परमेश्वरको साथमा हिडौं Lets walk with Jesus || Nepali Christian Devotion

 परमेश्वरको साथमा हिडौं Lets walk with Jesus


प्रार्थना हामीलाई परमेश्वरको नजिक लैजान र ख्रीष्टको स्वरूपमा परिवर्तन गराउन तयार गरिएको आत्मिक यात्रा हो। हाम्रो प्रार्थनामा हामीले हाम्रो जीवनका उतार चढावहरूमा परमेश्वरसंगको सहकार्यता अगाडी बढाउने प्रयास गरेका हुन्छौं। प्रार्थनाद्वारा परमेश्वरलाई हाम्रो जीवनमा कार्य गर्न निमन्त्रणा गर्दछौं र पवित्र आत्माले हामी भित्र काम गर्न सुरु गर्नुहुन्छ । परिणाम स्वरूप हामी लगातार प्रार्थनाको सहायतामा परमेश्वरसंग नजिकिन्छौं र हाम्रो सोचाइ, तथा काममा ख्रीष्टको स्वरूप धारण गर्दै जान्छौं । जीवनमा आत्मिकी रुपमा स्वच्छ बानि तथा गुणहरूले भरिपूर्ण हुँदै जान्छौं जुन आफैमा हाम्रो आत्मिक जीवनको सफलताको कडि हो। मानिसको जीवनको सफलता आफ्नै नजरमा असल र योग्य भएर होइन तर परमेश्वरको दृष्टीमा असल हुनु हो।

अध्ययन गरौं

२ कोरिन्थी 3:18

हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।

१ थेसलोनिकी 5:23

शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌।

 मनन गरौं

हाम्रो जीवनको सफलतालाई हामीले कुन रूपमा जाँचि रहेका छौं ? के हाम्रो जीवनको संघर्षमा परमेश्वरको सहायताको खोजी गरेका छौं ?

हामीले कुन कुन पक्षमा परमेश्वरको सहकार्यता खोजेका छौं र परमेश्वरले हाम्रो जीवनमा कुन हैसियतमा काम गरीरहनु भएको छ ?

येशूको स्वरूपमा परिवर्तन हुँदै जान कुन पक्षलाई हामीले अपनाउनु पर्ला ?

प्रार्थना गरौं

प्रभु तपाई मेरो जीवनको हरेक मोडमा मेरो साथ हुनुहुन्छ । परमेश्वर मलाई तपाइको आत्माको कार्यमा सहभागी गर्नुहोस् ताकि मैले एक सफल जिवन जिउन सकुँ ।