यरूशलेम शहरको - इतिहास तथा महत्त्व
परिचय बाइबलका ठाउँहरू मध्ये सबैभन्दा प्रसिद्ध, ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण सहर येरूशलेम हो। प्राचीन कालदेखि नै यो सहर आध्यात्मिक, राजनीतिक र सांस्कृतिक केन्द्रको रूपमा स्थापित रहँदै आएको छ। इतिहासको हरेक मोडमा उतारचढाव भोग्दै आएको यो सहर आज पनि विश्वभरका मानिसहरूका लागि आस्था र आकर्षणको केन्द्र रहेको छ।
बाइबलमा येरूशलेमको उल्लेख राजा दाउदले यस शहरलाइ सदरमुकाम घोषणा गर्नु भन्दा अघि देखि नै भएको पाइन्छ। उत्पत्ति १४:१८ अनुसार, अब्रामले "सालेमका राजा" मेल्किसेदेकलाई भेटेर उपहार दिएका थिए; यो "सालेम" सहर नै सम्भवतः प्राचीन येरूशलेम थियो। पछि जब इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा विजय प्राप्त गरे, बिन्यामीनको कुललाई येरूशलेम समावेश भएको क्षेत्र तोकिएको थियो। तर उनीहरूले यस शहरलाइ पूर्ण रूपमा कब्जा गर्न सफल भएका थिएनन्। अन्ततः राजा दाऊदको पालामा मात्र येरूशलेम हिब्रू(इस्राएली)हरू को आधिकारिक क्षेत्र बन्यो (२ शमूएल ५:६-७)।
राजा दाऊदले येरूशलेमलाई आफ्नो राष्ट्रको राजधानी बनाए। उनले परमप्रभुको करारको सन्दुक त्यहाँ ल्याएर एउटा उपयुक्त पाल टाँगे र सन्दुक राख्नका लागि एउटा भव्य मन्दिर बनाउने योजना तयार गरे। दाऊदको यो योजनालाई उनका छोरा राजा सुलेमानले पूर्णता दिए (२ शमूएल ७:१२-१६; १ राजा ५-६)।
सुलेमानको स्वर्ण युग र मन्दिरको वैभव
येरूशलेम शहर र मन्दिरको इतिहासमा सबैभन्दा महान् र वैभवशाली युग राजा सुलेमानको शासनकाल थियो। उनको समयमा येरूशलेम इस्राएल देशको प्रमुख पहिचान स्थल बन्यो भने त्यहाँको मन्दिर विश्वभर प्रसिद्ध भयो। विदेशी शासकहरू, जस्तै इजिप्टकी फारोकी छोरी (१ राजा ३:१) र शेबाकी रानी (१ राजा १०:१-२) ले पनि येरूशलेम भ्रमण गरी यस सहरको वैभव देखेका थिए।
जबसम्म देशका अगुवा तथा नेताहरूले परमप्रभुको आराधना गरे र उहाँमा भरोसा राखे, तबसम्म येरूशलेम शहर परमेश्वरको सुरक्षामा रह्यो। उदाहरणका लागि, जब विशाल सेनाले यसलाई नष्ट गर्ने प्रयास गर्यो, तब परमेश्वरको चमत्कारद्वारा अश्शूरको सेना नष्ट भएको थियो (२ राजा १९:३५-३७)। तर पछि राजाहरूले मन्दिर र सहर दुवैलाई बेवास्ता गर्न थाले, र यस शहरको पतन पनि सुरूभयो ।
पतन, दासत्व र पुनर्निर्माण
ईसापूर्व ५८७ मा बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरी येरूशलेम शहर कब्जा गरे र यहाँका बासिन्दाहरूलाई दास बनाएर लगे। २ राजा २४:१०-१७ मा वर्णन गरिए अनुसार, सहरका महँगा खजानाहरू र बहुमूल्य कला तथा वास्तुकलाका कार्यहरू गर्ने थुप्रै कुशल शिल्पकारहरूलाई बेबिलोन लगियो।
लगभग ५० वर्षसम्म येरूशलेम उजाड रह्यो। तर ई.पू.५३७ मा जेरुबाबेल र लगभग ५०,००० अनुयायीहरूलाई लिएर येरूशलेम फर्कने र सहरको पुनर्निर्माण सुरु गर्ने अनुमति प्राप्त गरे (एज्रा २:६४-६५; ३:८)। पछि नहेम्याहले लगभग ई.पू. ४४४ मा यस्रूशलेमका पर्खालहरू पुनर्निर्माण गरे (नहेम्याह ६:१५)। बिस्तारै यहुदीहरू दासत्वबाट फर्केर आफ्नो सहरका अन्य भागहरूको निर्माणमा जुटे।
विदेशी शासन, मक्काबी विद्रोह र रोमन काल
समयसँगै विश्वमा अन्य शक्तिशाली साम्राज्यहरूको उदय भयो—जस्तै ग्रीसका अलेक्ज्यान्डर द ग्रेट, इजिप्टियन र पर्सियनहरू। ई.पू. १९८ मा येरूशलेम सेल्यूसिड(सिरिया) साम्राज्यको भाग बन्यो। तर इस्राएलका नायक जुडास मक्काबीले ई.पू.१६५ मा सहरलाई पुन: कब्जा गरी मन्दिरलाई शुद्ध तुल्याए।
ई.पू. ६३ मा रोमन सेनाहरू प्यालेस्टाइनमा प्रवेश गरे र येरूशलेम कब्जा गरे, जसले जेरुबाबेलले पुनर्निर्माण गरेका कामहरूमा क्षति पुर्यायो। पछि ई.पू. ३७ मा हेरोद द ग्रेटले ठूलो स्तरमा मन्दिरको पुनर्निर्माण सुरु गरे। यो काम यति जटिल र दीर्घकालीन थियो कि येशू बालकको रूपमा मन्दिरमा लगिँदा पनि निर्माण कार्य पूर्ण भइसकेको थिएन (लूका २:२१-३९)। बाइबलमा येरूशलेमको उल्लेखहुन बन्द तब भयो जब रोमन सम्राट टाइटसले सन् ७० मा येरूशलेम सहर र मन्दिरलाई पूर्ण रूपमा नष्ट गरे।
बाइबलमा येरूशलेमका नामहरू र यसको आत्मिक महत्त्व
यस संकटपूर्ण इतिहासका बाबजुद येरूशलेम सधैँ यहूदी जनताको दृढ प्रतीकको रूपमा उभिरह्यो। यसलाई "सियोन" पनि भनिन्छ (जसले वास्तवमा येरूशलेम वरपरका पहाडहरूमध्ये एउटालाई बुझाउँछ)।
बाइबलमा यस सहरलाई विभिन्न सम्मानजनक नामहरू दिइएको छ:
- दाऊदको सहर (२ शमूएल ५:७)
- परमेश्वरको सहर (भजनसंग्रह ४६:४)
- सत्यको सहर (जकरिया ८:३)
- पवित्र सहर (नहेम्याह ११:१)
- परमप्रभुको सिंहासन (यिर्मयाह ३:१७)
ख्रीष्टियन विश्वासमा येरूशलेम
नयाँ करार अनुसार, प्रभु येशूले यस संसारमा गर्नुभएको मुख्य सेवा यही सहरमा भएको थियो। पाम सन्डे (खजुरको आइतवार) का दिन येरूशलेम सहरमा उहाँको भव्य प्रवेश, माथिल्लो कोठामा चेलाहरूसँग गर्नुभएको अन्तिम भोजन, उहाँको परीक्षा, क्रूसको मृत्यु र पुनरुत्थानपछिका दर्शनहरू (लूका २४:३३ff) सबै यस्रूशलेमसँग जोडिएका छन्।
हिब्रू र प्रकाशको पुस्तकमा येरूशलेमले ख्रीष्टियनहरूको भविष्यको आशालाई प्रतीक गर्दछ। स्वर्गलाई "नयाँ यस्रूशलेमयेरूशलेम" (प्रकाश २१:२) भनिएको छ, जसले अनन्त जीवनको सुन्दरता, महिमा र पूर्णतालाई दर्शाउँछ (हिब्रू १२:२२; प्रकाश २१:१०; २२:१९)।
निष्कर्ष
आज पनि येरूशलेम ऐतिहासिक अध्ययन र अन्तर्राष्ट्रिय नीतिको केन्द्रविन्दु बनेको छ। विश्वका तीन प्रमुख धर्महरू—इस्लाम, यहूदी धर्म र ख्रीष्टियन धर्म—सबैले यसलाई आफ्नो आस्थाको पवित्र सहरको रूपमा मान्दछन्। हजारौँ वर्षको इतिहास, युद्ध र पुनर्निर्माणको अनुभव बोकेको येरूशलेम केवल ढुङ्गा र माटोको सहर मात्र नभई सम्पूर्ण मानव जातिको धार्मिक र आध्यात्मिक आस्थाको जीवन्त प्रतीक हो।
