आफ्नो कदमहरुलाई जाँचौं Let's Examine our steps || Devotion in Nepali

 आफ्नो कदमहरुलाई जाँचौं Let's Examine our steps



आत्मिकी जीवनको यात्रा घोडामा चढेर दौडेको जस्तो कहिल्यै पछि फर्के एकोहोरो अघि मात्र कुद्ने होइन। किन भने प्रभुले हाम्रो जीवनमा कहाँ पुग्यौं भनेर हाम्रो गन्तब्यलाई मात्र विचार गर्नुहुन्न तर जीवनका कुनै पनि गन्तब्य सम्म कसरी पुग्यौं भन्ने कुरालाई पनि हेर्नुहुन्छ। त्यसैले आत्मिक जीवनको यात्रामा हामीले चाल्ने कदमहरु पनि उचत छन् या छैनन् जाँचेर अघि बढ्नुहुन्छ। यदि हामीले चालेका कदमहरूनै सहि छैनन् भने हामीले परमेश्वर कै निम्ति पनि गरेका कामहरू पनि परमेश्वरमा स्विकार योग्यका हुँदैनन । त्यसैले आत्मिकी रूपमा बढ्न र परमेश्वरलाई मन पर्दो फल फलाउन हामीले चालेका कदमहरूलाई बारम्बार जाच्दै अघि बढ्नु पर्छ। हामीले परमेश्वरको नाउँमा गरेकोको हरेक कदमहरू परमेश्वरलाई आदर दिने प्रकारको छ या छैन भनि वारम्बार जाच्नु पर्दछ र छैन भने फेरी त्यसलाई सुधारेर अघि बढ्नु महत्वपूर्ण हुन्छ। त्यसैले परमेश्वरको दृष्टिमा स्विकारयोग्य कदमहरू कस्ता हुन्छन् र कस्तो कदमहरुलाई परमेश्वरले इन्कार गर्नुहुन्छ सो जान्नु अति महत्वपूर्ण हुन्छ। परमेश्वाको चाहनाको ज्ञानमा नै हामीले आफना कदमहरुलाई जाँच्नु पर्छ ।

अध्ययन गरौं

गलाती 5:19‭-‬23 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना, मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी, डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌। तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता, नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

एफिसी 5:3‭-‬6 तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन। कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌। किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन। कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ।

मनन गरौं

के हामीले परमेश्वरले दिनुभएको उद्देश्य पुरा गर्न परमेश्वरको सामु अयोग्य हुने प्रक्रिया पछ्‌याएका छौं ?

के हामीले चालेका कदमहरू परमेश्वर को दृष्टिमा जाँचेर सुधार गर्ने कोशिस गरेका छौं ?

के हामीले जीवनमा के गर्‍यौं भन्नेमा नभई कसरी गर्‍यौं भनेमा पनि र्गव गर्न सक्छौं ?

प्रार्थना गरौं

प्रभु मेरो जीवनका हरेक कदमहरू पवित्र आत्माले जान्नुहोस् र गलत कुराहरु देखाई दिनुहोस् । मेरो जीवनका कदमहरुलाई तपाइको इच्छा अनुसार चाल्न शक्ति, वल, र अगुवाई दिनुहोस्।