ईसाई विश्वासका- आधारभूत सिद्धान्त भाग १- जीवित र सक्रिय परमेश्वरको वचन
हामी ईसाई विश्वासीले केही मानवीय तवरले बुझ्न कठिन कुराहरू विश्वास गरेका हुन्छौं। जस्तो
- हाम्रो परमेश्वर त्रीएक हुनुहुन्छ अर्थात् एउटै परमेश्वर जो तिनवटा व्यक्तित्वहरू पिता, पुत्र तथा पवित्र आत्मामा मानिसको सामु प्रकट हुनुभयो।
- यो सारा संसार परमेश्वरले आफ्नो वचन द्वारा सृष्टि गर्नुभयो।
- पुत्र परमेश्वर येशू ख्रीष्टले क्रुसमा सबै मानिसको पापको निम्ति मर्नुभयो र तेस्रो दिनमा मरेकाहरूबाट पुनरुत्थान हुनुभयो।
- परमेश्वरको धर्मशास्त्र सत्य, जीवित र हाम्रो जीवनमा काम गर्न सक्रिय छ।
हिब्रू 4:12 किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
बाइबल धर्मशास्त्रको पानामा लेखिएका शब्दहरूमात्र होइन तर ति हामीसँग वोल्न सक्ने परमेश्वरका वचनहरू हुन। बाइबलका हरेक पदहरू हाम्रो जीवनमा अनाज्ञाकारीता, पाप आदिलाइ खुलाएर पश्चाताप तथा सुधारको बाटोमा बोलाउन सक्ने एउटा डाक्टरको हातमा भएको नाइफ जस्तो हो। यस प्रकार वचनले हाम्रो जीवनलाई परमेश्वरको आज्ञाकारितामा डोर्याएर शान्ति र आनन्द पुनर्स्थापना गर्दछ।
परमेश्वरको वचन जीवित भएको कारण यसले फल फलाउँछ। बोलिएको, पढिएको, अध्ययन गरिएको तथा सो जीवनमा लागू गरिएको वचनले हाम्रो जीवनमा परिवर्तन ल्याउँछ र धार्मिकताको फल फलाउँछ। जसरी आकाशबाट बर्सेको झरिले जमिनमा उब्जनि ल्याउँछ, परमेश्वरको वचनले पनि हाम्रो जीवनलाई उत्पादनसिल बनाउँछ। झरी आफैमा फल नभए पनि यसको प्रभावले विभिन्न अन्न तथा फलफूल हुने जस्तै परमेश्वरको वचनले हाम्रो जीवनमा विभिन्न पक्षमा प्रभावकारी असर गरेर धार्मिकताको फल फलाउँछ। त्यसैले वचनको प्रभाव तुरून्त नदेखिए पनि अदृश्य रूपमा हाम्रो जीवनमा वचनले काम गरिरहेको हुन्छ।
जमिनमा सिँचाइ गर्यो भनेमात्र फसल उत्पादन हुनेभएको कारण एक किसानले आफ्नो वालिमा पानी हालि राख्नु पर्दछ। त्यसरीनै हामीले हाम्रो जीवनमा पनि परमेश्वरको वचन राख्न रोक्नु हुँदैन। परमेश्वरको वचन नियमित रूपमा नदिएको जीवनमा परमेश्वरको इच्छा अनुसारको धार्मिकताको फल फल्न असम्भव छ। त्यसैले हामीले परमेश्वरको वचन अध्ययन गर्नु, मनन् गर्नु अति नै महत्वपूर्ण हुन्छ।
हामीले परमेश्वरको वचनलाई जुन रूपले स्विकार गरेका हुन्छौं सोही अनुरूप हाम्रो जीवन अघि बढिरहेको हुन्छ।
धर्मशास्त्रको बारे अन्य बाइबलीय दाबीहरू
वचन परमेश्वरको प्रेरणाबाट तयार भएको हो। र मानिसहरूलाई परमेश्वरको इच्छामा डोर्याउने प्रकारका छन्।
२ तिमोथी 3:16-17
'सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।'
२ पत्रुस 1:21
'किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्।'
परमेश्वरको वचन सत्य र असल छ। त्यसैले मानिसले यसको चाहना र खोजी गरेको हुनुपर्छ।
भजनसंग्रह 12:6
'अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।'
हितोपदेश 30:5
'“परमेश्वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ। '