बाइबलमा औषधिको रहस्य - भाग २ ( बाइबल भित्र औषधि, एम्बुलेन्स, अस्पताल र स्वास्थ्य कर्मिहरू ) - Book by Ps Sukdev Giri

बाइबलमा औषधि विज्ञानका कुराहरू

लूका १०:२५-३४ (Medical Science in the Bible)


येशू प्रभुले भन्नुभएको प्रख्यात असल सामरीको दृष्टान्तमा हामी औषधि विज्ञानका विभिन्न कुराहरूलाई देख्न सक्छौँ। हामी सबैलाई थाहा छ, यस घटनामा यात्री यात्रा गर्दै थियो त्यो मानिसलाई डाकुहरूले लुटे, पिटे र बाटोमा नै घाइते अवस्था छोडेर गए । ठूला भनिएका मानिसहरुले उसलाई देखेर पनि नदेखेझैँ गरि तर्केर गए तर एक जना दयालु मानिसले त्यो घाईतेलाई मद्दत गयो ।

यो दयालु मानिस समाजको नजरमा तल्लो वर्गको वा आदरहीन सामरी मानिस थियो, तर ऊ मनमा ज्यादै धनी र उच्च थियो । हाम्रो सन्दर्भको कारणले हामी केहि पदलाई नियालेर हेर्नेछौं । ३३ पद, त्यो घाइते मानिसलाई देखेर उसको हृदय दयाले भरियो र ३४ पद अनुसार उसले त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो । ३५ पदले भन्छ, भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाका मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरु बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु । यो घटनामा हामीले सबै मानिसहरूलाई प्रेमपूर्वक व्यबहार गर्नुपर्छ भनि बताइएको भए तापनि यसै खण्डमा जगत्का गुरु हाम्रा प्रभु येशूको मुखार विन्दुबाट औषधि, स्वास्थ्यकेन्द्र, प्राथमिक उपचार, डाक्टर र एम्बुलेन्सको आवश्यकताको बारेमा पनि उहाँले हामीलाई रहस्यमय कुराहरू बताउनुभएको छ । यहाँ औषधिको रूपमा तेल र दाखरसलाई लिन सकिन्छ । तेलको मालिसले उसलाई आराम दिनसक्ने र दाखरसले उसलाई घाउ छिटो निको हुन र पिडा सहन सक्ने क्षमता दिलायो । दाखरसले गहिरो घाउलाई छिटै निको पार्ने घाउ लाग्दा रगत बग्न रोक्ने तथा कुष्ठरोग लगाएत चर्मरोग लागेकाहरू पनि छिट्टै निको हुन सहायता गर्ने कुरा प्राचिन औषधि तथा आयुर्वेदिक औषधि विज्ञहरु बताउँछन् । तेल र दाखरसलाई आधुनिक औषधि विज्ञानको भाषामा हामीले साधारण तथा कडा औषधि भनेर बुझ्नसक्छौं । डाक्टरहरूले मानिसहरू बिरामी हुँदा औषधि साथसाथै भिटामीनहरू पनि दिन्छन् । यी दुवै कुराहरूले विरामीलाई निको हुन र बल प्राप्त गर्न मद्दत गर्छ । आधुनिक मलम, विभिन्न किसिमका तैलिय औषधिहरू नै यो तेलको विकसित रुप हो । दाखरसको विकल्पको रुपमा भिटामिनहरू तथा कडा औषधिहरू प्रयोग गरिन्छन् ।

अब अर्को शब्दलाई हेरौँ, त्यसले उसको घाउमा पट्टि बाँधिदियो... यसले मानिसहरू दुर्घटनामा पर्दा, प्राथमिक तथा आधार भुत उपचारको आवश्यकताको बारेमा पनि हामीलाई बताउँछ । यो खण्डले नर्सहरू र अरू स्वास्थ्यकर्मीहरूको बारेमा पनि हामीलाई जानकारी दिन्छ । जसले उपचारहरू बारे धेरै कुराहरू जानेका हुन्छन् ।

 बाइबलमा एम्बुलेन्सपनि छ है....

यस घटनामा असल सामरीले घाईते मानिसलाई आफ्नो गधामा राखेर पौवासम्म लगेको हामीले देख्यौ । जब मानिस घाईते वा अचेत हुन्छ, ऊ आफ्नो शक्तिमा हिँड्डुल गर्न सक्दैन । यस्तो अवस्थामा बिरामीलाई तुरुन्तै स्वास्थ्य केन्द्रमा पुऱ्याउनुपर्ने हुन्छ । यो क्रममा ठाउँअनुसार विभिन्न किसिमका साधनहरू प्रयोग गरेर विरामीलाई ओसारपसार गरिन्छ । त्यस्ता साधनहरूलाई नै हामी एम्बुलेन्स भन्छौं । हाम्रो देश नेपालको दूर्गम ठाउँहरूमा बाक्लो तनियाँ, डोको, काठ वा बाँसहरू, चौरी गधा वा मानिसको काँध पनि एम्बुलेन्सको रुपमा प्रयोग गरिन्छ । प्राचीन समयमा घोडा, रथ र गधाहरू एम्बुलेन्सको रुपमा प्रयोग हुन्थे । आज पनि कतिपय ठाउँमा भईराखेको छ । आधुनिक जमानामा दुई वा चार पाङ्ग्रे सवारी मात्र होइन, आर्थीक अवस्था बलियो भएका मानिसहरूले हेलिकप्टर र प्लेनलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्छन् । समय र काल अनुसार एम्बुलेन्सहरू फरक फरक हुन सक्छन् । यसैले येशूले भन्नुभएको त्यो दृष्टान्तमा गधा भनेको त्यो समयको निम्ति एम्बुलेन्स नै हो भनी हामी भन्नसक्छौं । यसैले परेको खण्डमा हामीले आज पनि यसलाई प्रयोग गर्न सक्छौं । कसैलाई बढी प्रार्थना गर्न मन लाग्छ भने पनि एम्बुलेन्समा यात्रा गर्दा गर्दै प्रार्थना गर्न सकिन्छ ।

              

बाइबलमा स्वास्थ्य केन्द्र वा अस्पताल...

असल सामरीले त्यस घाईतेलाई लगेर पौवामा राखी त्यसको उपचार गर्यो । त्यो पौवालाई हामीले अस्पताल वा स्वास्थ्य केन्द्र भनेर बुझ्न सक्छौं । पौवामा त्यो बिरामी व्यक्ति रहँदा उसको राम्रो उपचार भएको हामी देख्छौँ । त्यहाँ औषधिरूपी तेल र दाखरसको साथसाथै नियमित रूपमा घाउहरूको सफाई (Dressing) हुन्छ । जुन कुरा सबैले घरैमा सजिलै पाउन सक्दैनन् । यसैले अस्पताल वा स्वास्थ्य केन्द्रको आवश्यकतालाई येशूले आफ्नो प्रख्यात कथामा समावेश गर्नुभएको छ ।

बाइबलमा स्वास्थ्यकर्मीको चर्चा...

असल सामरीले घाईते बिरामीलाई राखेको पौवामा बिरामीलाई रेखदेख गर्ने व्यक्तिलाई पैसा तिरेको देखिन्छ । त्यो रेखदेख गर्ने व्यक्तिलाई हामीले आधुनिक भाषामा स्वास्थ्यकर्मी भनेर चिन्दछौँ । यसमा नर्स, कम्पाउन्डर वा डाक्टर पनि पर्दछन् । यसैले बाइबलले यिनीहरूको विरोध नगरेको तर उनीहरूलाई स्वीकार गरेको कारणले, हामीहरूले पनि यस्ता मानिसहरूको सहायता लिन सक्छौं । यसो गर्दा हामी अआत्मिक हुँदैनौँ, न त हामीमा परमेश्वर प्रति कम विश्वास छ भन्ने कुरा नै यसले बताउँछ । यसैले प्रियहरू, हामी विश्वासीहरूले आवश्यक परेको खण्डमा विश्वासको प्रार्थनाको साथसाथै परमेश्वरले दिनुभएको दिमागलाई प्रयोग गरेर औषधि, बैद्य, स्वास्थ्यकर्मी वा एम्बुलेन्सको सेवा लिनसक्छौं । यो बाइबल सम्मत कुरा हो, यी कुराहरूको विरोध गर्नु भनेको अतिबादी असन्तुलित अनि बाइबल विरोधि विचार हो । यस्तो विचारले हामीलाई घाटा हुन्छ । तर सत्यले हामीलाई स्वतन्त्र पार्छ । यसर्थ बिना डर, त्रास, लाज हामीले यी कुराहरू प्रयोग गर्न सक्छौं ।

बाइबलमा औषधिको रहस्य - भाग १ (येशू र औषधि ) - Book by Ps Sukdev Giri

यो लेख यस पुस्तको लेखक पा. शुकदेव गिरी ज्यू ले bishwasi.com लाई उपलब्ध गराउनु भएको हो। क्रमश बाँकि खण्डहरू पनि यस पेजमा प्रकाशित हुँदै जानेछन् । हामी यस उत्कृष्ठ सामाग्रीको लागि पा. शुकदेव गिरी प्रति धेरै धन्यवादी छौं।

यहाँ लेखिएको धारणा तथा व्याख्या वारे अझ बढि जानकारी लिन वा छलफल गर्न लेखक संग सम्पर्क राख्न सक्नु हुन्छ।



लेखकको फेसबुक पेज : https://www.facebook.com/sukdev.giri.3