बप्तिस्माको विषयमा बाइबलको शिक्षा (पदहरू सहित) || Bible Verses on Baptism

बप्तिस्मा Baptismग्रीक शब्द baptizo बाट आएको हो। यसको अर्थ डुब्नु अर्थात् भिज्नु, भन्ने अर्थ राख्दछ।  



यहाँ विश्वासी भएर आफ्नो विश्वासको चिन्हको रूपमा बप्तिस्मा लिन प्रेरित पत्रुसले आग्रह गरेको देखिन्छ। बप्तिस्मा आफैमा मुक्तिको श्रोत नभए पनि पापको पश्चाताप गरी ख्रीष्टमा विश्वास गरी लिइएको बप्तिस्माले हामीले पाएको मुक्तिको पहिचान गर्दछ। बप्तिस्मा लिनु भनेको विश्वासीको समूह अर्थात् प्रभुको मण्डलीमा सामेल हुनु  अर्थ राख्दछ। 

प्रेरित 2:38-41

 'पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए। '

गलाती 3:27

'किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ। '

वप्तिस्माले हामी विश्वासीहरूको बीचमा तथा परमेश्वरसँग एकता गराउँछ। मानिस मानिस बीचमा कुनै भिन्नता रहँदैन किन भने हाम्रो परमेश्वरको सामु समान हैसियतमा रहन्छाैं। परमेश्वरको सामु हामी सबै समान रूपमा उहाँको सन्तान हुने अधिकार पाएका हुन्छाैं। बप्तिस्मा त्यसै आधारमा हाम्रो परमेश्वरसँग भएको मिलापको चिन्ह हो। 

एफिसी 4:4-6

'शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबै माथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।'

१ कोरिन्थी 12:12-13

'किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ। किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो। '


येशू ख्रीष्टले हाम्रो पापको निम्ति क्रसमा मर्नुभयो र हामीलाइ नयाँ जीवन दिनु मृत्युबाट पुनरूत्थान हुनुभयो। हामीले लिएको बप्तिस्मा त्यही येशूको मृत्यु र पुनरुत्थानलाई हामीले आफ्नो बनाएको पहिचान तथा चिन्ह हो। 

रोमी 6:1-4

'अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त? त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु? के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं? यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं। '

प्रेरित 22:16

'त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’ '

१ पत्रुस 3:18-22

'किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो। यसै आत्‍मामा उहाँ जानुभयो र कैदमा परेका आत्‍माहरूलाई पनि प्रचार गर्नुभयो। ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए। यही पानी बप्‍तिस्‍माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्‍तो होइन, तर शुद्ध विवेकको निम्‍ति परमेश्‍वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा तिमीहरूलाई बचाउँदछ। उहाँ स्‍वर्गमा जानुभयो र स्‍वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्‍छ।'

प्रभुले मण्डलीलाई  विस्तारको लागि दिनु भएको आज्ञा बप्तिस्मा दिनु पनि हो। परमेश्वरको राज्यको प्रचार गर्नु र धेरै मानिसलाई विश्वासमा डोर्याएर आत्मा बचाउने कार्यको रूपमा बप्तिस्मालाइ लिन सकिन्छ।  हामीले लिएको बप्तिस्मा पिता पुत्र तथा पवित्र आत्मा सबैको उपस्थिति छ। 

मत्ती 28:18-19

'तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, '

प्रेरित 1:4-5

'तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्‍तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।” किनभने यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।” '