महात्मा गान्धी र ईसाई धर्म
गान्धीको जीवन र राजनीतिमा ईसाई धर्मका प्रमुख प्रभावहरू
-
सर्मन अन द माउन्ट (पर्वतको उपदेश)
गान्धीले सर्मन अन द माउन्टलाई गहिरो रूपमा रुचि राखेर अपनाएका थिए। विशेषगरी “तिमीमाथि कसैले हात उठाए भने अर्कोपट्टिको गालो पनि देऊ” र “यदि कसैले तिम्रो कोट लिन्छ भने उसको लागि आफ्नो ओढनी पनि देऊ” भन्ने येशूको उपदेश उनले हिन्दू धर्ममा रहेको अहिंसाको भावनासँग तुलना गरे र आफ्नो आस्था तथा शिक्षाहरूमा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गरे। गान्धीले सर्मन अन द माउन्टको सन्देश र भगवद गीता का सन्देशमा समानता देखेका थिए। -
अहिंसाबाट ल्याउन सकिने विजय
गान्धीको सत्याग्रह (अहिंसात्मक प्रतिरोध)को सिद्धान्त ईसाई धर्मका प्रेम र क्षमाको मूल्यहरूबाट प्रभावित थियो। उनका अनुसार येशूले देखाएको प्रेमद्वारा हिंसाविना सामाजिक परिवर्तन सम्भव छ। येशूले आफ्नो त्याग र बलिदान द्वारा मानिसको जीवनमा ल्याएको विजय गान्धीको आन्दोलन र संघर्षको उदाहरण र मार्गदर्शन बन्यो। -
मानव सेवा र परमेश्वरको आराधनाको अटुट सम्बन्ध
ईसाई धर्मको "अरूको सेवा गर" भन्ने विचारले गान्धीलाई निकै प्रेरणा दिएको थियो। उनले आफ्नो जीवनलाई दक्षिण अफ्रिका र भारतमा सामाजिक तथा राजनीतिक सुधारमा समर्पित गरे। बाइबलमा परमेश्वरलाई प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफैंझैं प्रेम गर्नु पर्ने शिक्षा गान्धीले धार्मिक आस्था र समाज सेवाको अटुट सम्बन्धको रूपमा देखेका थिए र उनले आफ्नो धार्मिक आस्थालाई समाज सेवाको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरे। -
प्रेमको नयाँ व्याख्या
गान्धीले येशूलाई प्रेम र करुणाको प्रतिमूर्तिको रूपमा देख्थे। उनको विचारमा, सबैसँग दया र समझदारीपूर्वक व्यवहार गर्नु नै धर्म हो। येशू स्वयं परमेश्वरको प्रेमको प्रकट थिए। यो परमेश्वरको प्रेम येशूले देखाएको त्याग र मानिसलाई दिनुभएको क्षमादानमा बुझ्न सकिन्छ। गान्धीले मानिसहरूलाई पनि येशूले जस्तै अरूसँग दया र क्षमादानको भावना राख्न सिकाएका थिए। उनले व्यक्तिगत जीवनमा र राजनीतिक आन्दोलनमा पनि क्षमाको अभ्यास गरे। -
सामाजिक न्याय
ईसाई धर्मको समानता र न्यायप्रतिको प्रतिबद्धताले गान्धीलाई दलित, गरिब र उत्पीडितहरूको पक्षमा आवाज उठाउन प्रेरित गर्यो। बाइबलमा येशू धनी र शक्तिशाली मानिसहरूको पक्षमा नभई गरीब र दुःखीहरूको पक्षमा उभिनुभएको देखिन्छ। यही बाइबलले उठाएको धार्मिकता हो। महात्मा गान्धीलाई पनि बाइबलको यस किसिमको धार्मिक अभ्यास र आह्वानले प्रेरित पारेको हो। उनको राजनीतिक उद्देश्य र प्रक्रियामा यसको झलक देख्न सकिन्छ।
माहात्मा गान्धीको ईसाई विश्वास प्रतिको दृष्टिकोण
-
ईसाई भएनन्
गान्धी ईसाई धर्मबाट प्रभावित भए तापनि उनले कहिल्यै धर्म परिवर्तन गरेनन् र हिन्दू नै रहे। गान्धीले ईसाई विश्वासको व्यवहारिक पक्षलाई समर्थन र स्विकार गरे पनि धार्मिक आस्थाको हिसाबले आफू ईसाई हुनु आवश्यक ठानेनन्। त्यसैले गान्धीलाई वैचारिक नभइ व्यवहारिक ईसाईको रूपमा चिनिनु उपयुक्त हुन्छ। -
येशू र ईसाई धर्म बीच भिन्नता
गान्धीले येशूका शिक्षालाई उच्च सम्मान गर्थे, तर उनी विश्वास गर्थे कि धेरै ईसाईहरूले येशूका शिक्षाको सही तरिकाले पालन गरेका छैनन्। गान्धीका अनुसार, ईसाई विश्वासिहरूले येशूको शिक्षा र जीवनशैलीलाई नअपनाउनु एक गल्ती र कमजोरी हो। गान्धीको यो विचार ईसाई जगतको लागि एक चेतावनी थियो। -
छनोट अनुसार अंगीकार
गान्धीले येशूका शिक्षाबाट आफूलाई उपयुक्त लाग्ने कुराहरू (विशेषगरी सर्मन अन द माउन्ट) अपनाए र तिनलाई हिन्दू धर्मको सन्दर्भमा आत्मसात गरे। उनले बाइबललाई पूर्णत: पछ्याउने आवश्यक ठानेनन्। आफ्नो विश्वाससँग मेल खाने र त्यसलाई प्रोत्साहित गर्ने शिक्षाहरूमा मात्र गान्धी केन्द्रित थिए। मानिसको जीवनशैलीको बारेमा दिइएका बाइबलका शिक्षामा उनी बढी केन्द्रित थिए। त्यसैले बाइबल अनुसार परमेश्वरको अस्तित्व प्रति उनका विचार प्रकट भएको देखिँदैन। -
येशू प्रति श्रद्धा
गान्धीले येशूलाई एक महान् नैतिक र आध्यात्मिक गुरु माने। उनी येशूको जीवनबाट गहिरो प्रेरणा लिएका थिए। तर गान्धीलाई हामी जस्तो येशूका चेलाहरूलाई ईसाई भनेर बुझ्छौं, त्यस्तै बुझ्न सकिँदैन।
निष्कर्षमा, गान्धीले आफूलाई ईसाई धर्ममा परिवर्तन गरेनन्, तर येशूको प्रेम, क्षमा र सेवा भावले उनको विचार र आन्दोलनलाई गहिरो प्रभाव पारेको थियो। यी शिक्षाहरू उनले सत्य, अहिंसा र सामाजिक न्यायको मार्गमा प्रयोग गरे। ईसाई जगतले व्यवहारिक रूपमा बाइबलका शिक्षालाई कसरी जीवनको मार्गदर्शनको रूपमा परिणत गर्न सकिन्छ भन्ने उदाहरणको रूपमा गान्धीलाई लिन सक्छ। धेरै अवस्थामा येशूको सर्मन अन द माउन्टमा भनिएको जस्तो जीवन जिउन ईसाईहरू नै असफल भएको बेलामा गान्धीको ईसाई शिक्षा प्रति श्रद्धाले हामीलाई निरन्तर प्रोत्साहित गरिरहेको छ।
स्रोतहरू: