विश्व चर्च परिषद् (WCC)
विश्व चर्च परिषद् (डब्लुएससीसी) येशू ख्रीष्टलाई परमेश्वरको पुत्र र मानवजातिको उद्धारकर्ता मान्ने विभिन्न चर्चहरूको Fellowship (सहभागिता) को रूपमा गठन गरिएको संस्था हो । यो परिषद् सन् १९४८ मा नेदरल्याण्ड्सको एम्स्टर्डममा औपचारिक रूपमा स्थापना गरिएको थियो। WCCको उद्देश्य सहिष्णुता प्रवर्द्धन गर्ने र विभिन्न ख्रीष्टियन संप्रदायहरूलाई एकताबद्ध गर्ने मञ्च प्रदान गर्नु हो।विश्व चर्च परिषद् कुनै व्यवस्थित चर्च होइन र यसले येशू ख्रीष्ट प्रभु र उद्धारकर्ता हुनुहुन्छ भन्ने विश्वासबाहेक अन्य कुनै निश्चित धार्मिक सिद्धान्तलाई समर्थन गर्दैन। परिषद्को सर्वोच्च निकाय "एसेम्ब्ली" करिब हरेक ६ वर्षमा विभिन्न अन्तर्राष्ट्रिय स्थानहरूमा बैठक गर्छ।
डब्लुएससीसीको गठन
यो परिषद् १९३० को दशकको अन्त्यतिर शुरू भएका दुई आन्दोलनहरूबाट उत्पन्न भएको थियो:
-
Faith and Order Movement (विश्वास र व्यवस्था आन्दोलन)
-
Life and Work Movement (जीवन र कार्य आन्दोलन)
"Faith and Order" आन्दोलनले चर्चको संगठन र विश्वाससँग सरोकारका विषयहरूलाई सम्बोधन गर्ने प्रयास गर्यो भने "Life and Work" आन्दोलनले विश्वासीहरूको जीवनलाई प्रभावित गर्ने व्यवहारिक समस्याहरूलाई उठान गरेको थियो। सन् १९३८ मा दुवै आन्दोलनका प्रतिनिधिहरूले नेदरल्याण्ड्समा भेला भई एउटै विधान बनाएर एकीकृत परिषद् गठन गर्ने योजना बनाएका थिए। तर, दोस्रो विश्वयुद्धले यी योजनाहरू रोकियो जुन कार्य दशकपछि मात्र कार्यान्वयन हुन सक्यो।
WCC को एसेम्ब्लीले एउटा केन्द्रीय समिति नियुक्त गर्छ जसले २६ जना कार्यकारी समिति सदस्यहरू र ६ जना सह-सभापतिहरू चयन गर्छ। यी निर्वाचित सदस्यहरूले एसेम्ब्ली बैठकहरू बीचको समयमा परिषद्को कार्यहरू अघि बढाउँछन्। डब्लुएससीसीको मुख्यालय स्वीट्जरल्यान्डको जिनेभामा अवस्थित छ। परिषद् सुरुमा १४७ संप्रदायहरूसँग सुरू भएको थियो तर अहिले ३४५ सदस्य संप्रदायहरू सम्मिलित छन्।
डब्लुएससीसीमा समावेशीकरण र बहिष्करण
डब्लुएससीसीका दुई प्रमुख गैर-सदस्य संप्रदायहरू छन्:
-
रोमन क्याथोलिक चर्च,
-
अमेरिकी साउदर्न बाप्टिस्ट संप्रदाय।
यद्यपि, पूर्वी रूढीवादी चर्च (Eastern Orthodox Church) र अमेरिकाका धेरै प्रोटेस्टेन्ट संप्रदायहरू यसमा सदस्यका रूपमा सामेल छन्।
एक इभान्जेलिकल दृष्टिकोणबाट WCC:
विश्व चर्च परिषद् (WCC) प्रति इभान्जेलिकलहरूले आशा र चिन्ताको मिश्रित दृष्टिकोण राख्ने गर्छन्। धेरै इभान्जेलिकलहरूले WCC ले विश्वव्यापी ख्रीष्टियन साक्षी र एकताको क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानलाई स्वीकार गर्छन्। तर, धर्मशास्त्रीय र कार्यपद्धतिको क्षेत्रमा रहेको गहिरो भिन्नताले उनीहरूमा शंका र आलोचना जन्माउँने गरेकोछ । यी मतभेदहरूको बाइबलप्रतिको अधिकार, मिशनको प्राथमिकता, र ख्रीष्टियन एकताको स्वरूपबारे गहिरो असहमतिमा आधारित छन्।
सकारात्मक पक्षहरू
साझा विश्वास र साक्षी
इभान्जेलिकल चर्चहरूले WCC ले ख्रीष्टमा आधारित साझा पहिचानलाई जोड दिएको कुरालाई सकारात्मक रूपमा हेर्छन्। सन् १९४८ मा स्थापना भएदेखि WCC ले येशू ख्रीष्टको साझा साक्षीलाई केन्द्रमा राख्दै आएको छ, जुन विश्वभर सुसमाचार फैलाउने इभान्जेलिकल दृष्टिकोणसँग मेल खान्छ।
WCC को दस्तावेज “Towards a Common Understanding and Vision of the WCC” (1997) ले चर्चहरूलाई शिष्यता र मिशनमा एक बनाउने ख्रीष्ट-केंद्रित विश्वासलाई पुष्टि गर्छ।
इभान्जेलिकल धर्मशास्त्री डेविड जे. बशका अनुसार, “एकता (ecumenism) विकल्प होइन, तर धर्मशास्त्रीय आवश्यकता हो।” (Bosch, Transforming Mission, 1991)
वैश्विक सहकार्य
WCC ले गरीबी, जातीय विभेद, वातावरणीय विनाश, र हिंसा जस्ता विश्वव्यापी समस्याहरू समाधान गर्न विभिन्न ख्रीष्टियन सम्प्रदायहरूलाई एकसाथ ल्याउने क्षमताको इभान्जेलिकलहरूले कदर गर्छन्, विशेषगरी सामाजिक कार्यमा संलग्नहरूले।
इभान्जेलिकल मिशनविज्ञ सामुएल एस्कोबारले भनेझैं, “सुसमाचारलाई केन्द्रमा राख्दै इभान्जेलिकलहरूले सामाजिक पीडामा साथ दिन WCC जस्ता निकायहरूसँग सहकार्य गर्न सक्छन्।” (Escobar, A Time for Mission, 2003)
Commission of the Churches on International Affairs (CCIA) जस्ता कार्यक्रमहरूले द्वन्द्वग्रस्त क्षेत्रमा सकारात्मक प्रभाव पुर्याएका छन्, जसले व्यावहारिक ख्रीष्टियन एकताको उदाहरण प्रस्तुत गर्छ—यस्तो अभ्यास इभान्जेलिकलहरूले समर्थन गरे तापनि औपचारिक रूपमा सदस्यता लिन सक्दैनन्।
मेलमिलाप र एकता
ख्रीष्टियन सम्प्रदायहरूबीचको विभाजन हटाउन र मेलमिलाप गर्न WCC को प्रतिबद्धतालाई इभान्जेलिकलहरूले बाइबलमा आधारित जिम्मेवारीका रूपमा हेर्छन्। Faith and Order Commission जस्ता प्रयासहरू, जसले संस्कार र कलीसियाको स्वरूपमा धर्मशास्त्रीय मिल्दोपन खोज्न प्रयास गरे, एकताका दिशामा सकारात्मक कदम हुन्।
इभान्जेलिकलहरूको Lausanne Movement ले पनि ख्रीष्टियन एकताको महत्त्वलाई जोड दिएको छ, जसले 1974 को Lausanne Covenant मा भनिएको छ—“सत्यतामा एक्लीसियाको एकता परमेश्वरको उद्देश्य हो” र “ इसाइ समुदायको फुटले सुसमाचारको साक्षीलाई कमजोर बनाउँछ।”
WCC सम्बन्ध्मा इभान्जलिकलहरूको चिन्ताको विषय
उदारवादी धर्मशास्त्र (Liberal Theology)
इभान्जेलिकलहरूलाई सबैभन्दा बढी चिन्ता लागेको क्षेत्र भनेको WCC को विभिन्न theologyहरू प्रतिको झुकाव हो। उनीहरूको बुझाइमा WCC ले येशूको अनन्तता, बाइबलको सर्वोच्चता, र व्यक्तिगत रूपान्तरणजस्ता केन्द्रीय विश्वासहरूलाई कमजोर पार्ने वा पुनःव्याख्या गर्ने गर्छ।
WCC ले अन्य धर्महरूसँगको संवाद र समावेशी एक्लेसिया को धारणाबाट विभिन्न विषयमा समझदारी गरि विभिन्न बाइबलमा फरक देखिने विचारहरूलाई समेट्न गरेको प्रयासहरू इभान्जेलिकलहरूलाई असहज लाग्छ।
इभान्जेलिकल विद्वान हेरोल्ड ओ. जे. ब्राउनले भनेका छन्, “यस्ता प्रवृत्तिले ख्रीष्टीय विश्वासलाई केवल नैतिकता वा राजनीतिक अभियानमा झार्ने खतरा हुन्छ।” (Brown, Heresies, 1984)
एकताको अभ्यास (Ecumenical Practices)
इभान्जेलिकलहरूले प्रायः "संवैधानिक एकता" (confessional ecumenism) को समर्थन गर्छन्—अर्थात् साझा विश्वासमा आधारित एकता। तर, WCC को दृष्टिकोण भने संस्थागत र सम्बन्धमा आधारित एकतालाई प्राथमिकता दिन्छ, जसले कहिलेकाहीँ सिद्धान्तमा फरक भएका चर्चहरूलाई पनि समावेश गर्छ।
Evangelical Alliance र Lausanne Movement दुबैले यस्तो एकता प्रयासप्रति चेतावनी दिएका छन्—उनिहरूको धारणा अुनसार कुनै पनि एकताको प्रयासले "सुसमाचारको स्पष्टता र शिक्षा प्रति वफादारी" आँच नआएको होस्।
सामाजिक न्यायमा अत्यधिक ध्यान
यद्यपि इभान्जेलिकलहरूले Micah 6:8 र James 1:27 जस्ता पदहरूको आधारमा सामाजिक उत्तरदायित्वलाई ख्रीष्टियन जीवनको आवश्यक हिस्सा मान्छन्, तर उनीहरूलाई डर छ कि WCC ले कहिलेकाहीँ सुसमाचार प्रचार र शिष्यता भन्दा सामाजिक-राजनीतिक मुद्दाहरू (जस्तै—जलवायु न्याय, लिंग समानता, आर्थिक सुधार) लाई प्राथमिकता दिने गर्छ।
इभान्जेलिकल अगुवा जोन स्टटले लेखेका छन्, “सुसमाचार प्रचार (evangelism) र सेवा (service) सँगसँगै जानुपर्छ, तर प्रचार सधैँ प्राथमिक हुनुपर्छ।” (Stott, Christian Mission in the Modern World, 1975)
बाइबलको अधिकारप्रति कमजोरी
इभान्जेलिकलहरूलाई चिन्ता लागेको अर्को मुख्य कुरा भनेको WCC का दस्तावेजहरूमा बाइबलको सर्वोच्च अधिकार कमजोर देखिनु हो। contextual theology, liberation theology, feminist theology जस्ता दृष्टिकोणले बाइबलप्रति दृष्टिकोण परिवर्तन गरेको देखिन्छ।
धर्मशास्त्री केभिन भानहूजरले भनेका छन्, “यदि बाइबल अन्तिम अधिकारको रूपमा रहेन भने, धर्मशास्त्र सजिलै समयको भावना अनुसार परिवर्तन हुनसक्छ (spirit of the age) ।” (Vanhoozer, The Drama of Doctrine, 2005)
समग्र रूपमा
इभान्जेलिकलहरूका लागि WCC एक जटिल तर प्रभावशाली संस्था हो, जसमा ठूलो अवसर र चुनौती दुवै छन्। शान्ति, न्याय, र ख्रीष्टियन एकताको लागि WCCको विश्वव्यापी योगदानको उनीहरूले कदर गरे तापनि, गहिरा theology र कार्यपद्धतिको मतभेदका कारण धेरै इभान्जेलिकल चर्चहरू यसमा औपचारिक रूपमा सहभागी छैनन्।
टिमोथी टेनेन्टका अनुसार, इभान्जेलिकल परम्पराले बाइबलको सर्वोच्चता, शिक्षा स्पष्टता, र मिशनको प्राथमिकतालाई जोड दिने भएकाले उनीहरूको एकता प्रयास पनि सावधानीपूर्वक हुन्छ। (Tennent, Invitation to World Missions, 2010)
तर अहिले इभान्जेलिकल वृत्तमा बढ्दो रूपमा वैश्विक साझेदारी, आपसी आदरमा आधारित संवाद, र साझा साक्षी को आवश्यकता महसुस भइरहेको छ। विश्वव्यापि मण्डलीको लागि सुसमाचार र शिक्षा प्रतिको इमान्दारि र एकता बीच सन्तुलन कायम गर्नु सबै भन्दा ठूलो चुनौती हो।