अन्‍द्रियास- येशूको चेलालाइ चिनौं

 अन्‍द्रियास- येशूको चेलालाइ चिनौं


येशूले बप्तिस्मा लिनुभएको भोलि पल्ट बप्तिस्मा दिने यूहन्नाले आफ्ना दुई चेलाहरूलाई येशूलाई देखाएर हेर, परमेश्‍वरका थुमा!” भनेर चिनाए। त्यो सुन्ने बित्तिकै यूहन्नाका दुई चेलाहरू येशूको पछि लागे। यिनै दुई मध्ये एक थिए एन्द्रियास (यूहन्ना 1:38-40)। आन्द्रियास येशूलाई पछ्याउने सबै भन्दा पहिला चेलाहरू मध्ये थिए। उनले येशूको घरमा गए र एक रात उहाँसँग विताए । जब उनलाई थाहा भयो येशू नै प्रभु हुनुहुन्छ उनले आफ्नो भाइ सिमोन (पत्रुस)लाई प्रभुको बारेमा बताएका थिए।

अन्द्रियास नामको अर्थ पुरूषार्थी वा पौरखी भन्ने हुन्छ। अन्द्रियास गालिलको समुद्रको  उत्तर पट्टिको बेथसेइडा गाउँमा जन्मेका थिए। उनको बाबुको नाम युहन्ना थियो(यिनी येशूको चेला युहन्ना तथा बप्तिस्मा दिने यूहन्ना होइनन्)। उनले पत्रुससँगै एउटा घरको मालिक थिए र उनी सँगै आफ्नो बाबुको माछा मार्ने व्यवसायमा संलग्न थिए।

यूहन्नाको सुसमाचार अनुसार आन्द्रियास येशूको पछि लाग्ने पहिलो व्यक्ति मध्ये भए पनि बाइबलमा उनले धेरै पछिमात्र येशूको चेलाको रूपमा सम्बोधन गरेको पाउँछौं (यूहन्ना 6:8)। मत्तिको सुसमाचारमा येशूले गालिलको समुद्रको छेउमा हिँड्दै गर्दा पत्रुस र आन्द्रियासलाई आफ्नो चेला हुन बोलाउनुभएको थियो (मत्ती 4:18-19)। यसरी दुई सुसमाचारका पुस्तकहरूलाई नियाल्दा पहिले आन्द्रियासले येशूको घर गएको भएपनि पछि मात्र उसलाई चेलाको रूपमा बोलाउनुभएको थाहा हुन्छ।

आन्द्रियास र फिलिपले ग्रीक (यहुदीहरूको लागि अन्य जाति मानिसहरू)लाई येशू कहाँ चिनाउएको पाउँछौं (युहन्ना 12:20-22)। यसरी फिलिपको साथमा आन्द्रियास नयाँ करारमा उल्लेख भएको पहिलो विदेशीहरू बीच सुसमाचार सुनाउने मिसनरी थिए।

मण्डलीको परम्परा अनुसार हामीले यो थाहा पाउँछौं कि आन्द्रियास आफ्नो जीवनको अन्त्य तिर कालो समुद्र (Black Sea)को नजिकै स्किथिया सहरमा बस्थे। इ.सं. 260 तिर लेखिएको आन्द्रियासको कामहरू भन्ने पुस्तक अनुसार उनले मुख्यता माकेडोनिया क्षेत्रमा सुसमाचार सुनाएका थिए। सो पुस्तकलाई आधार मान्ने हो भने उनले मृत्यु दण्ड पाएका थिए। क्याथोलिक परम्परा अनुसार आन्द्रियासलाई X आकारको क्रुसमा झुण्ड्याएर मारिएको थियो। उनको मृत्यु नोभेम्वर 30मा भयो भनेर क्याथोलिक तथा अर्थोडक्स मण्डलीहरूले मान्ने गर्दछन्।

आन्द्रियास येशूको बारेमा सुन्ने वित्तिकै अझ जान्ने र उहाँलाई चिन्ने उत्सुकता भएको व्यक्ति थिए जसले गर्दा उनि पहिल्यै दिनमा येशूको पछि लागेर उहाँको घर चिनेर आएका थिए। आन्द्रियास सुरूमा बप्तिस्मा दिने यूहन्नाका चेला थिए र जब उनले येशूको बारेमा सुने उनी येशूको चेला भए। आन्द्रियास येशूको बारेमा चिने पछि उहाँको बारेमा तुरून्तै अन्य मानिसहरूलाई सुनाइ हाल्ने व्यक्ति थिए। त्यसैले उनले भोलि पल्टै सिमोनलाई येशूको बारेमा सुनाएका थिए। हामी हाम्रो जीवनमा पनि आन्द्रियासबाट उनको येशूलाई जान्न र बुझ्न चाहने लगाब तथा सुसमाचार प्रतिको जोसबाट धेरै कुरा सिक्न सक्छौं।

बाइबलमा आन्द्रियास उल्लेख भएको खण्डहरू

'गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए।' मत्ती 4:18

'बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्‍द्रियास, जब्‍दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना,' मत्ती 10:2

'गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्‍द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। किनकि तिनीहरू जालहारी थिए।' मर्कूस 1:16

अब उहाँ तुरुन्‍तै सभाघरबाट निस्‍केर याकूब र यूहन्‍नाका साथमा सिमोन र अन्‍द्रियासको घरमा पस्‍नुभयो।' मर्कूस 1:29

'अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी, 'मर्कूस 3:18

'अनि उहाँ मन्‍दिरको सामुन्‍ने जैतून डाँड़ामा बस्‍नुहुँदा पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियासले उहाँलाई गुप्‍तमा सोधे, मर्कूस 13:3

'सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ, ' लूका 6:14

'यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए। ' यूहन्‍ना 1:40

'उहाँका चेलाहरूमध्‍ये एक जना, सिमोन पत्रुसका भाइ अन्‍द्रियासले भने, ' यूहन्‍ना 6:8

'फिलिपले गएर अन्‍द्रियासलाई भने, र अन्‍द्रियास र फिलिप गएर येशूलाई भने। चाड़मा आराधना गर्न जानेहरूमध्‍ये कोही-कोही ग्रीकहरू पनि थिए। तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्‍ती गरे, “हजूर, हामी येशूलाई भेट्‌न चाहन्‍छौ।” ' यूहन्‍ना 12:20-22

'सहर भित्र पसेपछि तिनीहरू माथिल्‍लो तलाको आफू बस्‍ने कोठामा उक्‍ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्‍फयसको छोरो याकूब र उग्रपन्‍थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए। ' प्रेरित 1:13

x