घिउको भाँडामा पैसा- A Story || Nepali Christian Devotion

 घिउको भाँडामा पैसा



एक जना मानिसलाई टाढा यात्रामा जानु पर्ने भएछ। घरमा अरू कोही नभएकोले उ यात्रामा जाँदा घरमा भएको थोरै पैसा कहाँ राख्ने होला भनेर चिन्ता लागेछ। उसले केही बेर सोचे पछि घिउको भाँडामा पैसा राखेर माथिबाट घिउले छोपेछ र आफ्नो छिमेकीलाई आफू यात्राबाट फर्केर आउने समय सम्म घिउ राखिदिन आग्रह गरेछ र आफ्नो यात्रामा लागेछ। उ यात्राबाट फर्किन धेरै नै समय लागेकोले छिमेकीले घिउ बिग्रन्छ कि भनेर उसको घिउको बट्टा खोतलेछ। त्यस भाँडा मा पैसा देखे पछि उसले सबै पैसा झिकेर त्यस भाँडामा साना साना ढुंगाहरू राखेर घिउले छोपेछ। 

पछि यात्रामा गएको छिमेकी घर फर्केर छिमेकीकहाँबाट आफ्नो घिउको भाँडो घर लगेछ। घरमा लगेर हेर्दा त पैसाको साटो ढुंगाहरू फेला परेकोले उ साह्रै निरास भएछ। पछि उसले पनि युक्ति गरेछ र जङ्गलमा गएर एउटा बाँदर समातेर ल्याएछ। छिमेकिको घरमा गएर उसको छोरालाई लिएर बजार जान अनुमति मागेछ। पछि उसले छिमेकिको छोरालाइ आफ्नो आफन्तकहाँ छोडेर घरमा फर्केछ र घरमा भएको बाँदरलाई उसको छिमेकी कहाँ लगेर, तपाइको छोरो यहाँ छ भनेर बाँदर हातमा थमाइदिएछ। उसको छिमेकी उसँग साह्रै रिसाएछ र भनेछ कसरी मेरो छोरा बाँदर भयो भनेर कराएर । प्रतिउत्तरमा उसले घिउ भित्रको पैसा ढुंगा हुन्छ भने तिम्रो छोरा किन बाँदर हुँदैन भनेर भनेछ। उसको छिमेकी लाजले सर्ममा परेछ र उसको पैसा फिर्ता दिइ आफ्नो छोरा लगेछ। 

हामी मानिस कति पटक यस्तै हुन्छौं। आफूले इमान्दारीताका साथ व्यवहार नगरे पनि अरूबाट आफूलाई सहि व्यवहार भएको चाहन्छौं। वास्तवमा हामीले सहि व्यवहार देखाएनौं भने अरूबाट असल व्यवहारको अपेक्षा राख्न सक्दैनौं। 

मत्ती 7:12

'मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो। '

यो कथा अफ्रिकाको लोक कथामा आधार गरेर बनाइएको हो।