मण्डली अर्थात चर्चको वास्तविक अर्थ के हो?What is Church in the Bible

 मण्डली अर्थात चर्चको वास्तविक अर्थ के हो? बाइबलमा यस शब्दको प्रयोग कसरी भएको छ?



हामी मठ-मन्दिर, चैत्य तथा गुम्वाहरू यत्र तत्र देखेकाहरूलाई चर्च भन्ने वित्तिकै त्यस्तै इसाईहरूको आराधना स्थल भन्ने लाग्दछ। के चर्च भनेको इसाईहरूको मन्दिरको विकल्पमा आएको आराधना स्थल हो या यसको अर्थ र वास्तविकता अर्कै छ? यस लेखमा बाइबलमा नै चर्च भनेर के लाइ बुझ्न सकिन्छ सो हेर्ने प्रयास गरिएको छ ।



हामीले बाइबलमा एक्लेसिया या चर्च शब्दको प्रयोगबाट निम्न कुरा बुझ्न जरूरी छ। 1. मण्डली एउटा छ, हामी यहाँ भौतिकरूपमा छुट्टा छुट्टै संगती गरिरहैको भएपनि वास्तवमा हामी प्रभुको एउटै शरीर हौं (एफिसी 4.4)। 2. मण्डली परमेश्वरद्वारा पवित्र पारिएको छ। यस संसारको यात्रमा पनि हामी परमेश्वर द्वारा चोख्याइएकाहरू हौं र सदैवा परमेश्वरको पवित्रतालाई आत्मसाथ गर्नु पर्दछ (एफिसी 5.26, 1पत्रुस 1.15 आदि)। 3. मण्डली विश्वाप्यापी र समावेशी हुन्छ। त्यसैले मण्डलीमा सबै जातका, भाषाका, ठाउँका, उमेरका लिंगका मानिसहरू बोलाइएका छन् (एफीसी 2.14, कलस्सी 1.6, 3.11 आदि)।

नेपालीमा चर्चलाई मण्डली भनेर सम्बोधन गरिएको पाउछौं भने कतिपय ठाउँमा अंग्रेजी शब्द चर्च नै प्रयोग गरिएको हुन्छ। अंग्रेजी शब्द चर्च ग्रीक शब्द किरियाकोस (Kyriakos)बाट आएको हो, जसको अर्थ हो प्रभुको,” वा प्रभुको अधिकारमा भएको । तर नयाँ करारमा Church चर्चलाई अर्कै ग्रिक शब्द एक्लेसिया (Ekklesia) लाई उल्था गरीएको हो। एक्लेसियाको अर्थ बोलाइएकाहरू भन्ने हुन्छ । यो शब्द प्राचिन समयमा इसाई समाज बाहेक पनि प्रयोग भएको शब्द हो । ग्रिक समाजमा एक्लेसियाले स्वतन्त्र मानिसहरूको जम्घट भनेर जानिन्थ्यो । पुरानो करारलाई ग्रिकमा उल्था गरिबनाइएको सेप्टाजिन्टमा इस्राएलिहरूको भेलालाई एक्लेसिया भनेर लेखिएको छ (व्यवस्था 31.30)। यहि शब्दलाई नयाँ करारमा येशूका चेलाहरूको भेलालाई सम्बोधन गर्न प्रयोग भयो । यस अर्थमा चर्च भनेर बाइबलमा भनेको कुनै ठाउँ वा भवन नभइ येशूमा विश्वास गर्ने मानिसहरूको जमघट हो भनेर हामीले जान्नु पर्दछ। त्यसैले हामीले चर्च भनेर ठिंग उभिएको भवन होइन, त्यहाँ जम्मा भएका विश्वासीहरूलाइ हामीले बुझ्नु पर्छ।

सुसमाचारको पुस्तकमा दुई पटक मात्र मत्ती 16.18 र 18.17मा चर्च वा एक्लेसिया शब्द प्रयोग भएको हामी पाउँछौं। चर्च प्रभु येशूको संसारको सेवाकाईको समय पछि परिकल्पना गरिएको विषय हो भनि हामी बुझ्न सक्छौं । मत्ती 16.18मा प्रभुले पत्रुसलाई भन्नुभयो, म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथी विजयी हुनेछैनन्‌।प्रभुको भनाइमा नै चर्च वा एक्लेसिया पछि स्थापना हुने जनाउनुभएको छ । तर यो मण्डली स्थापना र विस्तारको काम प्रेरितको पुस्तकमा द्रुत गतिमा अधि बढेको पाउँछौं। पेन्तिकोस्टको दिनमा पहिलो मण्डली स्थापना भयो । र त्यस पछि विभिन्न ठाउँमा हुने विश्वासिको जमघटलाइ पनि चर्च वा एक्लेसिया भनेर भन्न थालियो, जस्तो एन्‍टिओखियाको मण्‍डली (प्रेरित 13.1)। त्यति मात्र नभएर संसार भरी भएका सबै विश्वासीहरूलाइ पनि समग्ररूपमा चर्च वा एक्लेसिया भनेर पनि सम्बोधन भयो, जस्तो (प्रेरित 9.31)। पावलले पनि स्थानिय विश्वासीहरूलाई नै एक्लेसिया मानेर विभिन्न पत्र लेखेको पाउँछौं तर 1 तिमोथी 3.15मा परमेश्वरको मण्डली भनेर सबै विश्वासीलाइ एक मुस्ठ सम्बोधन गरेको पनि पाइन्छ। त्यसैले जहाँ जहाँ हामी प्रभुको नाउँमा भेलाहुन्छौं त्यहाँ मण्डली हुन्छ, चाहे त्यो मण्डलीको निम्ति बानाइएको विशेष भवन होस् या कसैको घरमा।