दोस्ती-खरायो र घोरलको (Friendship) || Inspirational Story

 दोस्ती-खरायो र घोरलको (Friendship)



एउटा खरायोले एउटा जंगली घोरल सँग दोस्ती गरेछ । उनीहरू निकै घनिष्ठ थिए । एक अर्काका दुखमा साथ दिन्थे । बिषेश गरी यदि कुनै खतरनाक जन्तु उनीहरूलाई सिकार गर्न आयो भने एक अर्कालाई बचाउन र जोगाउन लागि रहन्थे ।

एक दिनको कुरा हो, घोरल चाही एउटा सिकारीको पासो मा परेछ । सिकारीले घोरललाई एउटा डोरीले बाँधेर घिच्चाउँदै लगेको खरायो ले देखेछ । अब मेरो दोस्तलाई  कसरी बचाउने होला भनि खरायोले युक्ति रचेछ ।

खरायोले सिकारी जाँदै गरेको बाटोमा सिकारी भन्दा अघि पुगेछ र आफूलाई घोरलले जन्मदिनको उपहारमा दिएको नयाँ जुत्ताको दाहिने पट्टिको मात्र राखेछ । जुत्ता नयाँ आकर्षक थियो । सिकारीले घोरललाई घिच्चयाउँदै आउँदा बाटोमा त्यो नयाँ आकर्षक जुत्ता देखेछ । यो जुत्ताको अर्को जोडी पनि फेला पारे कति राम्रो हुन्थ्यो, एउटा मात्रै रहेछ के गर्नु भनेर सिकारीले मनमनै भन्दै अघि बढेछ ।

खरायो त्यहाँ भन्दा ५०० मि. जति अघि पुगेर त्यसको अर्को जोर जुत्ता राखेछ र आफू झाडी भित्र लुकेछ । सिकारी घोरललाई तान्दै त्यहाँ आइ पुगेछ । अघि देखेको जुत्ताको अर्को जोर त यहाँ पो रैछ भन्ने देखेछ । जुत्ता अति मन परेकोले उसलाई अघिको जुत्ता पनि लिन जानु पर्ला भन्ने सोचेर फेरी उल्टो बाटो घोरललाई घिच्याउनु भन्दा भनेर एउटा रूखमा बाँधेर त्यो अघिल्लो जुत्ता भए तर्फ लम्केछ । तत्कालै, खरायोले त्यस घोरल बाँधेको डोरीलाई आफ्नो दाँतले चबाइदिएछ । घोरल मुक्त भएछ । खरायोले त्यहीँ भएको एउटा मात्र जुत्ता पनि लिएर भागेछ । उनीहरू अलिक पर पुगेर लुकेछन् ।

सिकारी उता बाट त्यस जुत्ता टिपेर फर्केर आउँदा यता घोरल पनि गाएब र त्यो जुत्ताको अर्को जोर पनि गाएब भएको देखेछ । यसरी सिकारी आँफु मुर्ख भएको मा साह्र रिस उठेछ र हातमा भएको त्यस बाँकी जुत्ता पनि के गर्नु भने त्यहीँ नजीकैको झाडीमा फ्याँकेर घर तिर लागेछ ।

उता खरायोले आफ्नो दोस्त र दोस्तले दिएको उपहार दुबै जोगाउन सफल भयो र उनीहरूको दोस्ती जीवनको अन्त्य सम्म नै यसरी एक अर्कालाई सघाउँदै अघि बढेछ । सिकारी भने जुत्ताको लोभको कारण, त्यति ठूलो सिकार पनि गुमाउनु परेकोमा आफैलाई धिक्कार्दै बसेछ ।

जानी राखौं कि हामीले सानो कुरामा बहकिँदा लोभ गर्दा महत्वपूर्ण कुरा पनि हाम्रो हातबाट फुस्कन सक्छ । जीवनमा सबै भन्दा महत्वपूर्ण के हो जानेर त्यसबाट दायाँ वा बायाँ नजाउँ ।

उपदेशक 5:10
जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धनसम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो।