भजन संग्रह 126:5-6- Inspiration || Devotion in Nepali


आँसुको साथमा छर्नेहरूले आनन्‍दका गीत गाउँदै कटनी गर्नेछन्‌।

जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्‍छ, त्‍यो फसलका बिटाहरू बोकेर आनन्‍दले गीत गाउँदै फर्कनेछ।

भजन संग्रह 126:5-6

जीवनका सबै क्षणहरू खुसी र रमाहटले भरिका नहुन सक्छन्। कति यस्ता क्षणहरू हुन्छन् जो हामीलाई चुनौती पूर्ण लाग्छन् तर जीवनको खुसी यसको सुरूलाई हेरेर नभइ अन्त्यलाई हेरेर मापन गर्न सक्नु पर्दछ। सुरुवातमा राम्रो र असल देखिएको कुराको अन्त्य सुखद नहुन सक्छ त्यस्तै सुरुमा गाह्रो र चुनौती पूर्ण भएका चरणहरूले हामीलाई आसिस सम्म लैजान सक्छ। यो विशेष गरि प्रभुका विश्वासीहरूमा लागु हुन्छ। हाम्रो जीवन एक यात्रा हो जहाँ हरकदम प्रभुले साथ दिइरहनुभएको छ। चुनौतीको समयमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने यि बाटोहरूबाट परमेश्वरले हामीलाई जीवन तर्फ डोर्याइरहनुभएको छ। येशूले आफू जीवनको बाटो हुँ भन्नु भएको छ। अनि आफूले डोर्याउने बाटो साँगुरो अर्थात चुनौती पूर्ण छन् पनि भन्नु भएको छ। त्यसैले वर्तमान जीवनमा हामीले येशूको साथ लागेर हिँडेका बाटोहरू चुनौति पूर्ण भएता पनि हरेस नखाऔं किनभने अन्त्यमा प्रभुको साथमा हामीले जीवन प्राप्त गर्नेछौं र अनन्तको आनन्द र खुसी तपाइ हाम्रै हो।