ब्रम्हाण्ड सृष्टिका विभिन्न स्वरूपहरू



विश्वासीहरूले सारा बम्हाण्डको सृष्टि परमेश्वरले गर्नुभएको भन्नेमा विश्वास गरेता पनि कसरी र कुन समय तालिका वा क्रममा सृजना गर्नुभयो भन्ने धारणामा धेरै नै भिन्नता पाइन्छ।  

बाइबलमा विश्वास गर्ने ख्रीष्टीय विश्वासीहरूको माझ उत्पत्ति १ र २ अध्यायमा भएको सृष्टिको वर्णनकोबारेमा कम्तीमा चारवटा मुख्य व्याख्याहरू पाइन्छन्। व्यक्तिगत रूपमा, हामीलाई पहिलो व्याख्या बाइबल अनुसार सबैभन्दा विश्वसनीय लाग्दछ। तर, प्रेरित पावलले भनेझैं, अहिले हामी अधुरो रूपमा मात्र देख्दछौं, तर एक दिन जब हामी येशूको उपस्थितिमा हुनेछौं, तब सबै कुरा पूर्ण रूपमा बुझ्नेछौं र यी कुराहरूमा हाम्रो पूर्ण सहमति हुनेछ। त्यो दिन नआउन्जेल, हामी सबै मिलेर हाम्रो सृष्टिकर्ता परमेश्वरको आराधना गरौं, र नम्रतापूर्वक यी फरक विचारहरूबारे कुराकानी तथा छलफल गरौं, तर अनावश्यक रूपमा बिभाजन नगरौं।


दृष्टिकोण १: ऐतिहासिक सृष्टिवाद (Historic Creationism)

उत्पत्ति १:१ मा प्रयोग भएको “सुरु/आदि” भन्ने शब्द हिब्रू भाषामा re’shit हो, र यसले पछि हुने कुराहरूको सुरुआत जनाउँछ। यस व्याख्यामा उत्पत्ति १:१ र १:२ बीच कुनै ठूलो अन्तर (gap) छैन। उत्पत्ति १:१ बाटै कथा सुरु हुन्छ र यसले यो देखाउँछ कि सम्पूर्ण सृष्टि गर्ने परमेश्वर नै आफ्नो प्रतिरूपमा मानिसहरू बनाउने र तिनीहरूलाई राख्ने प्रतिज्ञा गरिएको देश पनि बनाउने परमेश्वर हुन्। पहिलो पदमा भएको सृष्टि एक अनिर्दिष्ट समयसम्म अस्तित्वमा रह्यो (यो क्षणभरको वा अर्बौं वर्षको समय हुन सक्छ)। त्यसपछि परमेश्वरले मानिस बस्नयोग्य बनाउन भूमिलाई तयार पार्न थाल्नुभयो। यो तयार पार्ने कार्य र आदाम-हव्वाको सृष्टि २४-२४ घण्टाका वास्तविक छ वटा दिनहरूमा भएको थियो, जस्तो कि प्रस्थान २०:११ मा पनि उल्लेख छ। यस दृष्टिकोणले पुरानो पृथ्वी, तर वास्तविक छ दिनको सृष्टि र मानिसको अपेक्षाकृत नयाँ सृष्टिलाई स्वीकार गर्दछ। तर यसको एउटा चुनौती भनेको सूर्य र चन्द्रमा चौथो दिन मात्रै सिर्जना भएको देखिनु हो।


दृष्टिकोण २: नयाँ पृथ्वी सृष्टिवाद (Young-earth Creationism)

यस दृष्टिकोण अनुसार परमेश्वरले सम्पूर्ण ब्रह्माण्ड, आदाम र हव्वासहित, २४-२४ घण्टाका छवटा वास्तविक दिनहरूमा सिर्जना गर्नुभयो। यो दृष्टिकोण बाइबलको पाठप्रति विश्वासयोग्य रहन खोज्दछ र यसले ब्रह्माण्डको उमेर १०,००० वर्षभन्दा कम भएको मान्दछ। यसले वैज्ञानिक तथ्यहरूलाई  बाइबलको प्रकाशमा बुझ्ने प्रयास गर्दछ र प्राकृतिक विज्ञानका सिद्धान्तहरूसँग सम्झौता गर्न तयार हुँदैन। यद्यपि, यसको चुनौती भनेको पहिलो तीन दिनहरूमा साँझ र बिहान भनिए तापनि सूर्य र चन्द्रमा भने चौथो दिन मात्र सिर्जना भएको हो भनि बाइबलमा लेखिनु हो।


दृष्टिकोण ३: पुरानो पृथ्वी सृष्टिवाद वा बुद्धिमान डिजाइन (Old Earth Creationism / Intelligent Design)

यस दृष्टिकोणमा उत्पत्ति १ मा दिइएका “दिनहरू” परमेश्वरका कार्य दिनहरूका प्रतिक हुन्, जसले हाम्रो काम र विश्रामको तालिका बनाउने उदाहरण दिन्छ। यी दिनहरू यशैया ११:१०-११ मा भनिएको “त्यो दिनमा” जस्तै हो, जसले निश्चित लम्बाइ नभएका कालखण्डहरू जनाउँछ। यी दिनहरूमा परमेश्वरले बिस्तारै पृथ्वीलाई मानिसहरूका लागि तयार पार्नुभयो। यी दिनहरू क्रमबद्ध कालहरू हुन्, तर निश्चित लम्बाइ छैन। तर, बाइबलमा “साँझ र बिहान” भनिएकोले यी वास्तविक २४ घण्टाका दिनहरू हुन् भन्ने धारणा पनि बलियो छ।


दृष्टिकोण ४: साहित्यिक संरचना दृष्टिकोण (Literary Framework View)

यस दृष्टिकोणमा उत्पत्ति १ र २ लाई बिम्बात्मक रूपमा हेर्ने गरिन्छ, जुन सृष्टिको कथा विषयगत (topical) रूपमा लेखिएको हो, न कि समयक्रम अनुसार। यसले उत्पत्ति १ का छवटा दिनहरूलाई २४ घण्टाका दिनहरूको रूपमा होइन, प्रतीकात्मक रूपमा बुझ्छ। यो संरचना यसरी बुझिन्छ:

गठन (Forming)भरिने (Filling)
दिन १: उज्यालो र अन्धकार → दिन ४: सूर्य, चन्द्रमा, तारा
दिन २: आकास र पानी अलग → दिन ५: माछा र चराहरू
दिन ३: स्थली र पानी अलग, बिरुवा → दिन ६: जनावर र मानिस

यो दृष्टिकोणले उत्पत्ति १ र २ लाई काव्यात्मक शैलीमा लेखिएको मान्दछ। यद्यपि, बाइबलले प्रतीकात्मक भाषा प्रयोग गर्दा पनि त्यसले सत्य कुरा नै जनाउँछ भन्ने मान्यताले यो दृष्टिकोणलाई कमजोर तुल्याउँछ।


दृष्टिकोण ५: विकासात्मक सृष्टिवाद (Evolutionary Creation)

यस दृष्टिकोणमा परमेश्वरले सृष्टिको कार्यलाई योजनाबद्ध रूपमा विकासको प्रकृयाबाट पूरा गर्नुभयो। ब्रह्माण्ड पूर्ण रूपमा त्रिएक परमेश्वरको सामर्थ्यमा निर्भर छ। परमेश्वरको बुद्धिमानी योजना प्राकृतिक नियमहरू र जैविक प्रक्रिया मार्फत देखिन्छ, जुन विकास बिना सम्भव हुँदैन। यस अन्तर्गत मानिसहरू अति जटिल मस्तिष्क र चेतनासहित परमेश्वरको प्रतिरूपमा विकसित भए। मानिसहरू पूर्व-मानव पूर्वजहरूबाट क्रमशः विकास भए, र परमेश्वरको प्रतिरूप र पाप बिस्तारै प्रकट भयो। यो दृष्टिकोणले प्रयोगात्मक विज्ञानको प्राकृतिक प्रक्रिया बुझ्ने विधिलाई अंगिकार गर्दछ, तर परमेश्वर र अदृश्य आत्मिक सत्यमाथि विश्वास राख्दछ। यस दृष्टिकोणको बाइबलसम्बन्धी चुनौती भनेको आदाम र हव्वालाई शाब्दिक रूपमा मानिस जातिका आमाबुबा नमान्नु हो, जबकि नयाँ नियममा तिनीहरूलाई शाब्दिक इतिहासको रूपमा लिइएको छ। साथै, उत्पत्ति १:२१, २४, २५ मा भनिएअनुसार “आ-आफ्नो प्रकार अनुसार” बनाएको भन्नाले एक प्रजातिबाट अर्को प्रजातिमा रूपान्तरण हुनु अप्ठ्यारो मानिन्छ।

Read More