सबै कुरा बिर्सेर अघि बढौं- Devotion in Nepali

सबै कुरा बिर्सेर अघि बढौं

'भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ' फिलिप्पी 3:13



हामीलाई जीवनमा अघि बढ्न रोक्ने धेरै तत्वहरू हुन्छन्। माथिको पदमा पावलले भने झैं हामीलाई पछि तिर तानेर अघि बढ्न नदिने तत्वहरूलाई छाडेर अघि बढ्न सक्नु पर्दछ। हामीले हाम्रो जीवनमा के भइरहेको र किन भइरहेको छ भन्ने बुझ्न नसकेका घटनाहरूलाई, हाम्रो हृदयमा तिक्तता भरेका नमीठा अनुभवहरूलाई, हामीलाई बारम्बार रिस उठाएका तत्वहरूलाई बिर्सेर, हामीलाई सधैँ निराश बनाउने विगत जीवनका पछुतोहरू, असफलताहरूलाई, अक्षमताहरूलाई भुलेर, हामीलाई दोषि ठहराउने, सानो, कमजोर, अपुग देखाउने संसारमा नाप तौललाई बिर्सेर, हामीलाई बारम्बार गलत बाटो तर्फ हिँड सिकाउने, उक्साउने तथा वाद्य पार्ने सम्बन्धहरूलाई तोडेर अघि बढ्यौं भने मात्र विगत भन्दा नयाँ, असल तथा  सफलताको मार्गमा हामी हिँड्न सक्छौं।

जीवनको हाम्रो हिँडाइमा परमेश्वरलाई अँगाल्दै अघि बढ्नु महत्वपूर्ण हुन्छ किनभने उहाँले हामीलाई आफ्नो स्वरूपमा सर्वोत्कृष्ट रूपमा सृजना गर्नुभयो र उहाँ के सामु हामी सबै भन्दा सुन्दर देखिन्छौं। उहाँले हामीलाई हाम्रो पापबाट धोएर क्षमा गरेर हाम्रो विगतलाई हेरेर होइन तर आफूले तयार गर्नुभएको भविस्यको आधारमा प्रेम गर्नुहुन्छ। उहाँले हाम्रो निम्ति असल कुरा तयार गर्नु भएको छ। हामीले आफै एक्ले गर्न नसक्ने कार्यहरू, पुग्न नसक्ने ठाउँहरूमा उहाँले हामीलाई पुर्याउनुहुन्छ। उहाँको साथमा हाम्रो निम्ति नयाँ ढोकाहरू हाम्रो लागि खोलिन्छन्, नयाँ सम्बन्धहरू निर्माण हुन्छन्, चोट लागेका हृदयका घाउहरू निको हुन्छन्, दोष, ग्लानि तथा पिडाबाट मुक्त हुन्छौं किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ।