क्रुसको इतिहास - The History of The Cross

 क्रुसको इतिहास -





वर्तमान समयमा इसाई धर्म को सबै भन्दा प्रचलित चिन्ह क्रुस जसले येशूको क्रुसमा सहनुभएको दुःख र उहाँको मृत्युको सम्झना गराउँछ। आज कुनै पनि स्थानमा क्रुसको चिन्ह देख्यौं भन त्यो कुनै न कुनै रुपमा इसाई विश्वास संग सम्बन्धित छ भनेर अनुमान लगाउन सकिन्छ । कति इसाई सम्प्रदाय (क्याथोलिक, अथोडक्स आदि)मा क्रुसलाई धार्मिक कृयाकलापहरुमा पनि सामेल गराइएको पाइन्छ । यस लेखमा क्रुसको बारेमा केही रोचक जानकारीहरू लिने छौं ।


क्रुस ख्रीष्टियन विश्वासको केन्द्रमा कहिले देखी आयो?


हामीले बाइबलको समयमा नै प्रेरितहरूले दिने शिक्षको विषय येशूको क्रुसमा भएको मृत्यु थियो । त्यसैले मण्डली स्थापनाको सुरुदेखिनै ख्रीष्टका विश्वासीहरूले क्रुसलाई आफ्नो विश्वासको प्रतिक मानेको पाइन्छ । तर पनि सतावटको कारण विश्वसीहरूले क्रुसलाई खुल्लम खुल्ला प्रयोग गरेका थिएनन् । चौथो सताब्दीमा रोमी सम्राट कन्सट्यान्टिन येशूको विश्वासी भएपछि क्रुसको प्रयोगमा व्यापकता आयो । कन्स्ट्यान्टिन पछि क्रुसको प्रयोग शक्तिको चिन्हको रूपमा भएको पाइन्छ तर नवौं सताब्दि तिर आएर मात्र क्रुसलाई यसको वास्तविक अर्थ मा येशूले भोग्नु भएको दुःख र मृत्युको प्रतिनिधित्वको रुपमा प्रयोग हुनलाग्यो। त्यसैले क्रुसको चित्रमा येशूको दुःख समेत देखिने गरी प्रतुत गर्न थालियो।

प्रोटेस्टान्ट मण्डलीहरूले वचनलाई विश्वासको केन्द्रमा राखेकोले क्रुसलाई चिन्हको रूपमा प्रयोग गरेका थिएनन् तर २०औं सताब्दीमा सजावटको स्वरूप प्रोटेस्टान्ट मण्डलीहरूमा पनि क्रुसको प्रयोग बढेको देखिन्छ। लुथरन र एङ्लिकन मण्डलीले भने लगातार क्रुसलाई रितिरिवाजमा र संगतीहरूमा प्रयोग गरिरहेको देखिन्छ। तर धेरै जसो प्रोटेस्टान्ट मण्डली हरुले येशू विनाको क्रुसलाई प्रयोग गरेको पाइन्छ।


क्रुसको प्रकारहरू


1. ग्रिक क्रुस - यो क्रुसका सवै भागहरू बराबर भएको जोड चिन्ह जस्तो हुन्छ - यस प्रकारको क्रुस मण्डलीलाई सम्वोधन गर्ने सवै भन्दा पुरानो चिन्हको रूपमा लिइन्छ । यस चिन्हले येशूको क्रुसमा भएको मृत्युलाई भन्दा पनि परमेश्वरको मण्डलीको प्रतिनिधित्व गर्ने मानिन्छ।


2. ल्याटिन क्रुस - यस प्रकारको क्रुसको तल पट्टिको भाग अन्य तिन भन्दा लामो भएको हुन्छ- यो स्वरूपको क्रुस सबै भन्दा प्रचलित हो र पुराना यूरोपियन मण्डली भवनहरू यसै क्रुसको स्वरूपमा बनाइएको पाइन्छ ।



3. सेन्ट एन्थोनि क्रुस - यो कुस अंग्रेजी अक्षर T स्वरूपको हुन्छ । यसलाई प्राचिन मिश्रका मण्डली अगुवा एन्थोनि संग सम्बनिधत मानिन्छ। उनकै पाला देखि यस स्वरूपको क्रुसलाई मण्डलीको चिन्हको रूपमा प्रयोग गर्न थालियो भन्ने विश्वास गरीन्छ ।



4. सेन्ट एन्ड्रयुको क्रुस - यो क्रुस ल्याटिन भाषाको नम्बर १० तथा अंग्रेजि भाषाको एक्स (x)स्वरूपको हुन्छ । प्रेरित एन्ड्रयूलाई यस्तै ढल्केको क्रुसमा झुण्ड्‌याइयो भन्ने मान्यताको आधारमा एस क्रुसलाई सेन्ट एन्ड्र्यूको क्रुस भनेर चिनिन्छ । यो क्रुस यूरोपका धेरै देशका झण्डाहरूमा देख्न पाइन्छ ।




वर्तमान समयमा सबै भन्दा प्रचलित क्रुसहरू ग्रिक र ल्याटिन क्रुसहरू नै हुन्। क्रुसहरू यति धेरै प्रकारका भएपनि धेरैलाई येशू ख्रीष्ट ल्याटिन स्वरूपको क्रुसमा मारिनु भयो भन्ने लाग्छ तर मण्डलीको प्राचिन इतिहास लाई हेर्दा येशूको मृत्यु सेन्ट एन्थोनि क्रुसमा भयो भन्ने अनुमान लगाउन सकिन्छ। बाइबलमा येशू क्रुसमा मारिनु भएको प्रमाण प्राप्त भए पनि उहाँको क्रुसको आकार र स्वरूप कस्तो थियो भन्ने उल्लेख छैन। तर पनि हामी येशू हाम्रो पापको लागि कुसमा टाँगिएर मारिनु भयो भन्ने वास्विक हो।


क्रुस केन्द्रित बाइबलिय खण्डहरू


मत्ती 27:35‭, ‬37
तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े। ...“येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।

प्रेरित 10:39‭-‬40
“अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे। उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो,


१ कोरिन्थी 1:18
किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो।

गलाती 6:14
हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्‍ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्‍ड्याइएको छ।

एफिसी 2:16
अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्‍वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।

फिलिप्पी 2:8
स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।

हिब्रू 12:2
हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।

१ पत्रुस 1:18‭-‬19
तिमीहरू जान्‍दछौ, कि आफ्‍ना पिता-पुर्खाबाट आएका व्‍यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्‍ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्‍खोट र निष्‍कलङ्क थुमाको जस्‍तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।