परमेश्वरको महिमाको खातिर मानिसका ७ कदमहरू! | Our Seven Steps for God’s Glory

परमेश्वरको महिमाको खातिर मानिसका ७ कदमहरू! |
Our Seven Steps for God’s Glory



वर्तमान समयमा मानिसले आफैले आफूलाई उचाल्ने प्रयास गरेको हामी देख्छौं। बिहान उठे देखी बेलुकी सम्म हामीले हामीलाई विभिन्न इन्टरनेटका माध्यमहरूमा आफ्नो प्रचार गर्न व्यस्त हुन्छौं। फेसबुक, इन्स्टाग्राम जस्ता विभिन्न सामाजिक सञ्जालद्वारा आफूलाई मानिसको सामु राख्ने प्रयास गर्छौं। कतिपय समयमा त परमेश्वरसँग गरिएको सङ्गति, सेवाकाई पनि जब सम्म त्यसको प्रचार गरिँदैन र मानिसलाई थाहा दिइन्न यो सफल भएको नै मानिन्न। एक प्रकारले परमेश्वरको सेवाकाई गरिरहेको छु भनेर हामी आफ्नै प्रचारमा लागेका हुन्छौं। 
वास्तवमा परमेश्वरले हामीलाई हाम्रो आफ्नै भन्दा पनि परमेश्वरको महिमाको खातिर बोलाउनुभएको हो। बाइबल धर्मशास्त्रले सबै भन्दा माथि परमेश्वर राखिनु पर्छ भन्ने सिकाउँछ, किनभने सबै थोक उहाँद्वारा बनिए र उहाँमा नै अडिएर रहेका छन्। उहाँको शक्ति र इच्छा बिना केही पनि अस्तित्वमा रहँदैन। त्यसले हामीले परमेश्वरको महिमाको सट्टा आफ्नो महिमाको चाहना र खोजी गर्नु हाम्रो जीवनमा भएको वास्तविक परमेश्वरको इच्छालाई नबुझ्नू हो। 
तल उल्लेख ७ कदमहरूद्वारा हामीले परमेश्वरको गर्न सक्छौं। 

1. परमेश्वरको आराधना 

संसार र संसारमा भएका थोकहरूमा होइन तर वास्तविकतामा परमेश्वरको खोजी तथा आराधना गरिनु पर्दछ। त्यसैले भौतिकता भन्दा फरक आत्मा र सत्यतामा हुनुहुने परमेश्वरको महिमा र सेवा पनि भौतिक विधि तथा माध्ययमा होइन तर आत्मा र सत्यतामा गरिनु पर्दछ। भौतिकरूपमा मात्र परमेश्वरको खोजी र महिमा गर्नु मूर्तिपूजा जस्तै हो। 
यूहन्‍ना 4:23-24
'तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ। परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।” '

2. परमेश्वरमा विश्वास राख्नु

परमेश्वरलाई नचिनि उहाँमा भरोसा नगरी परमेश्वरको मार्गमा हिँड्न असम्भव छ। परमेश्वरले पनि तिनै व्यक्तिहरूसँग रमाउनुहुन्छ जसले आफ्नो जीवनका हरेक कुराको लागि उहाँमा भरोसा गरेका छन्। हामीले परमेश्वरलाई मान्नु र आस्था राख्नु मात्र विश्वास नभइ जीवन हरेक परिस्थितिमा परमेश्वरमा आसा र भरोसा राखेर उहाँको मार्गमा हिँड्नु असल र वलियो विश्वास हो। 
हिब्रू 11:6
'विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ। '

3. येशूको अनुसरण गर्नु 

मानिस आफैले परमेश्वरले चाहनु भएको जीवनशैलि पहिचान गरेर सो मार्गमा हिँड्न असम्भव नै छ। तर हामीले परमेश्वरको मार्ग पहिचान गर्न सकौं भनेर ख्रीष्ट येशूले संसारमा मानवीय जीवनको उदाहरण प्रदान गर्नु भएको छ। हामीले येशूले मार्गमा हिँड्यौं भने हामी द्वारा परमेश्वरको महिमा हुन्छ। 
१ पत्रुस 2:21
'किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ। '

4. प्रेम प्रदर्शन गर्नु

हामीले परमेश्वरलाई प्रेम गरिँरहँदा परमेश्वरले हामीहरू द्वारा अरू मानिसलाई पनि प्रेम भएको चाहानुहुन्छ। येशूले देखाउनुभएको उदाहरण मध्ये एक उहाँले संसारलाई गर्नु भएको प्रेम पनि हो। जब हामीले परमेश्वरमा विश्वास गरि अरूलाई उहाँमा प्रेम गर्दै जान्छौं परमेश्वर हामीबाट महिमित हुनुहुन्छ। हामीले एक अर्कालाई गरेको प्रेम द्वारा मानिसको सामु परमेश्वरको गवाही दिएका हुन्छौं। उहाँको प्रेमको वखान हुन्छ र उहाँको महिमा हुन्छ। 
यूहन्‍ना 13:34-35
' “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” '

5. गवाही दिनु 

हामी आफूले व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्ने मात्र उहाँको यो जना होइन। परमेश्वरले हामीले जस्तै अरूले पनि उहाँमा विश्वास गरेर अनन्त जीवन पाएको चाहनु हुन्छ। त्यसको लागि हामीले उहाँले हाम्रो जीवनमा ल्याउनुभएको आशीषको बारेमा मानिसहरूलाई जानकारी दिनु अति जरुरी हुन्छ। हामीले परमेश्वरको बारेमा अरू लाई भन्न नसक्नू उहाँको महिमा गर्न नसक्नू जस्तै हो। जति हामीले अरू मानिसको सामु परमेश्वरको गवाही दिन्छौं त्यति नै परमेश्वर हामीमा प्रशन्न हुनुहुन्छ।
२ कोरिन्थी 4:15
'किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्‍दा धेरै मानिसहरूमा फैलिँदैजान्‍छ, त्‍यसरी नै परमेश्‍वरका महिमाको निम्‍ति धन्‍यवाद दिने काम पनि बढ्‌दैजाओस्‌। '

6. शुद्धताको मार्गमा हिँड्नु 

हामीले परमेश्वरमा विश्वास गर्नु भनेको अब हामी परमेश्वरको हुनु जस्तै हो। येशूको रगतद्वारा हामीलाई पापको दासत्वबाट परमेश्वरले मुल्य चुकाएर आफ्नो बनाउनु भएको छ। त्यसैले यस जीवनमा हामीले हाम्रो पहिलेको जस्तै पापकोमार्गमा हिँडि रहन मिल्दैन। यसबाट उहाँले चुकाउनुभएको मूल्यको अनादर हुन्छ। हामीले परमेश्वरको धार्मिकता तथा सत्यता सुहाँउदो शुद्धताको मार्गमा आफूलाई हिँडाउन आवश्यक देखिन्छ। यसरी हाम्रो जीवनबाट परमेश्वरको महिमा गरेका हुन्छौं। 
१ कोरिन्थी 6:19-20
'तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ। तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।'


7. परमेश्वरमा आशा र प्रतिक्षा गर्नु

हामीले परमेश्वरमा राखेको विश्वास वर्तमान समयको लागि तथा यसै जीवनमा सीमित रहन होइन तर हामीले परमेश्वरको राज्यको प्रतिक्षा गरिरहेका हुन्छौं। हामीले परमेश्वरबाट चाहेको पाउनु पर्ने कुरा यसै संसारमा सीमित छ भने हामीले परमेश्वरको महिमालाई धेरै नै सानो बनाएका छौं। वास्तवमा हामीले आज यस संसारमा पाउन सक्ने तथा पाएका कुराहरू जे हामीले परमेश्वरको राज्यमा प्राप्त गर्दछौं, त्यसको दाँजोमा केही पनि होइन। हामीले संसारको थोकको नभइ स्वर्गको प्रतिक्षा गरेर परमेश्वरमा महिमा चढाउन सकेका हौं।
रोमी 8:24-25
'किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं। '