चर्च भवनको चर्चा- एक दृष्टिकोण

 


बाइबलले चर्च (मण्डली)लाइ येशू ख्रीष्टमा उद्धार पाएका सबै जाति र युगका विश्वास गर्नेहरूको समुदायको रूपमा प्रस्तुत गर्छ (मत्ती १६:१८; इब्रानी १२:२३)। जब बाइबलले "चर्च" को कुरा गर्छ, तब यसले येशू ख्रीष्टमा विश्वास गर्नेहरूको समूहलाई जनाउँछ (१ कोरिन्थी १२:२७; रोमि १२:५)। तर, हामी प्रायः "चर्च" भन्नाले ख्रीष्टियानहरूको स्थानीय समूह भेटघाट गर्ने भवनलाई बुझ्ने गर्छौं। प्रेरितहरूको समयमा ख्रीष्टियान विश्वासीहरूको आफ्ना भेटघाटहरूका लागि कुनै तोकिएको भवन नभएकोले विश्वासीहरूको घरमै भेला हुन्थे (कलस्सी ४:१५; फिलेमोन १:२)। आजको समयमा भने चर्च भवन ख्रीष्टियान आराधनाको एक महत्वपूर्ण अङ्ग भएको देखिन्छ। 

प्रेरित २:४६ मा विश्वासीहरूको  ठूलो समूह मन्दिरको बाहिरी आँगनमा भेला भएको उल्लेख छ। विद्वानहरूको अनुसार पहिलो दुई शताब्दीमा रोमी साम्राज्यभरि ख्रीष्टियतको तीव्र रूपमा विस्तार हुँदै गर्दा, ख्रीष्टियानीहरू सार्वजनिक स्थानहरूमा भेला हुन्थे, जहाँ अविश्वासीहरू र जिज्ञासुहरूले पनि भाग लिन्थे। ध्यान दिनुपर्ने कुरा के हो भने, त्यतिबेला एउटै सहरका सबै ख्रीष्टियानीहरू एउटै ठाउँमा भेला हुन्थे; त्यहाँ कुनै संप्रदाय वा विभाजन थिएन।

इतिहासकारहरूका अनुसार हालसम्म पत्ता लागेको सबैभन्दा पुरानो चर्च भवन रोमी सिरियाको युफ्रेटिस नदीको किनारमा अवस्थित थियो। यो एउटा ठूलो घर थियो, जसलाई इस्वी सन् २४० तिर पुनः निर्माण गरेर साझा सभाकोठा र बप्तिस्माको लागि छुट्टै कोठा बनाइएको थियो। जब ख्रीष्टियन विश्वास अन्य राष्ट्रहरूमा विस्तार भयो, चर्च भवनहरू सामान्यरूपमा निर्माण हुन थाले। इस्वी ११औँ शताब्दीसम्म युरोपका सहरहरूमा भव्य क्याथेड्रलहरू देखिन थाले र साना साना गाउँहरूसम्म पनि पेरिस चर्चहरू स्थापना हुन थाले।

आज अधिकांश घरहरू सबै आराधकहरूलाई एकैपटक समेट्न सक्ने गरी ठूलो हुँदैनन् । ख्रीष्टियन संसारकै सबैभन्दा ठूलो धर्म बनेको छ, र धेरै ठाउँमा प्रेरित २ मा देखिएजस्तै बाहिरी खुल्ला ठाउँमा सभाहरू गर्न सम्भव हुँदैनन्। त्यसैले चर्च भवनहरू ख्रीष्टियानीहरूको लागि नियमित भेटघाट गर्ने स्थायी स्थानको रूपमा महत्वपूर्ण छन्। यी भवनहरू सबै खालका पृष्ठभूमिका विश्वास गर्नेहरूलाई एकसाथ ल्याउने साझा स्थान हुन्। व्यक्तिगत घरहरूमा भेला गर्न पनि सकिन्छ तर सयौँ व्यक्तिलाई अटाउने घरहरू सामान्यतया धनी व्यक्तिहरूकै हुने भएकाले, यसले सम्पत्तिको प्रदर्शन गर्दछ। यस्तो सम्पत्तिको देखासिकीले आराधनाको उद्देश्यलाई ओझेल पार्न सक्छ र सम्पत्ति भएको र नभएको बीचमा अदृश्य पर्खाल खडा गर्न सक्छ।

धेरै चर्च भवनहरू बहुप्रयोजनमा प्रयोग हुन्छन्। कतिपयमा हप्ताको बीचमा ख्रीष्टियन स्कूलहरू सञ्चालन हुन्छन्। केहीले कमजोर समुदायका सदस्यहरूलाई खाना, बास वा अन्य आवश्यक सहयोग प्रदान गर्छन्। साना सहरहरूमा चर्च भवन सामाजिक जीवनको केन्द्र हुने गर्छ—भोज, बैठक, युवाहरूका कार्यक्रमहरू आदि त्यहीं आयोजना हुन्छन्। प्रायः चर्च भवनलाई सुरक्षित ठाउँ, आश्रयस्थल वा सहयोगको स्रोतको रूपमा हेरिन्छ। विश्वास नगर्नेहरूका लागि पनि चर्च परमेश्वरसँगको सम्बन्धको संकेतजस्तै हो, र संकटमा परेका मानिसहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छ।

तर केही चर्च भवनहरू येशूले मत्ती २३:२७ मा गर्नुभएको जस्तो "चिटिक्क पारिएका चिहान" मात्र हुन्छन्। ती भवनहरू भव्य, सुन्दर र प्रभावशाली त हुन्छन्, तर आत्मिक रूपमा मृत हुन्छन्। भवनको भव्यता त्यसमा आराधना गर्नेहरूको विश्वाससँग सम्बन्धित हुँदैन। परमेश्वर आफ्ना जनहरूसँग जहाँसुकै पनि भेट  गर्न सक्नुहुन्छ। भवन त केवल शरीरका लागि ओतको ठाउँ हो; आराधनाको गुणस्तर भवनले होइन, मनले तोक्छ। वास्तवमा, धार्मिकता प्रायः चकमक भवनहरूमा रमाउँछ, जसले भित्र लुकेको रित्तोपन ढाक्ने काम गर्छ।

चर्च भवन महत्वपूर्ण हुन सक्छ, तर चाहे त्यो भवन होस्, पाल होस् वा ठूलो रंगशाला होस्—चर्चले बाइबलको सत्य शिक्षण गर्नु पर्छ, उद्धारको सुसमाचार प्रचार गर्नुपर्छ, र येशू ख्रीष्टलाई महिमा दिनुपर्छ।

Read More