बाइबल भित्रका 5 थरी का प्रेम(5 Biblical words for Love)

 बाइबल भित्रका 5 थरी का प्रेम (5 Biblical words for Love)




प्रेम एउटा यस्तो शब्द हो जसले परमेश्वरको परिभाषा दिन्छ र सारा बाइबलको सार तत्व व्यक्त गर्दछ ।


येशू आफैले भन्नु भयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। महान्‌ र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।” मत्ती 22:37‭-‬40

त्यस्तै यूहन्नाले परमेश्वर प्रेम हुनुहुन्छ भनेर लेखेका छन् ( 1 यूहन्ना 4:16) र परमेश्वरको महान प्रेमको वारेमा यसरी लेख्दछन्: “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।" यूहन्‍ना 3:16

यस लेखमा हामीले प्रेमलाई सम्बोधन गर्ने 5 वटा बाइबलिय शब्दहरुलाई केलाउने छौं ।

1 . आहाब -

आहाब प्रेमको अर्थदिने हिब्रु शब्द हो । यस शब्दले धेरै प्रकारको भावनात्मक सम्बन्धहरुलाई व्यक्त गर्दछ । जस्तो अब्राहामले आफ्नो छोरा इसाहकलाई प्रेम गरे ( उत्पत्ति 22: 2 ) भन्ने जस्तो मानिस विचको प्रेम र भावनात्मक सम्बन्धहरुलाई यस शब्द प्रयोग गरेको पाउँछौं । हामीले परमेश्वरलाई प्रेम गर्न , तथा छिमेकीलाई आफुलाई जस्तै प्रेमगर्न र आफैले आफूलाई प्रेमगर्न दिइएको व्यवस्था , आज्ञा तथा हितोपदेश मा आहाब शब्दको प्रयोग भएको देखिन्छ । पुरानो कारारमा आहाब शब्दले प्रेम उल्लेख गरेका पदहरु

उत्‍पत्ति 22:2
उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।”
व्यवस्था 6:5
तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।
लेवीहरू 19:18
आफ्‍ना आफन्‍तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
हितोपदेश 19:8
बुद्धि प्राप्‍त गर्नेले आफ्‍नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्‍यक्तिको फलिफाप हुन्‍छ।


आगापाओ -
परमेश्वरको प्रेमलाई ग्रिक भाषामा आगापाओ भनिन्छ जसको अर्थ निस्वार्थ प्रेम जुन इच्छा योजना अनुसार को प्रेम हो। यो प्रेम जसलाई प्रेम गरिन्छ उसको असल पनाको कारण गरिने प्रेम होइन र साथै यो प्रेम भावनात्मक रुपमा गरिएको प्रेम पनि होइन । यो इसाई समुदायमा विशेषरुपमा परमेश्वरबाट बग्ने प्रेम हो । यूहन्नाको पहिलो पत्रमा परमेश्वर प्रेम हुनुहुन्छ भनेर उल्लेख गदा आगापाओ शब्द प्रयोग गरिएको छ।

१ यूहन्‍ना 4:16
यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।
एफिसी 2.4
तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,
यूहन्ना 3.16
“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।


आगापे-
आगापे प्रेम हिब्रु भाषालाई ग्रिकमा उल्था गर्दा र नया करार का पुस्तकहरु लेख्दा धेरै प्रयोग भएको पाइएपनि बाइबल बाहेक अन्य साहित्यहरुमा बिरलै प्रयोग भएको देख्छौं। आगपे प्रेम मानिस बिच प्रेम, मानिसले परमेश्वरलाई गर्ने प्रेम, तथा पिताले पुत्र ख्रिष्टलाई गर्ने प्रेम आदिलाई जनाउन प्रयोग भएको पाइन्छ। आगपे प्रेममा बाहिरी आकर्षण तथा चाहना भन्दा एक अर्का प्रतिको गहिरो समर्पण हुन्छ । त्यसै परमेश्वरले मानिसलाई आज्ञा गर्नुभएकाे प्रेम आगापे प्रेम हो।

यूहन्‍ना 13:34‭-‬35
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”

रोमी 5:8
तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।
यूहन्‍ना 17:26
मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्‍यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”


फिलेओ-
फिलेओ ग्रिक भाषामा मानिसले गर्ने प्रेमलाई व्याख्या गर्ने शब्द हो। यस शब्दले मित्रता, एक अर्का प्रतिको चाहना र आर्कषणलाई समेट्दछ । अगापे जस्तो कुनै सर्त विनको पुर्ण समर्पित नभइ आकर्षण र चाहनाले प्रेरित प्रेम हो । यशूले आफ्नो विश्वासीमा फलेओ पेम नभइ आगापे चाहनु भयो ।

यूहन्ना 21:15
जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्‍दा बढ़ी प्रेम (
आगापे) गर्दछौ?”तिनले उहाँलाई भने, “ज्‍यू प्रभु, तपाईं जान्‍नुहुन्‍छ, म तपाईंलाई प्रेम (फिलेओ)गर्छु।”
उहाँले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ।”

फिलाडेल्फिया-
फिलेओ शब्दबाटै बनेको अर्को प्रेम जनाउने बाइबलिय शब्द हो फिलाडेल्फिया। यो फिलेओ (प्रेम) र आडल्फस (दाजु भाइ) भन्ने दुइ शब्द मिलेर बनेको छ र यसले एक अर्कालाइ दाजुभाइ तथा दिदी बहिनी जस्तै प्रेम गर्नु भन्ने सिकाउँछ । यो परमेश्वरले हामीलाइ गर्नु भएको प्रेम होइन तर हामीले एक अर्कालाइ ख्रीष्टमा गर्नु पर्ने प्रेम हो । हामी विश्वासी विचमा ख्रीष्टमा एक परिवार जस्तो भएका छाैं भन्ने शिक्षा मिल्दछ ।

रोमी 12:10
भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
हिब्रू 13.1-2
भातृ-प्रेम बनिरहोस्‌। परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।