नेपालमा ख्रीष्टियन विश्वास र राजनीति- Christian Faith and Politics in Nepal

 नेपालमा ख्रीष्टियन विश्वास र राजनीति




नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो, तर यहाँको समाज गहिरो रूपमा धार्मिक छ। २०१५ को संविधानले धार्मिक स्वतन्त्रता सुनिश्चित गरे तापनि धर्म परिवर्तन विरोधी कानुनहरूले ख्रीष्टियन विश्वासीहरूका लागि त्रासदीपूर्ण वातावरण सिर्जना गरेको छ। यस्तो अवस्थामा ख्रीष्टियन नेताहरू—विशेष गरी पास्टरहरू—ले गम्भीर प्रश्नहरूको सामना गर्नुपर्छ: के चर्चले भ्रष्टाचार, जातीय भेदभाव, वा धर्म स्वतन्त्रताको विषयमा बोल्नु मिल्छ कि मिल्दैन? चुनावका बेला पास्टरहरूले राजनीतिक विषयमा बोल्नु हुन्छ कि हुँदैन? कतिपय अवस्थामा पास्टरहरू नै सक्रिय राजनितिमा जान आतुर देखिन्छन्, के पास्टरले राजनितिय चुनावमा सहभागी हुन सक्छ? यी प्रश्नहरू केवल वैचारिक होइनन्, यी व्यावहारिक छन्, र बाइबलले हामीलाई समाजको "नून र ज्योति" (मत्ती ५:१३–१६) बन्न भनेर दिएको निर्देशन सँग गाँसिएका छन्।


बाइबलीय दृष्टिकोण: एक उत्तरदायी राजनितिक सहभागिता

प्रभु येशूले रोमी साम्राज्यको अधिनमा जीवन बिताउनुभयो—जहाँ नागरिकहरूलाई मतदान गर्ने अधिकार थिएन। तर उहाँलेकैसरको कुरा कैसरलाई, र परमेश्वरको कुरा परमेश्वरलाई देऊ” (मार्क १२:१७) भन्नेर सिकाउनुभयो र यो आफैमा राजनितिसँग जोडिएको विषय थियो। त्यसैले ख्रीष्टियनहरूले  धार्मिक दायित्व मात्र होइन, नागरिकको जिम्मेवारी पनि बोक्नुपर्छ भन्ने कुरा येशूले त्यस निर्देशनबाट प्रस्ट हुन्छ।

नेपालमा विद्यमान भ्रष्टाचार, जातीय विभेद, वा महिला हिंसा आदि परमेश्वरको वचन र बाइबलको शिक्षा विपरीत भएको कारण यसको विरुद्धमा नेपाली ख्रीष्टियन समाजले बोल्नु पर्दछ भन्ने आवाजहरू पनि छन्। विशेष गरी नेपालको सन्दर्भमा ईसाईहरूले नीतिगत र व्यवहारीक रूपमा भोगेको पक्षपात र अन्यायबाट छुटकरा पाउन ईसाईहरूले राजनिति गर्नु पर्दछ भन्ने गरेको सुनिन्छ।

जस्तै, पास्टर डेनियल डार्लिङ भन्छन्, “प्रभुले हामीलाई वर्तमान समय मा जुन देशमा राख्नु भएको छ त्यो संयोग होइन।” यसको अर्थ परमेश्वरको योजनामा नै हामी हाम्रो समाजमा छौं र यस प्रति हाम्रो उत्तरदायित्व रहन्छ। तर त्यस उत्तरदायित्व वहन गर्न सबै सक्रिय राजनीतिमा उम्मेदवार बन्नु पर्दैन, तर हामी सत्य र न्याय प्रवर्द्धन गर्न ख्रीष्टियनको हैसियतले आवाज उठाउन सक्छौं। शिक्षाहरू दिएर, न्याय र सत्यको पक्षमा उभिएर हामीले हाम्रो समाज प्रतिको उत्तर दायित्व निर्वाह गर्न सक्छौं।


पास्टरको भूमिका: दलीय राजनीति नभइ सुसमाचार को सेवाकाई,

नेपालको जस्तो संवेदनशील परिवेशमा, पास्टरहरूको प्रमुख जिम्मेवारी भनेको सुसमाचार प्रचार र विश्वासीहरूको आत्मिक अगुवाइ गर्नु हो। पास्टर एरिक कोस्टान्जो भन्छन्, “हामी ख्रीष्टका गोठालाहरू हौं, राजनैतिक कार्यकर्ता होइनौं।” तर सुसमाचार आफैं राजनीतिक छ, किनकि यसले हाम्रो जीवनशैली, मूल्य, र निर्णयहरूलाई निर्देश गर्छ। यसले हामीलाई जे साँचो छ त्यसको पक्षमा उभिनको निम्ति बोलावट दिन्छ। दुःखीहरूको पक्षमा बोल्न स उभिन यसले हामीलाई अह्राउँछ। नेपालको सन्दर्भमा चर्चले जातीय भेदभाव, भ्रष्टाचार, हिंसा, र धार्मिक स्वतन्त्रता जस्ता मुद्दामा बाइबलीय सत्यहरू घोषणा गर्नुपर्छ। तर दलगत दृष्टिकोण लिएर नभइ निष्पक्षता र आत्मिक दृष्टिकोणले यी मुद्दाहरूमा आफ्नो सहभागिता राख्न सक्नु पर्दछ। जस्तो डार्लिङ भन्छन्, “पास्टरहरूले प्रभु यसो भन्नुहुन्छ’ भनेर स्पष्ट रूपमा बाइबलको शिक्षा दिन सक्नु पर्दछ भन्नुपर्छ, तर दलले के भन्छ भनेर होइन।” दलिय रूपमा पास्टरहरू जोडिन थाल्यो भने सबै नेपालीको बिचमा गर्नुपर्ने सुसमाचारको सेवाकाइमा यसले नकरात्मक असर पार्दछ। पास्टर दलिय राजनितिमा जोडिएको कारण दलहरूका कति नकरात्मक पक्षहरू हुन्छन् तिनको प्रत्यक्ष नकरात्मक असर पास्टरको सेवाकाइमा जोडिन्छ।


सावधानको चेतावनी: राजनीतिक सक्रियताको खतरा

नेपाल जस्तो देशमा, जहाँ ख्रीष्टियनहरू पहिले नै शङ्का र आरोपको घेरामा छन् यस परिस्थितिमा चर्च तथा ईसाई संस्थाहरूले राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुनु बुद्धिमानी होइन।

इतिहासले देखाएको छ—चर्च जब राज्य सत्तासँग अत्यधिक निकट हुन्छ, तब आत्मिक दृष्टिकोण कमजोर पर्न जान्छ। उदाहरणको लागि मध्यकालको क्याथोलिक चर्चमा राजनीतिक प्रभाव र धेरै भएको कारण प्रोटेस्टान्टहरूले सङ्घर्ष गरी छुटिन परेको थियो। त्यस्तै भारत, चीन लगाएत कति देशमा ईसाई शक्ति राजनीतिक शक्तिको नजिक देखिएको कारण मण्डलीलाई पनि राजनितीको अङ्ग मानेर इन्कार र बन्देज गरेको देखिन्छ। नेपालमा आज पनि ख्रीष्टियन विश्वासलाई विदेशी धर्मको रूपमा व्याख्या गरिन्छ, यदि हामी राजनीतिक गतिविधिमा चाहिने भन्दा बढि सक्रियता राख्यौं भने यसले अझै नकारात्मक सन्देश दिन सक्छ।

साथै, राजनीतिक उपलब्धिहरू स्थायी हुँदैनन्। नेपालमा संविधान र सरकार पटकपटक परिवर्तन भएका छन्। आजको नीति भोलिको निर्णय हुन सक्छ र त्यो फेरी परिवर्तन हुनसक्छ। त्यसैले कुनै पनि बेला परिवर्तन हुन सक्ने हराउन गलत ठहरिन सक्ने कुराको पक्षमा उभिनु पास्टर तथा मण्डलीला नसुहाउने कुरा हो। बाइबलले चाहेको र खोजेको साँचो परिवर्तन मानिसको हृदयको परिवर्तनबाट आउँछ, कानुनको परिवर्तनबाट होइन।


नेपाली सन्दर्भमा व्यावहारिक बुद्धिमता

नेपालको चर्चले राजनीतिक संलग्नता विचार गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ:

1.  सुसमाचार पहिलो प्राथमिकता: हाम्रो मुख्य उद्देश्य आत्मा जित्नु हो, शासन कब्जा गर्नु होइन। कुनै दलको पक्ष-विपक्षमा उभिँदा हामीलाइ आत्मा जित्ने कार्यमा प्रत्यक्ष नकरात्मक प्रभाव पारेको हुन्छ।

2.  बुद्धिमानीरूपमा संलग्नता: धार्मिक स्वतन्त्रता, भ्रष्टाचार, वा अन्याय जस्ता स्पष्ट बाइबलीय मुद्दामा बोलेर आवाज उठाउन सकिन्छ—तर दलगत शिद्धान्तमा होइन। किनभने कुनै पनि दलहरू पूर्णरूपमा बाइबलको शिद्धान्तबाट सञ्चालित छैनन्। मध्येकालमा क्याथोलिक चर्च प्रत्यक्ष सहभागी भएको शासन त धेरे विवादित थियो भने वर्तमान अवस्थाका मण्डलीको लुकेको स्वार्थहरू विभिन्न रूपले परमेश्वरको राज्यको बिरूद्धमा छन् र हुन्छन् भन्ने यथार्थ बिर्सनु हुँदैन।

3.  प्रत्यक्ष समर्थन नगर्नु: पास्टर सक्रिय राजनितिमा नउभिनु र कुनै पार्टी, उम्मेदवार, वा नीति नलिनु सबै भन्दा बुद्धिमानी कदम हुन्छ। हाम्रो पक्ष सधैँ सत्य, अनुग्रह, प्रेम, दयामा रहनु पर्दछ। यसको विरुद्ध हुने को विरोध गर्न सक्नु पर्दछ।

4.  व्यक्तिगत रूपमा मताधिकार प्रयोग: मतदान गर्नु नागरिक अधिकार हो र निजी रूपमा गर्दा यो सेवकाईको विरोध हुँदैन। परमेश्वरको वचन र उहाँको सेवाकाइलाइ मध्ये नजर राखेर मतदानमा सहभागी हुनु ईसाई नागरिकको दायित्व हो र यो पुरा गर्नु पर्दछ।

5.  विरोध सहन तयार हुनु: सत्यमा उभिनु सधैं सजिलो हुँदैन। हामीले सत्यमा उभिन गरेको निर्णय र कुनै पार्टिको पक्ष लिन इन्कार गरेको कारण समस्या आउँछ नै नेपालमा साँचो ख्रीष्टियन साक्षी दिन केही मूल्य तिर्न तयार हुनुपर्छ।


निष्कर्ष: प्रभु येशू नै हाम्रो आशा

अन्ततः, हाम्रो राजनीतिक आशा कुनै नेता वा नीति होइन। येशू ख्रीष्ट नै हाम्रो प्रभु हुनुहुन्छ। पास्टर नेल्सन भन्छन्, “हामीले सधैं —‘येशू प्रभु हुनुहुन्छ’, दल वा राष्ट्रप्रमुख होइन भनेर दोहोर्याइ रहनु पर्दछ।”

नेपालमा ख्रीष्टियनहरूले राजनीतिमा बुद्धिमानीपूर्वक भूमिका खेल्न सक्छन्, तर चर्चको शक्ति राजनीति होइन, क्रूसमा आधारित विश्वास हो। जब हामी सुसमाचारमा केन्द्रित हुन्छौं, राजनीतिक चञ्चलतामा नफसिकन समाजमा नुन ज्योति बन्न सक्छौं।


सन्दर्भ सामाग्रीहरू

  • “Should Christians Participate in Politics?”, April 28, 2016
  • Jon C. Nelson, Eric Costanzo, Daniel Darling. “How Should a Pastor Engage Politics?” The Gospel Coalition, 2024
  • Village Bible Church. “Why We Believe Churches Should Not Be Politically Active”, 2024
  • बाइबल, नेपाली संस्करण

 

Read More