भजन संग्रह 42:1-2- Inspiration || Devotion in Nepali


जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।

मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?

भजन संग्रह 42:1-2


मानिसको मनमा कुनै पनि कुराको लागि तृष्णा र चाहना जाग्नु कुनै नौलो कुरो होइन। यस्तै चाहना र तृष्णाहरूले हामीलाई सधैँ तानिरहेको हुन्छ। मानिसलाई जे को तृष्णा छ त्यसैको प्राप्त गर्न लागि परिरहेको हामी देख्छौं। विलासको तृष्णा गर्नेहरू विलासिताकै खोजीमा दौडन्छन् भने धन दौलतको तृष्णा गर्नेहरू त्यसैको प्राप्तिको लागि दिलो ज्यानले खटेका हुन्छन्। कति सुन्दरताको पछि लाग्छन भने कति मान मर्यादा र मानिसहरूको सम्मान प्राप्त गर्न चाहन्छन्। तर सबै चाहना उत्कृष्ट नै हुन्छ भन्न सकिँदैन, सबै कुरो प्राप्तिले जीवनमा पुर्ण सन्तुष्टि प्राप्त हुन्छ नै भन्न पनि सकिँदैन। वास्तवमा भन्ने हो भने त संसारीक थोकको प्राप्तिले कहिल्यै पनि सन्तुष्टि दिँदैन  किनभने यि सबै थोक क्षणिक र अस्थाई हुन र यि थोक बाट प्राप्त आनन्द र खुसी पनि क्षणिक र अस्थाई नै हुन्छ। यस संसारमा अनन्तको थोक केहि पनि छ भने त्यो परमेश्वर हुनुहुन्छ। यदि हामीले हाम्रो आनन्दको श्रोत परमेश्वरलाई बनायौं भने त्यसबाट प्राप्त आनन्द कहिल्यै पनि घट्नेछैन। त्यसैले यस पदमा भने जस्तै हामी सबैले परमेश्वरको चाहना र तृष्णा गरौं किनभने जुन आनन्द र शान्ति उहाँबाट हामीलाई प्राप्त हुन्छ त्यो कहिल्यै अन्त्य हुँदैन।