सुसमाचारले धर्म मात्र होइन समाज परिवर्तनको मुद्दा बोक्दछ - खोइ त नेपालमा?

 सुसमाचारले धर्म मात्र होइन समाज परिवर्तनको मुद्दा बोक्दछ - खोइ त नेपालमा? 



पावल नयाँ करारको सबै भन्दा धेरै पुस्तकहरू लेख्ने मध्ये पर्दछन ! उनले पुस्तकको रुपमा नभई पत्रहरूको रुपमा मण्डली तथा मण्डलीका अगुवाहरूलाई पत्र लेखेको पाउँछौं । पावलका पत्रहरू प्राय धेरै अध्यायहरू भएका लामो प्रकारका हुन्छन् । तर पावलले फिलेमोनलाई सबै भन्दा छोटो विषय वस्तुमा पनि फरक पत्र लेखि पठाएका थिए। यस पत्रमा पावलले ग्रिक भाषमा पत्र लेख्दा जम्मा 334 शब्दहरू खर्च गरेर ख्रिष्टियन सिद्धान्त होइन तर सिष्टाचार र व्यवहारलाई सिकाउने प्रयास गरेका छन् ।

पावलले फिलेमोनलाई पत्र लेख्दा उनी झ्यालखानामा रहेको मानिन्छ । त्यसैले पावलले झ्यालखानाबाट लेखेका अन्य तिन पत्रहरू संगै यसलाई प्रिजन लेटर (झ्यालखाना का पत्र ) भनेर चिनिन्छ । यस पत्रको 1 र 22 पदमा पावलले झ्यालखाना मा रहेको र त्यहाँबाट छुट्ने आसा रहेको बताएका छन् ।

ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, ...साथै मेरो निम्‍ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्‍ने आशा गर्दछु। (फिलेमोन 1:1‭, ‬22 )

इ. सं. 60 - 61 तिर पावल रोममा पहिलो पटक झ्याल खानामा हुँदा लेखेको मानिन्छ । यस पत्रको पृष्ठ भुमि हेर्दा थाहा हुन्छकी फिलेमोनको दास ओनेसिमसलाई भेटेका थिए। केहि गल्ति गरेर भागि रोम गएको वेला फिलेमोनको दास ओनेसिमसलाई पावलले भेटेका थिए। यसरी गल्ति गरी भागेको फिलेमोनको दासलाई पावलले सुसमाचार सुनाएर विश्वासमा डोर्‍याएका थिए। ओनेसिमस फिलेमोन कहाँ फर्किनु पर्ने भएकोले ओनेसिमसलाई क्षमा र स्विकार गर भन्दै लेखेको यस पत्र पावलले टिकिकसको साथमा पठाएका हुन। 

यो पत्र परमेश्वरको विश्वास पछि मालिक र दास विचको सम्बन्धलाई पुर्नव्याख्या गर्न महत्वपूर्ण मानिन्छ। यस पत्रले यस्तो प्रकारको व्यवहारिक परिवर्तनको अपेक्षा राखेको छ कि जुन त्यसवेलाको समाजमा परिकल्पना पनि गर्न सकिदैन थियो। त्यसैले पावलले फिलेमोनलाई ओनेसिमसलाई क्षमा दिने मात्र नभई दास -मालिक को सम्बन्धमा नै हेरफेर ल्याउन आग्रह गरेका छन्। पावलले यसरी लेखेका छन्-  

अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति। यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर।(फिलेमोन 1:16‭-‬17)

पावलको लागि यो कुरा यति महत्वपूर्ण छ कि उनले आफ्नो फिलेमोन संगको सम्बन्धलाई नै दाउमा राखेर यो माग गरेको पाइन्छ। यसरी ओनेसिमस फेरी फिलेमोन कहाँ स्विकार्यको होस् र उनिहरू दास र मालिकको सम्बन्धमा नभई प्रभुमा भाई भाइका सम्बन्धमा रहुन भनेर आफैले मुल्य चुकाउन पनि तयार छन्। तल पावलले यसरी लेख्दछन् कि, "यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ। म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ।"(फिलेमोन 1:18‭-‬19)।

पावलको माग सानो होइन र हल्का पनि होइन किनभने अब फिलेतेनले ओनेसिमसलाई माफ गरेर त्यहि काममा लगाउने मात्र होइन तर उसलाई आफै सरहको बनाएर छुट्टै हैसियतमा राख्नु पर्ने भएको छ। यो पत्रमा पावलले सुसमाचारले हाम्रो जीवन र व्यवहारमा ल्याउनु पर्ने वृहत परिवर्तनको चित्र देखाएका छन्। जुन आज पनि हाम्रो नेपालको मण्डलीमा त्यतिनै अर्थपूर्ण रहन्छ।

नेपाली समाजमा दास दासीको प्रथा कायम भएको नदेखिए पनि जात भात जस्ता समाजका अन्य विभाजनहरु कायमै छन। यो विभाजन नेपाली मण्डलीले बनाएको नभए पनि मण्डली भित्र यो पूर्ण रुपले परिवर्तन भएको पाइदैन। उदाहारण को लागि मेरो एक मित्र हुनुहुन्छ जो नेपाली समाजले तल्लो (पानि नचल्ने) जातको रूपमा चिन्ने परिवारबाट जन्मनु हो । उहाँले विश्वासी भएर अर्को विश्वासी तामाङ्ग परिवारकी महिलासँग परसपर विवाहाको लागि मन मिलेको कारण विवाह प्रस्ताव राख्दा उक्त तामाङग परिवारले समाजको बाहाना गरेर ठूलो विरोध गरेको अनुभव मलाई सुनाउनु भयो। यो त मात्र एक उदाहरण हो तर यसरी चलिराखेको प्रथालाई परिवर्तन नगरी त्यसैलाई इसाई समाज भित्र पनि चलाउने मौन अभ्यासहरु भएको हामी देख्छौं।  

पावलको पत्रले जसरी तत्कालिन समाजको अभ्यास जुन परमेश्वरको सम्बन्धमा आए पछि परिवर्तनको जरूरी देखे र त्यहि परिवर्तनको लागि यस पत्रद्वारा पहल गरे त्यसरी नै नेपाली मण्डलीले नेपालको जातिय विभेदलाई परमेश्वरको वचनको प्रकाश मा परिवर्तन को पहल गर्नु पर्छ। पावलको पहल मौन थिएन उनले आफूले मात्र स्विकार गरेका होइनन् तर अन्य व्यक्ति लाई जसले स्विकार गर्नु पर्ने हो उसलाई आग्रह गरेका छन्। नेपाली पास्टर हरुले आफूले जातिय विभेद नगरेको भनेर चुप लाग्न मिल्दैन तर अरुलाई पनि त्यो विभेदबाट मुक्त गराउन कदम चाल्नु पर्छ।

पावलले यस कदममा आफैले मुल्य चुकाउन तयार छन् ताकि त्यहाँ परमेश्वरको परिवर्तन झल्किओस। उनले आफैले मोल तिर्ने वाचा गरेका छन् ताकि ओनेसिमस फिलेमोनको दास होइन तर भाई बनेको होस्। आज नेपाली पास्टरले पनि नेपाली समाजको जातिय विभेदमा अमुल परिवर्तन ल्याउनको लागि मुल्य चुकाउन पनि तयार रहनु पर्छ। नेपालमा जातिय समानताको लागि नेपाली मण्डलीले के मुल्य चुकाउन तयार छ? यो नेपाली मण्डली खोजको र चुनौतिको विषय भएको छ।

नेपालमा भरखरै स्थानिय चुनाब भयो चुनाब हुनु अघि केहि ख्रिष्टियन पार्टिको स्थापना तथा दर्ताको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो। खै चुनाबमा क्रुसको झण्डालिएर कोहि चुनावमा उठ्यो कि उठेन र उठेकै भए पनि चुनावजित्यो कि जितेन थाहा भएन । जितेकै भए पनि उसको चुनावी मुद्दा केहो थाहा भएन ख्रीष्टियनको अधिकार सुनिश्चित गर्न को लागि ख्रिष्टियन पार्टि चाहियो भनेको सुनियो तर हामी विश्वासीले कस्तो समाज बनाउनु पर्छ भनेर मुद्दा उठाएको पाइएन । इसाई राजनितिमा समाज परिवर्तनको लागि मुल्य चुकाउनु तयार रहनु र्पछ। आफ्नो स्वार्थ र अधिकारको लागि होइन तर अरूको स्वतन्त्रताको लागि मुल्य चुकाउन तयार रहनु पर्छ । जसरी येशूले आफ्नो अधिकार र स्वार्थको लागि नभई हाम्रो पाप र मुक्तिको लागि मर्नुभयो अनि पावलले ओनेसिमसको स्वतन्त्रताकोलागि मुल्य तिर्न तयार भए त्यसरी नै नेपाली मण्डली नेपाली समाजको निम्ति जिउन तयार रहनु पर्छ।


Read More