सुस्ती गर्छौं भने हामीले ठूलो मौका गुमाइ रहेका हुन्छौं।  माथिको बाइबलको खण्डमा प्रेरित पत्रुस त्यही बारेमा मण्डलीमा उत्साह दिएको पाइन्छ। कति पटक हामीले प्रभु कहाँ फर्किने समय धेरै भए जस्तै गरी आफ्नो व्यक्तिगत तथा सांसारिक जीवन शैलीलाई निरन्तरता दिएको पाउँछौं। तर पत्रुसले लेखेका छन् कि प्रभुको आगमन मानिसले चाहा नपाउने गरेर अचानक रूपमा हुनेछ। उहाँ आगोको रापको रूपमा सबैकुरा जाँच्न आउनुहुन्छ। कुनै पनि अधर्मी तथा अपवित्रका भस्म हुनेछन्, धार्मिकता तथा पवित्रताका कुराहरूमात्र बाँकी रहने छन्। प्रभुले अहिले धैर्य गरेर पर्खिनुभएको हामीलाई मौका दिनुभएको हो, र यस मौकालाई हामीले गुम्न दिनु हुँदैन।  प्रभुले जुन आत्मिक तथा मुक्तिको जीवन जिउने मौका हामीलाई दिनुभएको छ, सो को सदुपयोग गर्दै हामी परमेश्वरको अनुग्रह तथा ज्ञानमा बढ्दै जान सकेका हौं।

२ पत्रुस 3:17-18

'यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्‍ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्‍नो स्‍थिरता नगुमाओ। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।'