परमेश्वरलाई हेरेर आफैलाई चिनौं | Pabitra Mani Bhandari|

परमेश्वरलाई हेरेर आफैलाई चिनौं


मानिसले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई चिन्ने क्रममा आफैलाई राम्रो सँग चिन्न सक्छ। संसारका विभिन्न कुराहरूले हाम्रो पहिचान निर्माण गर्ने गर्छन् तर परमेश्वर नै हुनुहुन्छ जसबाट हामीले हाम्रो सहि पहिचान प्राप्त गर्न सक्छौं, किनभने उहाँले नै हामीलाई आफ्नो स्वरूपमा बनाउनुभयो।

'यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनिहरूलाई सृष्टि गर्नुभयो।' उत्पत्ति 1:27

हामी उहाँको स्वरूपमा बनाइएको कारण हाम्रो आत्मिक, मानसिक, बौद्धिक क्षमताहरूले उहाँको स्वरूपको प्रतिविम्ब गरेका हुन्छन्। त्यसैकारण हामीले आफूलाई सहि रूपमा पहिचान गर्न परमेश्वरलाई जानेको हुनुपर्छ। परमेश्वरलाई मानिसले उहाँ आफैले प्रकट गर्नुभएको माध्यम बाहेक जान्न सक्दैन। परमेश्वर आफै मानिसले भेट्न, जान्न सकिने हुनुहुन्न तर उहाँले हामी द्वारा भेटिएको र जानिएको र सम्बन्ध राखिएको चाहनुहुन्छ र आफैलाई हाम्रो सामु प्रकट गर्नुहुन्छ। परमेश्वर आफैले निम्न विधि द्वारा प्रकट गर्नुहुन्छ।

1.      परमेश्वरले आफूलाई आफ्नो सृष्टि द्वारा प्रकट गर्नु हुन्छ।

संसारले अलौकिक तथा बृहतता तथा सुन्दरताले साँच्चै नै यस संसार बनाउने परमेश्वर महान् हुनुहुन्छ भन्ने दर्साउँछ । किनभने सृष्टिका सम्पूर्ण कुराहरू उद्देश्य राखेर असल तरिकाले बनाइएका छन्। जस्तो बाइबलले लेख्दछ।

'उहाँको अदृश्य गुण, अर्थात्‌ उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।' रोमी 1:20

'आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्‌, र हरेक रात तिनिहरूले ज्ञानको प्रदर्शन गर्छन्‌। कुनै बोली छैन, न भाषा छ, जहाँ तिनिहरूको सोर सुनिँदैन। तिनिहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनिहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।' भजनसंग्रह 19:1-4

2.      परमेश्वरले आफैलाई मानिसको विवेक भित्र प्रकट गर्नु हुन्छ।

परमेश्वरले यस भौतिक संसारलाई मात्र अचम्म तरिकाले बनाउनुभएको होइन तर हामी मानिसलाई पनि अचम्मको बनाउनुभएको छ। हाम्रो शरीर अचम्मले बनेको छ यसको साथै हाम्रो सोचाइमा पनि परमेश्वरले विवेक राखि दिनुभएको छ जसको कारण मानिसले नैतिक र अनैतिक कुराहरूको पहिचान गर्दछ। हामीलाई असल र खराबको ज्ञान परमेश्वरले नै दिनुहुन्छ।

'किनकी व्यवस्था नहुने अन्‍यजातिहरू स्‍वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन्‌ भने, तिनिहरूको व्यवस्था नभए तापनि तिनिहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्‍छन्‌। व्‍यवस्‍थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनिहरू देखाउँछन्, र तिनिहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनिहरूका विचारहरूले कहिले तिनिहरूलाई दोष्‍याउँछन्, र कहिले समर्थन गर्छन्‌।' रोमी 2:14-15

3.      परमेश्वरले आफैलाई येशू ख्रीष्टको व्यक्तित्वद्वारा देखाउनुभएको छ।

येशू ख्रीष्ट यस संसारमा परमेश्वरको वास्तविक स्वरूप, योजना तथा गुणहरू मानिसको सामु प्रकट गर्न आउनुभयो । येशूमा हामीले परमेश्वरको कस्तो हुनुहुन्छ भन्ने जानकारी मात्र प्राप्त गर्दैनौं तर उहाँ द्वारा परमेश्वरसँग वास्तविक सम्बन्ध स्थापना गरेर जीवनमा परमेश्वरको स्वरूपमा परिवर्तन गर्न सक्छौं। येशूले परमेश्वरको महानता, शक्तिको साथै उहाँको मानिस प्रतिको प्रेम, धार्मिकता तथा न्यायलाई पनि देखाउनुभएको छ। जसलाई बुझेर मानिसले आफूलाई जाँच्न सक्छ।

'उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो।' हिब्रू 1:3

'किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो।' १ पत्रुस 3:18

4.      परमेश्वरले आफैलाई धर्मशास्त्रमा प्रकट गर्नुभएको छ।

लिखित वचनको रूपमा परमेश्वरले आफ्ना मानिसहरूद्वारा लेख्न प्रेरित गरेर हाम्रो लागि धर्मशास्त्र उपलब्ध गराउनुभएको छ। परमेश्वरको वचनबाट मानिसले आफूलाई सबै भन्दा असल तरिकाले जान्न सकिने श्रोत उहाँले दिनुभएको धर्मशास्त्र भएको छ। परमेश्वरको योजनामा मानिसको जीवन कति ठीक छ र कति बेठीक छ अनि कसरी सहि मार्गमा हिँडाउन सकिन्छ सबै जानकारी बाइबल धर्मशास्त्रमा दिइएको छ।

'सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्‌।' २ तिमोथी 3:16-17

परमेश्वरले हामीलाई विभिन्न तरिकाले आफ्नो उपस्थिति, गुण, योजना आदिको जानकारी दिइ राख्नुभएको देखिन्छ। वास्तवमा येशूको व्यक्तित्वबाट हामीलाई आफ्नो सम्बन्धमा राख्ने बाटो पनि तयार गर्नुभएको छ। यसरी नै परमेश्वरलाई चिन्दै उक्त ज्ञानद्वारा आफ्नो जीवनलाई सहि मार्गमा हिँडाउन सकेका हौं।