परमेश्वरसँग लय मिलाउनु होस् र जीवनलाई मीठो सङ्गीतमा बदल्नुहोस् || Tune with God- Devotion in Nepali language

 परमेश्वरसँग लय मिलाउनु होस् र जीवनलाई मीठो सङ्गीतमा बदल्नुहोस्।  

'हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्‌, तिनिहरूलाई जसका हृदय सोझा छन्‌। ' भजनसंग्रह 125:4


गीत सङ्गीतमा धुन तथा लय मिलेको छ भने सुमधुर हुन्छ र सुनि रहुँ जस्तो  मनमोहक लाग्छ। बजाइएका बाजाहरू तथा गाउने गायकहरूको धुन तथा लय एक अर्कासँग मिलेको छैन भने त्यो सङ्गीत होइन तर हल्ला हुन्छ र  त्यो सुन्नमा झिजो लाग्छ। यसरी सुमधुर सङ्गीत तयार गर्न वाद्यवादकहरूले एक अर्कालाई बुझेको हुनु पर्दछ। आफ्नो बाजा मात्र होइन अरूको धुन पनि पहिचान गरेर सो अनुसार आफ्नो उत्कृष्ट प्रस्तुति दिनु पर्दछ।

हामीले हाम्रो जीवनलाई पनि सङ्गीत जसरी हेर्न सक्छौं, किनभने हाम्रो जीवनमा हामी मात्र नभइ परमेश्वर पनि सक्रिय हुनुहुन्छ। हाम्रो जीवनको ताल जति परमेश्वरसँग मिल्दछ त्यति नै सुमधुर हुँदै जान्छ। हामी परमेश्वरको योजना र चाललाई बेवास्ता गरेर कहिल्यै पनि आनन्दित तथा सन्तुष्ट जीवन यापन गर्न सक्दैनौं। किनभने परमेश्वरको योजना र हाम्रो क्रियाकलाप एक आपसमा बाझिन्छन्, असन्तुष्टि पैदा हुन्छ। हामीले परमेश्वरको योजनालाई पहिचान गरे सो सँग लय मिलाउनु आवश्यक छ किनभने जे परमेश्वरले तयार गर्नुभएको छ त्यो हामीले बनाएका योजनाहरूमा सुन्दर र उत्कृष्ट हुन्छन्। अनि हामीले हाम्रो तर्फबाट गल्तीहरू गरिरहेका हुन्छौं तर परमेश्वरले कहिल्यै गल्ती गर्नुहुन्न।

परमेश्वरसँग लय मिलाउनु हामीले विश्वाससाथ परमेश्वरको योजना र इच्छाको खोजी र चाहना गर्नुपर्छ। जे कुरा परमेश्वरले चाहनु हुन्न सो कुराबाट आफैलाई अलग राखि परमेश्वरसँगको हाम्रो लय बिग्रन दिनुहुँदैन।  किनकी परमेश्वर प्रतिको विश्वास विना हामीले उहाँको नजिक जान र योजनाहरू जान्न सक्दैनौं र सो असम्भव छ।  हिब्रूको पुस्तकमा त्यस्तै लेखिएको छ:

'विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।' हिब्रू 11:6

किनभने परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ जो कोही पनि विश्वास साथ परमेश्वरमा आसा र भरोसा राखेर उहाँको खोजी र चाहना गर्दछ परमेश्वरले उसलाई निरूत्साहित पार्नु हुन्न। त्यसैले हाम्रो जीवनलाई एक सुन्दर सङ्गीत जस्तो बनाउनु हामीले विश्वास साथ परमेश्वरको चाहना र योजनाको खोजी गरौं । परमेश्वरले हामीलाई अवश्य साथ दिनुहुन्छ।

'यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ। ' रोमी 5:1-5