बाइबल अनुसार मण्डलीका अगुवाहरू को हुन? || Elder Bishop -Word Study

 बाइबलमा अनुसार एल्डरहरू तथा विसपहरू को हुन? || Elder Bishop -Word Study



नयाँ करारमा ग्रीक शब्द presbuteros लाई एल्डर भनि उल्था गरेको पाइन्छ, र यही हैसियत तथा जिम्मेवारीमा प्रयोग भएको अर्को ग्रीक शब्द हो episkopos जसलाई विसप भनि उल्था गरिएको छ।

presbuterosको सिधा अर्थ पाको (वृद्ध) व्यक्ति, भन्ने बुझिन्छ, त्यसैले मण्डलीमा विश्वासमा धेरै लामो अनुभव भएको तथा अरूलाई शिक्षा दिन योग्य व्यक्ति भने बुझ्न सकिन्छ।

episkoposको सिधा अर्ध निरिक्षक भन्ने बुझिन्छ अर्थात्, मण्डलीका सदस्यहरूको आत्मिक अवस्थाको वास्ता गर्ने र उनिहरूलाई सहायता गर्ने व्यक्तिको रूपमा चिनिन्छ।

बाइबलमा भएको अर्थ भन्दा फरक रूपमा वर्तमान समयमा मण्डलीहरूको व्यवस्थापन गरिएको पाइन्छ र एल्डर, विसप आदि विशेष पदहरू सृजना गरेर मण्डलीको अगुवाहरूको तह निर्माण गरिएको हुन्छ। विभिन्न तरिकाले व्यवस्थापन गरिने मण्डलीहरूमा विभिन्न नामक पदहरूलाई श्रेष्ठ ठानिन्छ। मेथोडिस्ट, क्याथोलिक आदि चर्चमा विसपलाई उच्च तहको मानिन्छ भने प्रेस्वेटेरियन तथा व्याप्तिस्ट मण्डलीहरू मा प्राय एल्डरको तह उच्च हुन्छ तर बाइबलमा यी दुवै शब्द कुनै अधिकार जमाउन नभइ एउटै (भेडाहरूको हेरचाह गर्ने) जिम्मेवारी निभाउन दिइएको छ। र यो जिम्मेवारी वास्तवमा वर्तमान समयका पास्टरहरूले पुरा गरिरहेको तथा गर्नुपर्ने काम हो। त्यसैले जिम्मेवारीको अर्थमा हेर्ने हो भने बाइबलमा भनेका एल्डर तथा विसपहरू वर्तमान समयका पास्टरहरू हुन्। तलका पदहरूलाई हामीले ग्रीक शब्दहरू प्रयोग भएको आधारमा हेर्दा यसबारे अझ प्रस्ट हुन सक्छौं।

'ख्रीष्‍टका कष्‍टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्‍डरको हैसियतले तिमीहरूमध्‍येका एल्‍डरहरू (presbuteros )लाई म आग्रह गर्दछु। तिमीहरूको रेखदेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ, तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर। र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ।' १ पत्रुस 5:1-4

'तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल (episkopos) बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्नुभएको परमेश्वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।' प्रेरित 20:28

'मण्‍डलीको असल रेखदेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌। किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”' १ तिमोथी 5:17-18

Presbuteros तथा episkopos दुवैलाई परमेश्वरको मण्डलीको रेख देख गर्ने जिम्मा दिइएको पाइन्छ। उदाहरणीय जीवन जिएर विश्वासीहरूको आत्मिक जीवनको वास्ता गर्नु एल्डर तथा विसपहरूलाई दिइएको जिम्मेवारी हो।

नयाँ करारको मण्डलीमा एल्डरहरूलाई विशेष प्रकारले दुई प्रकारको जिम्मेवारीहरू दिइएको पाइन्छ । जस्तो पहिलो रेखदेख गर्ने र दोस्रो वचनको प्रचार गर्ने । प्रेस्वेटेरियन चर्चहरूमा यो कार्यविभाजन प्रस्टसँग गरिएको देखिन्छ कि मण्डलीको व्यवस्थापनको अगुवा एल्डरहरूले गर्दछन् भने वचनको सेवाकाइको अगुवाइ पास्टरहरूले गर्दछन्। तर बाइबलीय शब्दमा वचनको सेवाकाई गर्नेहरूलाइ पनि एल्डर नै भनेर चिन्न सकिन्छ। वर्तमान समयमा मण्डलीको अगुवाइ गर्ने पास्टर भन्ने शब्द बाइबलमा विरलै प्रयोग भएको पाइन्छ।

उदाहरणको लागि एफिसी 4:11मा पावलले यहाँ विभिन्न मण्डलीको जिम्मेवारी सहितका वोलावटको कुरा गर्दा पास्टरलाई समेटेका छन् तर त्यहाँ छुट्टै एल्डर र विसपलाई लेखेका छैनन्।

'अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,' एफिसी 4:11

यसै अर्थमा हामी के दावि गर्न सक्छौं भने नयाँ करारको समय सम्म एल्डर, विसप तथा पास्टरहरूले एकै प्रकारको सेवाहरू गर्ने गर्दथे। त्यहाँ वर्तमान मण्डलीको जस्तै तहगत विभाजन गरेर श्रेणीहरू सृजना गरेको पाइँदैन। एल्डर, विसप तथा पास्टर जे भए पनि उनिहरू सबै परमेश्वरका भेडाका सेवकहरू हुन्। पत्रुस 5:1-4मा लेखिए जस्तै सेवा गर्ने जिम्मेवारी पाएकाहरू हुन्। त्यसैले त्यस सेवाको लागि मण्डलीका सदस्यहरूले उनिहरूको आदर गर्नु पर्दछ, पदको लागि होइन। एल्डर, विसप तथा पास्टरहरूले पनि मानिसहरूलाई सेवा गर्ने कार्यको खोजी गर्नु पर्दछ न कि आफ्नो पदको कारणले मान र इज्जत। त्यसैले येशूले पनि भन्नु भयो कि

'तिमीहरूका बीचमा यस्‍तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्छ। जो तिमीहरूमध्‍ये पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”' मत्ती 20:26-28

x