प्रभुमा आफ्नो जोस पुन: प्राप्त गर्नुहोस् A Devotion

प्रभुमा आफ्नो जोस पुन: प्राप्त गर्नुहोस्



यो १ शमूएल ३० अध्यायमा लिपिबद्ध एउटा घटना हो। जब दाऊद र उनका मानिसहरू घरबाट टाढा थिए, अमालेकीहरूले उनीहरूको सहरमा आक्रमण गरे, उनीहरूका सबै घरहरू जलाइदिए, उनीहरूका पत्नी र छोराछोरीलाई अपहरण गरे र उनीहरूका सारा सम्पत्ति लुटेर लगे। यो दाऊदले अहिलेसम्म भोगेको सबैभन्दा ठूलो पराजय थियो। तर पवित्र शास्त्र भन्छ, त्यो असाध्यै अन्धकारमय समयमा पनि दाऊदले परमप्रभुमा आफूलाई बलियो बनाए। उनले आफ्ना सिपाहीहरूलाई उत्साहित पार्ने र लुटिएका कुराहरू फिर्ता ल्याउन अघि बढ्ने संकल्प गरे। अन्ततः, दाऊदले ठूलो विजय हासिल गरे र हराएको सबै कुरा फिर्ता पाए। त्यति मात्र होइन, उनले अमालेकीहरूका भेडा र गाईवस्तुका ठूला बगालहरू पनि युद्धको लूटको रूपमा कब्जा गरे।

सायद आज तपाईं पनि कुनै कठिन समयबाट गुज्रिरहनु भएको छ। तपाईंले केही कुराहरू गुमाउनु भएको होला—सायद तपाईंको सपना, तपाईंको आनन्द, वा तपाईंको स्वास्थ्य। यो कष्टको समयलाई सकारात्मक दृष्टिकोणका साथ पार गर्नु नै सफलताको साँचो हो। यो कुरामा विश्वास राख्नुहोस् कि परमेश्वरले तपाईंलाई अहिलेको भन्दा महान् कुराको प्रतिज्ञा गर्नुभएको छ। परमेश्वर भन्दै हुनुहुन्छ, “यदि तिमीले आफ्नो हराएको जोस (आगो) फिर्ता पायौ र अगाडि बढ्न थाल्यौ भने, तिमीले गुमाएका सबै कुरा पक्कै पनि पुन: प्राप्त गर्नेछौ। तयार होऊ। सबै कुरा फिर्ता आउँदैछ—तिम्रो स्वास्थ्य, तिम्रा छोराछोरी, तिम्रो आर्थिक अवस्था, तिम्रा सपनाहरू, तिम्रो आनन्द, तिम्रो शान्ति—र त्योभन्दा अझ बढी।”

१ शमूएल ३०:१८-१९ 

अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्‍नीहरूसमेत दाऊदले छुटाए। साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्‍नै निम्‍ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्‍त गरे।