अगुवाई Guidance || Devotion in Nepali

 अगुवाई Guidance


हाम्रो जीवनको लक्ष नै परमेश्वरको दृष्टिमा फलदायी हुनु हो । तर हामी आफ्नै प्रयासमा परमेश्वरले चाहनुभएको कामहरू गर्न सक्छौं भन्ने सोच्नु एक आत्मिक मुर्खता हो। जसरी हामीलाई परमेश्वरको योग्य बन्न परमेश्वरको सहायताको आवश्यकता हुन्छ त्यसरी नै परमेश्वरको चाहना अनुसारको जीवन जीउन पनि परमेश्वर कै सहायता र अगुवाई चाहिन्छ । परमेश्वरले अगुवाई गर्नुभएको बाटो हिँड्यौं भने मात्र हामीले परमेश्वरले चाहनु भएको गन्तब्य मा पुग्छौं । त्यसैले हाम्रो आत्मिक यात्राको एउटा मुख्य काम परमेश्वरको अगुवाईलाई पहिचान गर्दै उहाँलाई पछ्‌याउँदै अघि बढ्नु हो। आफ्नै बल तागतमा असल बन्ने प्रयास मा सफल हुन गाह्रो हुन्छ किन भने हामी मानिसका धेरै कम्जोरी तथा घटिकमीहरु हुन्छन् । तर परमेश्वरको अगुवाईमा हिँड्यौं भनें परमेश्वरको सहायतामा आफ्ना कमजोरीहरुलाई जित्दै विजयी जीवन जीउन सक्छौं ।

अध्ययन गरौं

गलाती 5:25 हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।

यशैया 59:21 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो करार तिनीहरूसित चाहिँ यही हुनेछ। मेरो आत्‍मा जो तँमाथि छ, र मेरो वचन जो मैले तेरो मुखमा हालिदिएको छु, त्‍यो तेरो मुखबाट, तेरो छोराछोरीका मुखबाट, र तिनीहरूका सन्‍तानका मुखबाट अबदेखि उसो सधैँभरिका निम्‍ति हट्‌नेछैन,” परमप्रभु भन्‍नुहुन्‍छ।

रोमी 8:26‭-‬27 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ। र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।

मनन गरौं

के हामीलाई आत्मिकी जीवनमा अघि बढ्न गाह्रो भइरहेको त छैन? यस यात्रा कसको सहायतामा पुरागर्दै छौं ?

हामीले हाम्रो जीवनमा परमेश्वरको योजना आफ्नै वलमा पुरागर्न आटेका छौं या पवित्र आत्माको अगुवाइमा?

परमेश्वरको सहायता आफ्ना कमजोरीहरूलाई जित्न सफल हुनु भएको छ ?

प्रार्थना गरौं

प्रभु म तपाइको मार्गमा हिँड्न चाहन्छु मलाई तपाइको आत्माको अगुवाई दिनुहोस्। मेरा कम्जोरी तथा घटिकमीले ल्याउने आत्मिक चुनौतीहरूमा विजय दिनुहोस्।