जाँड रक्सीको विषयमा बाइबलको शिक्षा
Bible Teaching on Alcohol Consumption
मण्डलीको अगुवा तथा विश्वासीहरूले बारम्बार सामना गर्नु पर्ने प्रश्नहरू-
- के बाइबलमा जाँड रक्सी खानुलाई पाप भनेको छ?
- के एक विश्वासीले जाँड रक्सी खाइनुहुन्छ?
- एउटा ईसाई विश्वासीले जाँड रक्सि किन खानु हुँदैन?
- जाँड रक्सी खाने विश्वासीलाई मण्डलीले के गर्ने?
जाँड–रक्सी सेवन गर्ने विषय ईसाई समाजमा लामो समयदेखि बहसको विषय रहँदै आएको छ। परमेश्वरको वचनले जाँड–रक्सीले मात्तिनु हुँदैन भन्ने स्पष्ट शिक्षा दिन्छ, तर जाँड–रक्सी पिउनु नै सिधै पाप हो भनेर स्पष्ट रूपमा उल्लेख गरिएको पाइँदैन।
तथापि, बाइबलको समग्र शिक्षालाई हेर्दा, जाँड–रक्सीबाट टाढा रहनु परमेश्वरको इच्छा र चाहना हो भन्ने कुरा बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। निम्न बाइबलका खण्डहरूलाई अध्ययन र मनन गर्दा, हामीलाई परमेश्वरको इच्छाअनुसारको मार्गमा हिँड्न सहायता प्राप्त हुनेछ।
मद्यपान (जाँड रक्सी)को विरुद्ध बाइबलको शिक्षा-
जाँड रक्सीले हाम्रो पुरानो पापी जीवनको प्रतिनिधित्व गरेको हुन्छ। व्यभिचार, मूर्तिपूजा जस्तै घृणित काम मध्ये मद्यपान पनि हो।
१ पत्रुस 4:2-3'यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन, तर परमेश्वरको इच्छामा बिताउँछ। बितेका दिनमा अन्यजातिहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कड़पन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ। 'रोमी 13:13 'दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन। '
जाँड रक्सी खानु भनेको परमेश्वरको इच्छा अनुसार नचलेको जीवन हो। यसले हामीलाई परमेश्वरको चाहना भन्दा विपरीत बाटोमा डोर्याउँछ।
एफिसी 5:18 'दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ। '
हितोपदेश 20:1 'दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्। '
गलाती 5:19-21 'पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्। '
मद्यपानलाई पनि परमेश्वरको योजनामा सहभागी गराएको बाइबलको शिक्षा
येशूले पानीलाई दाखरसमा परिणत गराउनु भएको कारण यो परमेश्वरले चलाउँदै नचलाउने वस्तु होइन।
यूहन्ना 2:6-9 'अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे। भोजका मुखियाले त्यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। '
दाखमद्य पनि किसानको परिश्रममा परमेश्वरले दिनुभएको आशिषको स्वरूपमा बाइबलमा दिइएको छ।
यशैया 62:8-9 'परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्ति तैंले परिश्रम गरेको थिइस्, त्यो विदेशीले कहिल्यै खान पाउनेछैनन्। तर जसले अन्न कटनी गर्छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्। र जसले दाख जम्मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्थानको चोकमा त्यो पिउनेछन्।” '
पावलले आफ्नो चेला तिमोथी जो मण्डलीको अगुवा पनि थिए उनैलाइ दवाइको रूपमा केहि दाखमद्य लिन सुझाब दिएका छन्।
१ तिमोथी 5:23 'अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर। '
विश्वासीले मद्यपानलाई उठाउनु भन्दा पहिले बिचार गर्नुपर्ने विषय
ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको जीवन केवल व्यक्तिगत रूपमा एक्लै जिउने जीवन मात्र होइन, तर त्यो जीवन ख्रीष्टको शरीर अर्थात् मण्डलीसँग जोडिएको हुन्छ। त्यसैले, कसैले पनि आफ्नो व्यक्तिगत चाहना वा खुशीका आधारमा खाने–नखाने निर्णय गर्नु अघि, त्यसले ख्रीष्टको मण्डलीको सामु कस्तो गवाही प्रस्तुत गर्छ भन्ने कुरामा गम्भीर रूपमा विचार गर्नु आवश्यक हुन्छ।
यस सन्दर्भमा शिक्षा दिनु पनि अत्यन्त महत्त्वपूर्ण छ, जसरी पावलले तलको खण्डमा लेखेका छन्।
१ कोरिन्थी 10:31-32 'यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्वरको मण्डलीलाई होस्। '
रोमी 14:15-22 'यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्। यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ। किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ। यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ। खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ। तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।'
हामी ख्रीष्टका विश्वासी भएकाले विवेकपूर्वक जीवनयापन गर्नु अत्यन्त आवश्यक हुन्छ। जाँड–रक्सीले ख्रीष्टको मण्डलीको गवाहीलाई कमजोर पार्न सक्छ र अन्यजाति तथा विश्वासीहरूको सामु गलत सन्देश दिन सक्छ। त्यसैले, यसबाट अलग रहनु परमेश्वरको इच्छा हो भन्ने बुझ्नु उचित हुन्छ।

