अहंकार माथि विजय
उज्जीयाह एक असल राजा थिए, जसले आफ्नो शासनको सुरुवात राम्रोसँग गरेका थिए (पद ५)। त्यसको फलस्वरूप उनले परमेश्वरको आशिष् अनुभव गरे। तर सफलतासँगै उनको हृदयमा अहंकार बढ्दै गयो, र उनले आफूलाई नदिइएको अधिकार प्रयोग गर्न थाले। उनले पुजारीहरूको काम खोसेर मन्दिरमा धूप चढाउन खोजे। यस धृष्टता र अहंकारका कारण परमेश्वरले उनलाई कुष्ठरोगले दण्ड दिनुभयो। यसरी उनको शासन दुःखद अन्त्यमा पुग्यो। तर यस घटनाले स्पष्ट पार्यो कि परमेश्वरका जनहरूलाई साँच्चै एक नम्र राजाको आवश्यकता छ।
येशू उज्जीयाहको ठीक विपरीत हुनुहुन्छ। उहाँलाई कुष्ठरोग लागेन; बरु उहाँले कुष्ठरोगीहरूलाई निको पार्नुभयो (लूका १७:११–१९)। येशूले अहंकारका कारण आफ्नो अधिकारको दुरुपयोग गर्नुभएन; बरु उहाँले नम्रतापूर्वक आफ्ना अधिकार र महिमालाई त्याग्नुभयो—जुन वास्तवमा उहाँकै थियो (फिलिप्पी २:५–११)। परमेश्वरसँग समान हुनुहुँदाहुँदै पनि उहाँ मानिसको रूप धारण गरी क्रूसमा मर्नुहुँदा आफैलाई अत्यन्त नम्र बनाउनुभयो। त्यसैले परमेश्वरले उहाँलाई सर्वोच्च स्थानमा उच्च पार्नुभयो।
२ इतिहास 26:18-20
[18] “हे उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन। यस कामको निम्ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्। पवित्रस्थानबाट हटिजानुहोस्, किनभने तपाईंले विश्वासघात गर्नुभएको छ। परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।” [19] हातमा धुपौरो लिएर धूप बाल्न तयार भएका राजा क्रोधित भए। पूजाहारीहरूसँग रिसाउँदारिसाउँदै तिनीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो। [20] प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।
