नेपालका आगामी निर्वाचन र ख्रीष्टियन उत्तरदायित्व
परिचय: निर्वाचन र ख्रीष्टियन
जिम्मेवारी (Stewardship)
नेपाल फेरि एकपटक राष्ट्रिय निर्वाचनतर्फ अघि बढ्दै गर्दा ख्रीष्टियन
समुदाय—व्यक्तिगत विश्वासी, पास्टर, र मण्डलीका रूपमा—आफ्नो
विश्वास र राजनीतिक सहभागिताबीचको सम्बन्धबारे गहिरो चिन्तन गर्न आवश्यक भएको छ।
ख्रीष्टियन दृष्टिकोणमा निर्वाचनमा सहभागिता केवल नागरिक कर्तव्य मात्र होइन;
यो stewardship अर्थात् परमेश्वरले
दिनुभएको प्रभाव, अधिकार, र
जिम्मेवारीलाई विश्वासयोग्य रूपमा व्यवस्थापन गर्ने विषय हो।
नेपालजस्तो बहुजातीय, बहुधार्मिक, र परिवर्तनशील राजनीतिक
सन्दर्भमा ख्रीष्टियनहरूको सहभागिता सधैँ सन्तुलित, बुद्धिमत्तापूर्ण,
र सुसमाचार–केन्द्रित हुनुपर्छ। हाम्रो अन्तिम निष्ठा परमेश्वरको
राज्यप्रति हो, तर यस निष्ठाले हामीलाई देश र समाजप्रति
उदासीन बनाउँदैन। बरु, हामीले हाम्रो देश र विशेष गरी
त्यहाँका मानिसहरूप्रति परमेश्वरको प्रेम उत्कृष्ट रूपमा देखाउनुपर्छ। यो काम
सुसमाचारका शब्दमा मात्र सीमित नहुन सक्छ; व्यवहारिक रूपमा
समाजमा सक्रिय बन्नुपर्ने अवस्था पनि आउन सक्छ। तथापि, नेपाली
ख्रीष्टियनहरूले राजनीतिसँग कसरी र कति हदसम्म सम्बन्ध राख्ने भन्ने विषयमा
शिक्षा र मार्गदर्शन बाइबलबाटै लिनु अत्यन्त महत्वपूर्ण छ।
१. ख्रीष्टियन विश्वासी: असल नागरिकको पहिचान
ख्रीष्टियनहरूको दोहोरो नागरिकता
प्रेरित पावल भन्छन्, “हाम्रो नागरिकता स्वर्गमा छ” (फिलिप्पी ३:२०)। यसको अर्थ
ख्रीष्टियनहरू पृथ्वीका राष्ट्रका नागरिक पनि हुन्, तर
ख्रीष्टद्वारा उनीहरू स्वर्गीय राज्यका नागरिक तुल्याइएका छन्। यी दुई
नागरिकतामध्ये सर्वोच्च निष्ठा सधैँ ख्रीष्ट र स्वर्गीय राज्यप्रति नै हुन्छ।
नेपालका ख्रीष्टियनहरू संविधान, कानुन, र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै समाजको भलाइका लागि सक्रिय हुन
बोलाइएका छन्। परमेश्वरका असल जन भएर देश र समाजमा असल नागरिकको गवाही दिनु नै
ख्रीष्टियन विश्वासीको सामाजिक जिम्मेवारी हो।
मतदान: Stewardship (स्टुवर्डशिप) को अभ्यास
लोकतान्त्रिक व्यवस्थामा मतदान गर्ने अधिकार परमेश्वरद्वारा सुम्पिएको
जिम्मेवारी हो। येशूले भन्नुभएको “प्रतिभाको दृष्टान्त” (मत्ती २५:१४–३०) ले
हामीलाई दिइएको अवसरलाई सदुपयोग गर्न सिकाउँछ। डर, उदासीनता, वा निराशाका कारण मतदान नगर्नु stewardship मा
असफलता हुनु हो। त्यसैले नेपाली ख्रीष्टियन विश्वासीहरूले अवलम्बन गर्नुपर्ने
आधारभूत राजनीतिक अभ्यास भनेकै मतदान हो। असल विवेक प्रयोग गरी मतदान गर्दा
ख्रीष्टियन विश्वासीहरूले असल नागरिकको जिम्मेवारी पूरा गर्न सक्छन्।
नेपालको पछिल्लो इतिहास हेर्दा संविधान निर्माण, संघीयताको
कार्यान्वयन, स्थानीय तहको सुदृढीकरण, र
शान्ति प्रक्रियापछिको राजनीतिक स्थायित्वजस्ता विषयहरू प्रत्यक्ष रूपमा
निर्वाचनसँग जोडिएका छन्। स्थानीय तहका निर्वाचनहरूले विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, र
सडकजस्ता आधारभूत सेवामा कस्तो नेतृत्व प्रभावकारी हुन्छ भन्ने कुरा देखाइसकेका
छन्। यस्तो सन्दर्भमा प्रार्थनापूर्वक मतदान गर्नु ख्रीष्टियन साक्षीको एक ठोस
अभ्यास हो। कुन उम्मेदवारबाट समाजमा दीर्घकालीन विकास सम्भव हुन्छ भन्ने विषयमा
विवेकपूर्ण निर्णय गरेर मतदान गर्नु आवश्यक छ। साथै, जसलाई
हामीले भोट दिएका छौँ, उनीहरूबाट जवाफदेहिता अपेक्षा गर्नु
पनि नागरिक कर्तव्य हो।
बाइबलीय प्राथमिकता
ख्रीष्टियनहरूले उम्मेदवार वा नीतिहरू मूल्याङ्कन गर्दा पार्टी
घोषणापत्रभन्दा माथि उठेर बाइबलीय मूल्यहरूलाई प्राथमिकता दिनुपर्छ। मीका ६:८ ले
न्याय गर्न, करुणा प्रेम गर्न, र नम्रतामा हिँड्न
आह्वान गर्छ। त्यस्तै, हितोपदेश ३१:८ भन्छ:
“जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, तिनीहरूको
पक्षमा बोल।”
नेपालको सन्दर्भमा यसले दलित समुदायमाथिको विभेद, मानव
तस्करी, वैदेशिक रोजगारीमा गएका कामदारहरूको शोषण, महिला र बालबालिकामाथि हुने हिंसा, र प्राकृतिक
विपत्तिपछि देखिने सरकारी जवाफदेहितालाई गम्भीरतापूर्वक हेर्नुपर्ने संकेत गर्छ।
ख्रीष्टियन मतदाताको खोजी आफ्नै व्यक्तिगत सुविधा वा अधिकारमा सीमित हुनुहुँदैन।
हाम्रो खोजी र चाहना आफ्नो पक्षमा आवाज उठाउन नसक्ने समुदायप्रति केन्द्रित
हुनुपर्छ। वर्तमान नेपाली ख्रीष्टियन समाजमा कहिलेकाहीँ ख्रीष्टमस बिदा, चिहान व्यवस्थापन, वा मण्डली दर्ताजस्ता विषयहरूलाई
मात्र राजनीतिक खोजको केन्द्र बनाइएको देखिन्छ। तर परमेश्वरका जनको हैसियतले
हाम्रो चाहना र माग आफूमै सीमित राखेर स्वार्थी बन्न मिल्दैन।
देशको शान्ति खोज्नु
यर्मियाह २९:७ मा लेखिएको छ, “मैले तिमीहरूलाई
निर्वासित गरेको सहरको भलो चिताओ, र त्यसको निम्ति
परमप्रभुसित प्रार्थना गर; किनकि त्यसको उन्नतिमा नै
तिमीहरूको उन्नति हुनेछ।” नेपालको शान्ति, स्थायित्व,
र समृद्धिले नै मण्डलीलाई स्वतन्त्र रूपमा आराधना, सेवा, र सुसमाचार प्रचार गर्न सहयोग पुर्याउँछ।
त्यसैले देशलाई असल दिशामा डोर्याउने दृष्टि र चरित्र भएको पार्टी वा
उम्मेदवारलाई समर्थन गर्नु ख्रीष्टियन जिम्मेवारीकै अंश हो।
२. पास्टरीय जिम्मेवारी: राजनीतिक होइन, गोठालोपन
कसलाई भोट दिने होइन, कसरी
सोच्ने सिकाउने
पास्टरलाई परमेश्वरले आफ्ना जनहरूलाई प्रभुको वचनमा शिक्षित गर्न, आत्मिक
अभ्यासमा अगुवाइ गर्न, र समाजको सामु परमेश्वरको प्रेम,
शक्ति, र राज्यको गवाही दिन बोलाउनुभएको हो।
यस बोलावटअनुसार विश्वासीहरूले पास्टरबाट विभिन्न विषयमा बाइबलीय, सैद्धान्तिक, र व्यवहारिक शिक्षा प्राप्त गर्छन्। तर
पास्टरको भूमिका मण्डलीलाई कसलाई भोट दिने भनेर निर्देशन दिनु होइन; बाइबलीय रूपमा सोच्न सिकाउनु हो। यसले मण्डलीको स्वतन्त्रता र एकता दुवै
जोगाउँछ। पास्टर मालिक होइन, गोठालो हो—आदेश दिने होइन,
सेवा गर्ने।
सम्पूर्ण परमेश्वरको सल्लाह प्रचार गर्नु
न्याय, गरिबको हेरचाह, जीवनको पवित्रता,
शान्ति, र धार्मिक स्वतन्त्रता बाइबलसँग गहिरो
रूपमा सम्बन्धित विषयहरू हुन्। नेपालको संविधानले धार्मिक स्वतन्त्रताको
प्रत्याभूति गरे तापनि व्यवहारिक रूपमा धर्म परिवर्तनसम्बन्धी कानुनी बहस, अल्पसंख्यक समुदायप्रति सामाजिक दबाब, र कहिलेकाहीँ
देखिने गलत प्रचारले मण्डलीलाई चुनौती दिइरहेको छ। यस्तो परिस्थितिमा पास्टरहरूले
डर वा उत्तेजनामा होइन, बाइबलीय सत्य र प्रेमको आधारमा
मण्डलीलाई मार्गदर्शन गर्नुपर्छ। विश्व इतिहासमा दासत्वविरुद्धको लडाइँ वा जातीय
अन्यायविरुद्धको आन्दोलनजस्ता धेरै समाज सुधारका आवाजहरू मण्डलीबाटै सुरु भएका
उदाहरणहरू हामीसँग छन्। यी प्रयासहरू राजनीतिक भाषण नभई, परमेश्वरको
न्यायपूर्ण र धर्मी स्वभावबाट प्रेरित शिक्षाहरू थिए।
ख्रीष्टजस्तो चरित्रको नमूना
ईसाई राजनीतिक सहभागिताको कुरा गर्दा येशू ख्रीष्टलाई केन्द्रमा राख्न
आवश्यक छ। उहाँले प्रत्यक्ष राजनीतिमा सहभागी नभईकन पनि आफ्नो सामाजिक र नैतिक
जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नुभयो। धेरैले उहाँ राजा भएर राजनीतिक शासन
गर्नुहुनेछ भन्ने अपेक्षा गरेका थिए, तर उहाँले संसारिक
राज्यहरू नजोडी नै परमेश्वरको राज्य प्रकट गर्नुभयो। यही नमूना नेपाली पास्टर र
विश्वासीका लागि सबैभन्दा बलियो राजनीतिक मार्गदर्शन हो। निर्वाचनको समयमा फैलिने
कटु भाषा, गलत सूचना, र लोभ–लालचका
बीचमा पास्टरहरूले गलाती ५:२२–२३ अनुसार आत्माको फलद्वारा उदाहरण दिनुपर्छ।
प्रार्थनाको आह्वान
राजनीतिसम्बन्धी नयाँ नियमको सबैभन्दा स्पष्ट आज्ञा भनेको प्रार्थना हो।
“राजा र सबै उच्च पदस्थहरूको लागि प्रार्थना गर” (१ तिमोथी २:१–२)। नेपाली
मण्डलीहरूलाई राष्ट्रका नेताहरूका लागि सामूहिक प्रार्थनामा अगुवाइ गर्नु पास्टरीय
जिम्मेवारी हो। हामी नेपाली ख्रीष्टियनहरूले सबैभन्दा प्रभावकारी राजनीतिक कार्य
भनेकै नेपालको राजनीतिमा परमेश्वरलाई सक्रिय रूपमा आमन्त्रण गर्नु हो। यसको अर्थ
सबैले राजनीतिमा होमिनु होइन, तर प्रार्थनाद्वारा परमेश्वरलाई काम गर्न
स्थान दिनु हो।
३. मण्डली: समाजमा नुन र ज्योति
राज्यसँग मिल्नु होइन, साक्षी
दिनु
मण्डली न त राजनीतिक दलको शाखा हो, न त राज्यको उपकरण।
मत्ती ५:१३–१६ अनुसार मण्डली समाजमा नुन र ज्योति भएर नैतिक दिशा देखाउन बोलाइएकी
छ। यसको अर्थ मण्डली राजनीतिक रूपमा तटस्थ रहँदै पनि असल र खराबको भिन्नता स्पष्ट
पार्न सक्षम हुनुपर्छ। मण्डली कुनै दल वा राज्यसत्तासँग अत्यधिक नजिकिँदा यो साक्षी
कमजोर पर्न सक्छ।
मतदाता शिक्षा र नागरिक चेतना
मण्डलीहरूले गैर–दलीय रूपमा मतदाता शिक्षा, नागरिक सचेतना
कार्यक्रम, वा सबै उम्मेदवारलाई समान अवसर दिने सार्वजनिक
संवाद कार्यक्रम आयोजना गर्न सक्छन्। यसले ख्रीष्टियन मात्र होइन, सम्पूर्ण समुदायलाई जिम्मेवार नागरिक बन्न सहयोग पुर्याउँछ र मण्डली
समाजप्रति उत्तरदायी छ भन्ने सन्देश दिन्छ।
नीति र पार्टीबीचको भिन्नता
मण्डलीले मानव अधिकार, शान्ति प्रक्रिया, सामाजिक
न्याय, र गरिबको पक्षमा स्पष्ट धारणा राख्न सक्छ। तर कुनै
विशेष पार्टी वा उम्मेदवारलाई “ईसाई” भनेर समर्थन गर्नुले सुसमाचारको विश्वसनीयता
र मण्डलीको स्वतन्त्र अस्तित्वलाई क्षति पुर्याउँछ। मण्डली शान्ति, अहिंसा, र करुणाको पक्षमा सधैँ उभिन सक्छ, तर पूर्ण रूपमा कुनै दलसँग बाँधिनु उपयुक्त हुँदैन।
मण्डलीको एकता संरक्षण
राजनीतिले मण्डलीभित्र विभाजन ल्याउन सक्छ। तर ख्रीष्टले “विभाजनको पर्खाल
भत्काउनुभयो” (एफिसी २:१४)। त्यसैले राजनीतिक धारणा फरक भए पनि मण्डली सबै
विश्वासीहरूको साझा घर हुनुपर्छ। कुनै पनि राजनीतिक विचारले मानिसहरूलाई
परमेश्वरको क्षमा, प्रेम, र मुक्तिबाट टाढा पुर्याउने
अवस्था सिर्जना गर्नु हुँदैन।
निष्कर्ष: हृदयको जाँच
मतदान, प्रचार, शिक्षा, वा उम्मेदवारी—सबै अवस्थामा ख्रीष्टियनहरूले आफैलाई सोध्नुपर्ने प्रश्न
यही हो: मेरो उद्देश्य के हो?
फिलिप्पी २:३–४ ले हामीलाई सम्झाउँछ:
“स्वार्थ वा अहङ्कारमा केही नगर; तर
नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।”
नेपालका आगामी निर्वाचनहरूमा ख्रीष्टियनहरू डर होइन, विश्वास;
घृणा होइन, प्रेम; स्वार्थ
होइन, सेवा लिएर अघि बढून्—र यस राष्ट्रको शान्ति, न्याय, र समृद्धिका लागि परमेश्वरको महिमा खोजून्।
