हाम्रो जीवनको लागि परमेश्वरको योजना-बाइबलिय पदहरू (Bible Verse for God’s purpose on our lives)

 

हाम्रो जीवनको लागि परमेश्वरको योजना

हामीले जीवनमा धेरै आफ्ना योजनाहरू बनाउँछौ तर हामीले यो जान्नु पर्दछ कि हाम्रो होइन तर परमेश्वरको योजना नै पुरा हुन्छ र हुनुपर्छ । परमेश्वरले धेरै ठूलो योजना बनाउनुहुन्छ । हाम्रो लागि मात्र नभएर सारा संसारको लागि योजना बनाउनुहुन्छ । उहाँका योजनाहरू नै सर्वश्रेष्ठ छन् र हुन्छन्। बाइबलले भन्दछ कि मानिसले आफ्नो योजनाले मात्रै के नै गर्न सक्छ र यदि परमेश्वरको इच्छा भएन भने कुनै पनि कुरा सम्भव छैन। मत्ती 6.27मा येशूले भन्नु भएको छ, तिमिहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? यो आज हाम्रो लागि पनि सत्य हो, हामीले चाहेर नै के नै हुन्छ र? तर खुसीको कुरा यो छ कि परमेश्वरले पनि हाम्रो लागि योजनाहरू छन् । आउनुहोस् तलका पदहरू पढेर परमेश्वरले मानिसको जीवनमा बनाउने योजनाहरू बारे सिक्ने छौं।


1.      परमेश्वरको योजना जे छ असल नै छ

रोमी 8:28 हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।

हितोपदेश 23.18निश्‍चय नै भविष्‍यमा तेरो निम्‍ति आशा छ, र तेरो आशा व्‍यर्थ जानेछैन।

2.      मानिसले योजना बनाउँछ तर यो सफल असफल होला त्यो परमेश्वरको हातमा नै छ

हितोपदेश 16.9 मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्सका कदमहरूको निर्धारण गर्नुहुन्छ।

हितोपदेश 19.21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्‍छन्, तर परमप्रभुकै उद्देश्‍य विजयी रहन्‍छ।

3.      हामीले परमेश्वरको योजना थाहा नगरौंला तर परमेश्वरले नै हामीलाई आफ्नो योजनाबारे सिकाउनुहुन्छ ।

भजनसंग्रह 32.8 म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु।

4.      जुन योजना परमेश्वरले तयार गर्नुभएको छ त्यो हाम्रो सोचाइ र समझ भन्दा ठुलो र महान हुन्छ

१ कोरिन्थी 2.9 तर यसो लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका,यी नै कुरा परमेश्रले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।

एफिसी 1.9-10 किनकी सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आऊन्‌।

5.      मानिस परमेश्वरको योजनामा रमायो भने परमेश्वर उसको साथ हुनुहुन्छ

भजनसंग्रह 37.23-24 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ। त्‍यसलाई ठेस लाग्‍यो भने पनि त्‍यो लोट्‌दैन, किनकि परमप्रभुले आफ्‍नो हातले समातेर त्‍यसलाई थाम्‍नुहुन्‍छ।

6.      परमेश्वरले हाम्रो योजना हामी जन्मनु अघि नै अनन्त देखी तयार पार्नुभएको हो।

भजनसंग्रह 139.16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो।

एफिसी 2.10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

एफिसी 1.4-5 उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। 5उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,

7.      परमेश्वरले हाम्रो लागि बनाउनुभएको योजना कुनै पनि तवरले पुरा हुन्छ

यशैया 14.24 सर्वशक्तिमान्‌ परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्‍यो निश्‍चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्‍यो स्‍थिर रहनेछ।

भजनसंग्रह 138.8 परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।

फिलिप्पी 1.6 मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।