मार्टिन लुथर किङ्ग जूनियर (१५ जनवरी १९२९ – ४ अप्रिल १९६८) | Short Introduction of Martin Luther King Jr.



मार्टिन लुथर किङ्ग जूनियर (१५ जनवरी १९२९ – ४ अप्रिल १९६८) को जन्म माइकल लुथर किङ्ग जूनियरको रूपमा भएको थियो। पछि उनले आफ्नो नाम परिवर्तन गरेर मार्टिन राखे।

उनको हजुरबुबा र बुबा दुवैले जर्जिया राज्यको एबेनेजर बप्तिस्ट चर्चमा पास्टरको रूपमा सेवा गरे। मार्टिन आफैं पनि सन् १९६० देखि आफ्नो मृत्युसम्म त्यही चर्चमा सह-पास्टर बने।

प्रारम्भिक शिक्षा र पढाइ

मार्टिनले विभेद गरिएको (segregated) अफ्रिकन-अमेरिकन स्कूलहरूमा पढे र १५ वर्षको उमेरमा हाई स्कूल सके। त्यसपछि उनले मोरहाउस कलेजबाट स्नातक (B.A.) गरे — त्यही कलेज जहाँ उनका बुबा र हजुरबुबाले पनि पढेका थिए।

पछि उनले पेनसिल्भेनियाको क्रोजर थियोलोजिकल सेमिनरीमा तीन वर्ष अध्ययन गरे र सन् १९५१ मा धर्मशास्त्रमा स्नातक (B.D.) डिग्री पाए। उनले त्यहाँको प्रायः गोरा विद्यार्थीहरूको कक्षामा अध्यक्ष चुनिने गौरव पनि पाए।

त्यसपछि उनले बस्टन विश्वविद्यालयमा डक्टरेटको लागि पढ्न थाले र सन् १९५५ मा PhD प्राप्त गरे। बस्टनमै उनी कोरेटा स्कटसँग भेटिए र विवाह गरे। उनीहरूका दुई छोरा र दुई छोरी भए।

नागरिक अधिकार आन्दोलनको नेतृत्व

सन् १९५४ मा उनी अलाबामाको डेक्सटर एभेन्यु बप्तिस्ट चर्चको पास्टर बने। त्यस समय उनी NAACP (अफ्रिकन-अमेरिकन नागरिक अधिकार संस्था) को कार्यकारी समिति सदस्य पनि थिए।

सन् १९५५ मा मण्टगोमरी बस बहिष्कारको नेतृत्व गर्दै उनी राष्ट्रिय रूपमा चिनिए। अफ्रिकन-अमेरिकनहरूले बसमा विभेदको विरोधमा ३८२ दिनसम्म यात्रा गरेनन्। अन्ततः अमेरिकी सर्वोच्च अदालतले बसमा विभेदलाई असंवैधानिक ठहर गर्‍यो।

बहिष्कारको क्रममा मार्टिन किङ्गलाई पक्राउ गरियो, उनको घरमा बम आक्रमण भयो, र व्यक्तिगत दुव्र्यवहार पनि सहनुपर्‍यो। तर यसै क्रममा उनी एक प्रमुख नेता बन्न पुगे।

ठूलो आन्दोलन र सम्मानहरू

सन् १९५७ मा उनले Southern Christian Leadership Conference (SCLC) नामक संस्था स्थापना गरे, जसको प्रेरणा ईसाइ धर्म र रणनीति गान्धीको अहिंसात्मक मार्गबाट लिइएको थियो।

१९५७ देखि १९६८ को बीचमा:

  • उनले ६० लाख माइलभन्दा बढी यात्रा गरे,

  • २५००+ भाषण दिए,

  • ५ पुस्तक र धेरै लेख लेखे,

  • बर्मिङ्घम आन्दोलनको नेतृत्व गरे (जहाँ उनले प्रसिद्ध “Birmingham Jail Letter” लेखे),

  • वोट दर्ता अभियानहरू सञ्चालन गरे,

  • वाशिंगटन मार्चमा २.५ लाख मानिसको अगाडि “I Have a Dream” भाषण दिए,

  • राष्ट्रपति जॉन एफ. केनेडीलिंडन बी. जोनसनसँग भेटवार्ता गरे,

  • २० पटकभन्दा बढी पक्राउ परे र कम्तीमा ४ पटक आक्रमण भोगे।

सन् १९६३ मा Time Magazine ले उनलाई “Man of the Year” घोषणा गर्‍यो। उनी न केवल अफ्रिकन-अमेरिकनहरूको नेता भए, बरु विश्वस्तरको सम्मानित व्यक्तित्व बने।

नोबेल पुरस्कार र अन्त्य

सन् १९६४ मा, ३५ वर्षको उमेरमा, उनले नोबेल शान्ति पुरस्कार जिते — त्यो पुरस्कार जित्ने अहिलेसम्मकै कान्छा व्यक्ति। उनले पुरस्कारबाट प्राप्त $५४,१२३ नागरिक अधिकार आन्दोलनलाई दान दिए।

तर दुखद कुरा, सन् १९६८ अप्रिल ४ मा, जब उनी टेनेसी राज्यको मेम्फिस शहरमा हड्तालमा रहेका फोहोर संकलक कामदारहरूको समर्थनमा प्रदर्शन गर्न गइरहेका थिए, उनी गोली हानी हत्या गरियो।

मार्टिन लुथर किङ्गका महत्वपूर्ण भनाइहरू 

१.

"यदि मानिसले जुनका लागि ऊ मर्न तयार हुन्छ सो कुरा पत्ता लगाएको छैन भने उ बाँच्न लायक ठानिँदैन।"

अर्थात्, जीवनमा केही यस्तो मूल्य, उद्देश्य वा न्यायको भावना हुनुपर्छ जसका लागि तपाईं ज्यान दिन पनि तयार हुनुहुन्छ। यदि त्यस्तो केही छैन भने, तपाईंको जीवन अधूरो छ।


२.

"कुनैपनि ठाउँमा भएको अन्याय, संसारभरको न्यायमाथिको खतरा हो।"


जब जहाँसुकै अन्याय हुन्छ, त्यसले अन्ततः सबै ठाउँमा असर गर्छ। त्यसैले न्यायका लागि लड्ने काम सधैंसाथ सबैको हो।


३.

"मेरो सपना छ — एक दिन मेरा चार साना बच्चाहरू यस्तो देशमा बस्नेछन् जहाँ उनीहरूलाई छालाको रङले होइन, उनीहरूको व्यवहार र चरित्रले मूल्याङ्कन गरिनेछ। म आज पनि यो सपना देखिरहेछु।"


किङ्गको यो सपना जातीय भेदभाव अन्त्य गर्ने आशाको प्रतिनिधि हो — जहाँ सबैलाई बराबरीको आधारमा हेर्ने समाज बन्छ।


४.

"हामी दाजुभाइझैँ मिलेर बस्न सिक्नैपर्छ, होइन भने मूर्खझैँ एकसाथ नष्ट हुनेछौँ।"


 यदि हामी मिलेर, सहकार्य गरेर बाँच्न सकेनौं भने, हामी सबैको अस्तित्व खतरा हुन सक्छ। शान्ति र एकताको विकल्प छैन।


श्रोत: www.nobelprize.org (2025 May 28)/ www.britannica.com (2025 May 25)

Read More