वास्तविक विश्राम- बाइबलका पदहरू

 वास्तविक विश्राम



परमेश्वरले प्रतिज्ञा गर्नुभएको विश्राम हामीले विश्रामको दिन पालना गरेर हप्ताको एक दिन मण्डली जानु मात्र होइन् तर वास्तविक रूपमा नै परमेश्वरबाट शान्ति, आनन्द प्राप्त गर्नु हो। नबुझेको कारण, हामीले परमेश्वरको चरणमा गएर पनि परमेश्वरले दिन चाहनु भएको वास्तविक शान्ति प्राप्त नगरेका हुन सक्छौं। एक दिन हामीले कामबाट विश्राम लिँदा परमेश्वरले हाम्रो शरीरलाई विश्राम दिनुहुन्छ तर त्यो भन्दा बढि प्रभु येशूमा हामीले गरेको विश्वास र भरोसाले हामीलाई हाम्रो जीवनका चिन्ता, दुःख तथा फिक्रीहरूबाट विश्राम दिनुहुन्छ। किन भने ख्रीष्ट येशूमा हामी सबै अनन्तको लागि सुरक्षित राखिएका छौं। तलका बाइबल पदहरूमा परमेश्वरले गर्नु भएको प्रतिज्ञालाई मनन गर्दै हामीले हाम्रो आत्मामा विश्रामको महुस गरेका हौं।

मत्ती 11:28

 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।

भजनसंग्रह 4:8

शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।

हिब्रू 4:10-11

किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो। यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌।

यशैया 26:3

जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ।

फिलिप्पी 4:6-7

कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

प्रस्‍थान 33:14

अनि परमप्रभुले भन्‍नुभयो, “मेरो उपस्‍थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।” 

यूहन्‍ना 16:33

मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”