मण्डली (चर्च) के हो? What is a true Church?

 मण्डली (चर्च) के हो?



के चर्च ईसाइहरू धर्म गर्न जाने एउटा भवन वा मन्दिर हो? या के चर्च ईसाई धर्ममा आस्था राख्नेहरूको एउटा संस्था हो? कि चर्च भनेको ईसाइहरू भेला भएर गरिने धार्मिक क्रियाकलाप हो चर्च? वास्तविक चर्च तथा मण्डली के हो? 

एउटा विश्वासी सङ्गतिको दिन बिहान चर्च जान्छु भन्यो भने कहाँ जाने होला? पक्कै पनि मण्डली भवनमा पुग्छ। तर के बाइबलमा मण्डली भनेको उक्त भवन नै हो र? पक्कै पनि होइन। 

बाइबलमा सिकाइएको मण्डली येशू ख्रीष्ट द्वारा परमेश्वरको वचनमा आधारमा बोलाइएको विश्वासीहरूको समुदाय हो। मण्डलीलाई हामीले धेरै पक्षबाट बुझ्नु पर्दछ। स्थानीय मण्डली तथा विश्वव्यापी मण्डली, दृश्य तथा अदृश्य मण्डली आदी। 

मण्डली परमेश्वरको विश्वासीहरू समुदाय भएको कारण कुनै भवन, संस्था तथा कार्यक्रमको रूपमा पहिचान गर्नु गलत हुन्छ। तर परमेश्वरका विश्वासीहरू आफ्नो विश्वासमा बढ्न, सिक्न सिकाउन तथा परमेश्वरको इच्छाको सेवामा लाग्ने क्रममा कुनै भवनमा भेला हुन सक्छन्, कुनै संस्थागत रूपमा सक्रिय हुन सक्छन् त्यस्तै कार्यक्रमहरू पनि गर्न सक्छन्। यी सबै कुराहरू मण्डलीसँग सम्बन्धित विषयमात्र हुन तर मण्डली नै होइनन्। 

नयाँ करारमा चर्चलाई व्यक्त गर्न एक्लेसिया Ecclesia भन्ने शब्द प्रयोग गरिएको थियो यसले ईसाई विश्वासीहरूको समुदाय तथा भेलालाइ नै जनाउँथ्यो। बाइबलमा मण्डलीहरू थिए तर मण्डलीका भवनहरू थिएनन्। पावल जस्ता मण्डली स्थापकहरूले पनि परमेश्वरको विश्वासीहरूको समुदाय निर्माण गर्दै उनीहरूको नियमित भेला स्थापना गरेका थिए। अहिलेको जस्तो चर्चको निम्ति भवन नै उनीहरूको पहिलो प्राथमिकता थिएन। मण्डलीका विश्वासीहरूले आफ्नो ध्यान, तथा शक्ति आराधना, वचन अध्ययन तथा प्रार्थनामा लगाउँथे र मानिसहरू सेवा गर्न तत्पर हुन्थे। 




चर्च मानिसहरूको समुदाय तथा भेला मात्र भयो भने यो कुनै संस्था तथा क्लब भन्दा फरक नहोला तर मण्डलीको पहिचान मानिसको भेलामा सीमित नभएर परमेश्वरको वचनको जगमा उभिएको हुन्छ र यसको मुख्य अगुवा तथा शिर येशू ख्रीष्ट हुनुहुन्छ। पावलले यसरी लेख्दछन्- 

एफिसी 2:19-20,22

'यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ। त्‍यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्‍ट येशू आफैचाहिँ मुख्‍य कुने-ढुङ्गो हुनुहुन्‍छ। अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।'

दृश्य तथा अदृश्य मण्डली

मण्डलीमा भेला हुन आउने सबै साँचो विश्वासी नहुन पनि सक्छन् अर्थात् परमेश्वरसँग साँचो विश्वास द्वारा नजोडिएका पनि हुन सक्छन्। त्यसैले परमेश्वरको साँचो मण्डली अदृश्य परमेश्वरले मात्र देख्नुहुने हुन्छ। ' येशू आफैले भन्नु हुन्छ,  “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्ने छैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।' मत्ती 7:21

तर हामीले यसरी अदृश्य मण्डलीको कुरा गर्दै गर्दा सबै मानिसलाई सङ्काको रूपमा हेर्नु भन्न खोजेको होइन। साँचो र सत्य विश्वासीलाई भेंडा र बाख्रोलाई छुट्याए जसरी प्रभुले न्यायको रूपमा छुट्याउनु हुन्छ। तर दृश्य रूपमा हामीले गर्ने सेवाकाईको लागि प्रभुको नाममा जोडिन आउने सबै मानिसको भेला तथा समुदायलाई मण्डली मानेर सेवाकाई गर्नु महत्वपूर्ण हुन्छ। 

स्थानीय तथा विश्वव्यापी मण्डली 

बाइबलमा धेरै पटक मण्डली भनेर उल्लेख गर्दा स्थानीय रूपमा परमेश्वरको नाउँमा जोडिन आउने विश्वासीहरूको समुदायलाई उल्लेख गरेको पाइन्छ। कति पटक प्रभुको मण्डली भनेर भन्दा विश्वव्यापी रूपमा सबै विश्वासी समुदायलाई उल्लेख गरेको पनि पाइन्छ। 

उदाहरणको लागि, पावलले कोरिन्थीको मण्डलीलाई पत्र लेख्दा उनले एक स्थानीय रूपमा भेला हुने विश्वासीको समूहलाई उल्लेख गरेका थिए। तर मत्ती 16:18मा येशूमा पत्रुसलाई यस चट्टानमा म मेरो मण्डली स्थापना गर्दछु भन्दै गर्दा त्यो पक्कै पनि विश्वव्यापी मण्डलीको कुरा गर्नु भएको हो। येशू ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ भन्दा पनि कुनै एउटा स्थानीय मण्डलीको मात्र कुरा नगरी विश्वव्यापी मण्डलीको कुरा गरेको पाइन्छ।

त्यसैले हामीले स्थानीय मण्डलीमा जोडिँदै गर्दा येशू ख्रीष्टको शिरमा विश्वव्यापी रूपमा एउटा मण्डलीको विभिन्न अङ्गको रूपमा हामी जोडिएका छौं भन्ने जान्नु आवश्यक हुन्छ। मण्डली-मण्डली बीचमा तिक्तता हुनु फरक समुदाय भनेर अरूलाई निषेध गर्नु आदि कार्य स्वस्थ मण्डली होइन भन्ने हामीले जान्नु  पर्दछ। 

साँचो मण्डलीको पहिचानहरू 

1. परमेश्वरको वचनमा आधारित, 

2. मण्डलीको बप्तिस्मा तथा प्रभु भोजको रीतिलाई असल विधिवत् पालना गर्ने 

3. विश्वासिलो रूपमा अनुशासन कायम गर्ने 

4. सुसमाचारमा आफ्नो कार्यक्रमलाई केन्द्रित गर्ने