बप्तिस्मा- प्रभुको मण्डलीमा जोडिने आधार
बप्तिस्माको अर्थ बाइबलका विभिन्न अंशहरूमा फरक-फरक रूपमा व्यक्त भएको पाइन्छ। बप्तिस्मा मार्फत विश्वासीहरूलाई ख्रीष्टको एउटै शरीर, अर्थात् मण्डलीमा समावेश गरिन्छ (१ कोरिन्थी १२:१३)। ख्रीष्टको शरीरमा सहभागी हुँदै (१ पत्रुस २:५, ९; प्रकाश १:६; ५:१०), बप्तिस्मा लिनेहरू परमेश्वरलाई स्वीकार्य आत्मिक बलिहरू चढाउन सक्षम हुन्छन् र मण्डलीको सार्वजनिक आराधनामा सहभागी हुन नियुक्त गरिन्छन्।
बप्तिस्मालाई “आत्मिक खतना”को रूपमा वर्णन गरिएको छ र यसले नयाँ करारमा सहभागी भएको संकेत गर्दछ (कलस्सी २:११–१२)। यसले पापबाट क्षमा र शुद्धीकरण (प्रेरित २२:१६; १ कोरिन्थी ६:११; एफिसी ५:२६; हिब्रू १०:२२), नयाँ जन्म (यूहन्ना ३:५), र पवित्र आत्माको वरदान (प्रेरित २:३८) को सङ्केत गर्दछ। बप्तिस्माले परिवर्तन (conversion), ख्रीष्टमा नयाँ जीवन, र पापको त्याग माग गर्दछ, जसले नयाँ नैतिक जीवनशैलीतर्फ डोर्याउँछ (१ कोरिन्थी ६:९–११)।
ख्रीष्टियन मण्डलीहरूमा बप्तिस्माको धर्मशास्त्र मुख्यतः दुई आधारभूत पदहरू—रोमी ६:३–४ र मर्कूस १:९–११—बाट प्रभावित भएको छ। पश्चिमी मण्डलीहरूले रोमीको शिक्षाअनुसार बप्तिस्मालाई ख्रीष्टको मृत्यु र पुनरुत्थानमा सहभागी हुने रूपमा बढी जोड दिएका छन्। पानीमा डुबाउने (immersion) क्रियाले ख्रीष्टको मर्नु र पुनरुत्थानलाई जनाउँछ र बप्तिस्मा लिने व्यक्तिको नयाँ जीवन र ख्रीष्टियन पहिचानलाई संकेत गर्दछ।
पूर्वीय मण्डलीहरूले मर्कूस १:९–११ र त्यससँग मिल्ने पदहरूलाई बढी महत्व दिन्छन्। उनीहरू बप्तिस्मालाई यर्दन नदीमा येशूले लिनुभएको बप्तिस्माको पुनःकार्य (reenactment) को रूपमा हेर्छन्। यी पदहरूले बप्तिस्माको आत्मिक (पवित्र आत्मासम्बन्धी) र त्रिएक परमेश्वर —पवित्र आत्माको वरदान र पिता, पुत्र र पवित्र आत्माको उपस्थितिलाई जोड दिन्छन्।
बप्तिस्माको लागि विश्वास आवश्यक हुन्छ, र बप्तिस्माले विश्वासलाई बलियो बनाउँछ। उदाहरणको लागि, प्रेरित २ अध्यायमा पत्रुसको सन्देश स्वीकार गर्नेहरू बप्तिस्मा लिएका थिए। प्रारम्भिक मण्डलीमा दीक्षा प्रक्रियामा त्रिएक परमेश्वर प्रति विश्वासको स्वीकारोक्ति प्रश्न–उत्तरको रूपमा गरिन्थ्यो। जहाँ प्राचीन “क्याटेक्युमेनेट” (catechumenate) अभ्यास पुनःस्थापित गरिएको छ, त्यहाँ बप्तिस्माका उम्मेदवारहरूले विश्वासमा वृद्धि गर्ने अवसर पाउँछन्। “वयस्कहरूको ख्रीष्टियन दीक्षा विधि” (Rite of Christian Initiation of Adults) ले वयस्क बप्तिस्मालाई बप्तिस्माको धर्मशास्त्र बुझ्नको लागि महत्वपूर्ण बनाएको छ।
बालबप्तिस्मा गर्ने र विश्वास गरेपछि मात्र बप्तिस्मा गर्ने समूहहरूबीच मुख्य भिन्नता विश्वासको स्थानमा हो। ब्याप्टिस्टहरू र अनाब्याप्टिस्ट परम्पराबाट आएका समूहहरूले बप्तिस्मा लिने व्यक्तिले आफ्नै व्यक्तिगत विश्वास स्वीकार गर्नुपर्ने मान्यता राख्छन्। रोमी क्याथोलिक तथा अन्य धेरै परम्पराहरूमा भने अभिभावकहरूले बालकको तर्फबाट विश्वास व्यक्त गर्छन्। बालबप्तिस्मामा मण्डलीको विश्वास पहिले आउँछ, जसले देखाउँछ कि बप्तिस्मा मार्फत सबैलाई विश्वासको समुदायमा स्वागत गरिन्छ। यसले पनि देखाउँछ कि सुसमाचार प्रचार र शिक्षा व्यक्तिगत विश्वासको स्वीकृतिसँगै हुनुपर्छ, र विश्वास अन्ततः परमेश्वरको काम हो।
बालबप्तिस्माको अभ्यास दोस्रो शताब्दीको अन्त्यतिर देखिएको हो। यसको समर्थनमा घरपरिवारका सदस्यहरूको बप्तिस्मा (प्रेरित १६:१५, ३३; १ कोरिन्थी १:१६), यूहन्ना ३:३ को शाब्दिक व्याख्या, त्यस समयमा उच्च मृत्युदर, र सेप्रियनले आदमको पाप बप्तिस्माद्वारा क्षमा हुन्छ भनेको कुरा उल्लेख गरिन्छ। साथै, अगस्टिनले रोमी ५:१२–२१ को आधारमा मूल पापको शिक्षा विकास गरे, जसले पेलाजियन शिक्षाको विरोध गर्यो।
स्विस ब्रेथ्रेन (अनाब्याप्टिस्ट) ले बप्तिस्मालाई “पश्चात्ताप र जीवनको सुधार” को सार्वजनिक स्वीकारोक्ति मान्छन्—त्यस्ता मानिसहरूका लागि बप्तिस्मा दिइनु पर्छ जसले ख्रीष्टद्वारा आफ्ना पापहरू हटाइएका छन् भन्ने साँचो विश्वास गर्छन् (Schleitheim Confession, 1527)। अन्य समूहहरूले पनि यस्तै विश्वास राख्छन्। उदाहरणका लागि, ब्याप्टिस्टहरूले बप्तिस्मालाई स्वेच्छिक रूपमा गरिने सार्वजनिक विश्वासको स्वीकार मान्छन्, जसका लागि बप्तिस्मा लिने व्यक्ति विश्वासमा परिपक्क हुनुपर्छ।
मण्डलीका विधिहरू—बप्तिस्मा, प्रभुभोज (Eucharist), र सेवाकाइ—बीचको एकता अझ बढी बुझ्न आवश्यक छ। “Baptism, Eucharist and Ministry” दस्तावेज अनुसार, “ख्रीष्टको मृत्यु र पुनरुत्थानमा सहभागी हुनु पवित्र आत्मा प्राप्तिसँग अविभाज्य रूपमा जोडिएको छ।” बप्तिस्मा र प्रभुभोज दुवैले एउटै रहस्य—ख्रीष्टको मृत्यु र पुनरुत्थान—लाई मनाउँछन्। बप्तिस्मा एक पटक मात्र हुन्छ, तर प्रभुभोजले ख्रीष्टको एकपटकको बलिदानलाई बारम्बार स्मरण गराउँछ र हामीलाई ख्रीष्टको शरीरको रूपमा एक बनाउँछ (१ कोरिन्थी १०:१६–१७)।
बप्तिस्मा एउटै भएतापनि (एफिसी ४:४–६), विभिन्न मण्डलीहरूबीच यसको पारस्परिक मान्यता अझै चुनौतीको विषय बनेको छ। पानी र त्रिएक परमेश्वरको नाममा गरिएको बप्तिस्मा ख्रीष्टियनहरूबीच केही हदसम्म एकताको आधार हो। तर बप्तिस्मा संस्कार हो कि होइन, र व्यक्तिगत विश्वासको स्वीकृतिअवश्यक छ कि छैन भन्ने विवादहरू अझै रहन्छन्। केही समूहहरूले बालबप्तिस्मालाई मान्दैनन्।
अन्ततः, बप्तिस्मा ख्रीष्टियन एकताको महत्वपूर्ण आधार भए तापनि, यसको मण्डलीगत पक्षलाई पर्याप्त ध्यान दिइएको छैन। हामी सबै ख्रीष्टको एउटै मण्डलीमा बप्तिस्मा लिन्छौं, तर व्यवहारमा हामी विभिन्न मण्डलीहरूमा विभाजित छौं। बप्तिस्मा दोहोर्याउन नहुने कार्य भएकाले, पुनःबप्तिस्मा जस्तो देखिने कुनै अभ्यासबाट टाढा रहनु आवश्यक छ।
