मुक्ति- ईसाई आधारभूत सिद्धान्त भाग 8 || Essential Christian Doctrines -Salvation

मुक्ति- ईसाई आधारभूत सिद्धान्त भाग 8 || Essential Christian Doctrines -Salvation



प्रेरित 16:31
'अनि तिनिहरूले भने, “प्रभु येशू ख्रीष्ट विश्वास गर्नुहोस्, र तपाइले उद्धार पाउनुहुनेछ— तपाई र तपाइका परिवारले।
'

विभिन्न मानिसको निम्ति मुक्ति भन्ने शब्दले फरक-फरक अर्थ राख्न सक्छ। कसैलाई दुःख समस्या बाट समस्या कसैलाई जीवनको सत्यताको प्राप्ति मुक्ति हुन सक्छ। कसैले आफू चर्चमा गइरहेको अवस्थालाई नै मुक्ति ठान्न सक्छन् तर बाइबलले मानिस आफ्नो पापको दासत्वबाट मुक्ति पाइ परमेश्वरसँगको सम्बन्ध पुर्नस्थापित हुने कुरालाई मुक्ति भन्दछ।

बाइबलमा धेरै पक्षहरूमा मुक्तिको विषयलाई समेटेको देखिन्छ। जस्तो मुक्तिको सुरुवात जुन हामीले मृत्युबाट बौरी उठ्नुभएको येशूमाथि विश्वास गरेको पलमा प्राप्त गर्छौं। दोस्रो पक्ष हामीले गर्ने मुक्तिको अनुभव हो जुन हामीले येशूलाई विश्वास गरे पछि विश्वासी जीवन जिउने क्रममा शुद्धीकरणको प्रक्रियासँग गाँसिएको हुन्छ। अन्त्यमा हाम्रो मुक्तिको पूर्णता जब हामीले प्रभुलाई दोस्रो पटक उहाँको महिमामा भेट्छौ तब हामीलाई प्राप्त हुन्छ।

ईसाई विश्वास अन्तर्गत मुक्ति मानिसले असल काम गरेर वा मेहनत गरेर कमाउने होइन तर परमेश्वरले उसलाई उपलब्ध गराउनु भएको उपहार (वरदान) हो। यस वरदानलाई हामीले विश्वासद्वारा प्राप्त गर्छौं (एफिसी 2:8-9)। मुक्तिको निम्ति परमेश्वरले बोलावट दिनुहुन्छ तर उक्त बोलावटलाई उपयुक्त विश्वासद्वारा परमेश्वरलाई स्विकार गर्नेहरूमात्र परमेश्वरद्वारा मुक्तिको निम्ति चुनिएकाहरू मध्ये पर्छन्। यसरी मानिसको तर्फबाट गरिने विश्वासमा आफ्नो पापको पश्चाताप तथा येशूलाई ग्रहण गर्नु दुवै समेटिएको हुन्छ। यो कार्य पनि मानिसको आफ्नै बुद्धि र क्षमताले हुने नभइ पवित्र आत्माको अगुवामा सम्पन्न हुन्छ, अर्थात् यो पनि परमेश्वरको काम हो(यूहन्ना 16:7-11, रोमी 10:20)।

बाइबलमा सिकाइएको मुक्तिलाई हामीले नयाँ जन्मको रूपमा पनि जान्न सक्छौं (यूहन्ना 3:3)। मुक्ति पाउनु भनेको जीवनको अन्तिम गन्तव्य सम्म पुगेको भनेर मात्र बुझ्नु हुँदैन। एक प्रकारले यो नयाँ सुरुवात अर्थात् नयाँ जन्म हो । हामीले मुक्तिको जीवनको मार्ग छानेको हो । येशू ख्रीष्टमा हामी एक प्रकारले परमेश्वरको सन्तान भएका छौं (यूहन्ना 1:12)।  हामी परमेश्वरको सन्तान भएको कारण उहाँ कै सन्तान जसरी धार्मिकता, सत्यता, प्रेम तथा अनुग्रहको मार्गमा हिँड्नु हाम्रो कर्तव्य हुन आउँछ।  पवित्र आत्माले हामीलाई सधैँ सुद्ध पार्ने गर्नुहुन्छ र हामीले पनि यो शुद्धीकरणमा सक्रिय रूपमा सहभागी भएको हुनुपर्छ (1 थेसलोनिकी 5:23)। हाम्रो जीवनको उद्देश्य नै ख्रीष्ट जस्तै पापरहित बन्नु हो र यो कार्य एक पटकमा सम्पन्न नभइ हाम्रो जीवन भरिनै पवित्र आत्माको सक्रियतामा हाम्रो आज्ञाकारीतामा अघि बढिरहेको हुन्छ(रोमी 8:29)।

हामीले येशूमा प्राप्त गरेको मुक्तिको पूर्णताको लागि आसा र विश्वासका साथ प्रतिक्षा गर्छौं। हामी प्रभुको भएको कारण हामी प्रभुको विश्वासमा रह्यौ भनें हामीलाई कसैले पनि परमेश्वरबाट अलग गर्न सक्दैन (1पत्रुस 1:5)। येशूमाथि राखेको विश्वासमा हामी सबैलाई परमेश्वरले अन्त्यको महिमाको लागि छाप लगाएर राख्नुभएको छ (एफिसी 1:13)। यस मुक्ति पाए पछिको यस संसारको हाम्रो जीवन नै परमेश्वरले हामीलाई दिनुहुने अन्तिम मुक्तिको निम्ति अडिग रहनु हो। जब हाम्रो भेट येशूसँग हुन्छ हामी सबै येशूको जस्तै महिमामा परिवर्तन हुन्छौं (१यूहन्ना 3:1-3)। यो नै हाम्रो मुक्तिको पूर्णता हो।  

बाइबल धर्मशास्त्रले मुक्तिको बारेमा दिएको शिक्षा

मुक्तिको श्रोत परमेश्वर मात्र हुनुहुन्छ। यो हामीलाई उहाँको अनुग्रहको कारणले उपलब्ध भएको हो जसलाई हामीले आफ्नो विश्वासद्वारा आफ्नो बनाउन सक्छौं।

'किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।' एफिसी 2:8-9

पवित्र आत्माले हामीलाई आफ्नो पापको पश्चाताप गर्न र परमेश्वरलाई विश्वास गर्न अगुवाइ र सहायता गर्नुहुन्छ।

'अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्छ ठान्‍छौ? 'रोमी 2:4
'
तब यशैयाले साहसपूर्वक भन्छन्, “मलाई नखोज्‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्‌ तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेको छु। ' रोमी 10:20

हाम्रोले विश्वासद्वारा पाप क्षमा प्राप्त गर्छौं अर्थात् मुक्ति प्राप्त गर्छौं अर्को शब्दमा ख्रीष्टमा नयाँ जन्म भएको हुन्छ।

'येशूले जबाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्‍मेको आत्मा हो। ' यूहन्ना 3:5-6
'यसकारण कोही ख्रीष्टमा छ भने त्‍यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। '२ कोरिन्थी 5:17

हामीले मुक्ति प्राप्त गरेको रूपमा हाम्रो ख्रीष्टमा मिलाप भएको छ। अर्थात् येशूको मृत्यु र पुनरुत्थान अब हाम्रो भएको छ। र अब येशूले गर्नुहुने कार्यमा पनि हाम्रो सहभागिता रहने छ।

'यसकारण यदि तिमीहरू ख्रीष्‍टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ, र परमेश्‍वरको दाहिने बाहुलीपट्टि बस्‍नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्‍टसँग लुकाइएको छ। ख्रीष्‍ट, जो हाम्रो जीवन हुनुहुन्‍छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। ' कलस्सी 3:1-4

हाम्रो मुक्तिमा हामी परमेश्वरको अनुग्रह द्वारा धर्मी बनाइएका छौं।

'परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌। ' रोमी 3:24

अब हामी मुक्ति पाएकाहरू  परमेश्वरको सन्तान हौ।

'तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनिहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। ' यूहन्ना 1:12

येशूमा साँचो विश्वास राखेर सुरु भएको हाम्रो मुक्तिले पूर्णता पाउने समय सम्म परमेश्वरले हाम्रो रक्षा गर्नुहुन्छ (हामीलाई नष्ट  हुन दिनुहुने छैन)।

'परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यका हुनुहुन्‍छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा एउटा जीवित आशाको निम्‍ति हामी नयाँ गरी जन्‍मेका छौं। स्‍वर्गमा तिमीहरूका निम्‍ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्‌। ' १ पत्रुस 1:3-4
' “मेरा भेड़ाहरूले मेरो सोर सुन्‍छन्, र तिनीहरूलाई म चिन्‍छु, र तिनीहरू मेरो पछि आउँछन्‌। तिनीहरूलाई म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन। ' यूहन्‍ना
10:27-28

येशूको दोस्रो आगमनमा नै हाम्रो यस मुक्तिले पूर्णता पाउँछ र हामी येशू जस्तै बन्ने छौं।

'प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।' १ यूहन्‍ना 3:2